भर्खरै :

“नेमकिपाले देश र जनताप्रतिको आफ्नो दायित्व पूरा गरिरहेको छ”

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संरा अमेरिकाले नेपालका सेना, प्रहरी र गुप्तचर विभाग आफ्नो नियन्त्रणमा राख्न खोजेको र नेपालमा अमेरिकी सैनिक आधार स्थापना गर्न चाहेको बताउनुभएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेमकिपाका उम्मेदवारहरूलाई मादल चिह्नमा छाप राखी अत्यधिक मतले विजय गर्न आह्वान गर्दै भक्तपुरको तचपालमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले एमसीसी सम्झौता पारित गरेर देशमा अमेरिकी साम्राज्यवादको प्रभाव बलियो बनाउने देशद्रोही र प्रतिगामी शक्तिविरुद्ध देशभक्त र प्रगतिशील नेपाली जनता एकजुट हुनुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले एमसीसी सम्झौता गर्नुको लक्ष्य नेपालको जलविद्युत् भारत, बङ्गलादेश, बर्मा, थाइल्यान्ड, मलेसिया हुँदै सिङ्गापुर पु¥याउनु रहेको चर्चा गर्नुहुँदै संरा अमेरिकाले चीनमाथि घेराबन्दी गर्न नेपाली भूमि प्रयोग गर्न खोजेको बताउनुभयो ।
नेमकिपाको एकै जना कार्यकर्ता भए पनि देश र जनताको पक्षमा लडिरहने भएकोले शासक दल नेमकिपासँग डराएको उल्लेख गर्नुहुँदै उहाँले आकाशमा ताराको सङ्ख्या धेरै भए पनि रातमा प्रकाशको लागि चन्द्रमा नै आवश्यक परेजस्तै शासक दल ठूलो भए पनि देशको हित गर्न नसकेको तर नेमकिपाले देशको पक्षमा लडिरहेको बताउनुभयो ।
सभामा अध्यक्ष बिजुक्छेँले देशलाई आफ्नै खुट्टामा उभ्याउनुको सट्टा कृषिमा परनिर्भर बनाउने र ७० लाख युवालाई विदेश पठाउने सबै सरकारमा गएका दलहरू अयोग्य भएको बताउनुभयो ।
स्थानीय तहमा सङ्घीय सरकारले कर्मचारी पठाउनु उपयुक्त नभएको प्रस्ट पार्नुहुँदै उहाँले भक्तपुर नगरलाई पानीमा पनि आत्मनिर्भर बनाउन पुराना इनार र पानीका स्रोतको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
अनुकूलतामा मात्र नभई जस्तोसुकै प्रतिकूलतामा पनि काम गर्न तत्पर हुनुपर्ने बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले पानीको स्रोत वरपर वन फडानी गर्नु जनतालाई खानेपानीबाट वञ्चित गर्ने चालबाजी भएको धारणा राख्नुभयो ।
उहाँले स्थानीय तहको चुनावमा एमसीसी समर्थक दलाल र देशद्रोहीहरूलाई उदङ्ग्याउन देशभर नेमकिपाका कार्यकर्ताहरू परिचालित भएको बताउनुहुँदै नेमकिपाले देश र जनताप्रतिको आफ्नो दायित्व पूरा गरिरहेको उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाको प्रमुख पदको लागि नेमकिपाका उम्मेदवार सुनिल प्रजापतिले भक्तपुर नपाले गरेका हरेक गतिविधि मासिक, पाक्षिक, अनलाइन लगायतका सञ्चारमाध्यमबाट जनतालाई लगातार जानकारी गराउँदै आएको बताउनुभयो ।
भक्तपुर नपाको हिसाब पारदर्शी नभएको भन्ने विपक्षीहरूका आरोपको खण्डन गर्नुहुँदै उहाँले शासक दलका प्रतिनिधि निर्वाचित भएका स्थानीय पालिकालाई भक्तपुर नपाले जतिको पारदर्शिता देखाउन चुनौती दिनुभयो ।
उहाँले ‘नेमकिपा भएसम्म भक्तपुरको विकास नहुने’ भन्ने माओवादी केन्द्रका एक जना केन्द्रीय सदस्यको झूटा आरोपको खण्डन गर्नुहुँदै माओवादी पटक पटक सरकारमा गएर पनि एउटा विद्यालय समेत स्थापना गर्न नसकेको बताउनुभयो ।
“बरु माओवादीको सरकारले माथिल्लो कर्णाली परियोजना जस्ता देशहितविपरीतका सम्झौता ग¥यो । देशको अर्थतन्त्र ध्वस्त बनायो” उहाँले भन्नुभयो ।
राजनीतिक दल भनेको मानिसको भीड नभई विचार र सिद्धान्तको शक्ति भएको प्रस्ट पार्नुहुँदै उहाँले समाजवादी विचार र झन्डा नै नेमकिपाको शक्ति भएको बताउनुभयो ।
भक्तपुर नपाको उपप्रमुख पदका उम्मेदवार रजनी जोशीले जनताको साथ सहयोगमा भक्तपुरका जनप्रतिनिधिले नेमकिपाको घोषणापत्रको अक्षरशः कार्यान्वयन गरेकोले आज देशमा भक्तपुर नपा नमुना र उदाहरणीय नगर भएको बताउनुभयो ।
उहाँले बितेका पाँच वर्षमा भक्तपुरमा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, वातावरण संरक्षण र सरसफाईमा गरेका उपलब्धिको चर्चा गर्नुहुँदै अधुरो रहेका काम आगामी पाँच वर्षमा गर्ने वचनबद्धता व्यक्त गर्नुभयो ।
उहाँले कोभिड महामारीको प्रतिकूल परिस्थितिमा पनि जनताको साथ सहयोगमा भक्तपुरमा उदाहरणीय काम सम्पन्न भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडा अध्यक्ष पदका उम्मेदवार रवीन्द्र ज्याख्वले भक्तपुरमा भएको विकास निर्माण कार्यबारे शासक दलहरूले झूटा र भ्रमपूर्ण प्रचार गरेको प्रति खेद व्यक्त गर्नुभयो ।
उहाँले जनतासमक्ष चुनावमा गरेको प्रतिबद्धता एक एक बुँदा गर्दै पूरा गरेको चर्चा गर्नुहुँदै कोभिड महामारीको कठिन समयमा पनि छोटो समयमा अक्सिजन प्लान्ट बनाउन जनताको सहयोगबाट सम्भव भएको बताउनुभयो ।
नेमकिपा वडा नं. ९ समन्वय समितिका अध्यक्ष कृष्णभक्त लवजूको सभापतित्वमा भएको सभामा साविक वडा नं. ३ का पूर्व अध्यक्ष विष्णुबहादुर मानन्धरले आतिथ्य गर्नुभएको थियो ।
सभामा नेमकिपा निर्वाचन परिचालन समिति सुर्यमढी, व्यासी सांस्कृतिक समूह र भक्तपुर साकोसका कलाकारहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
काठमाडौँको बसन्तपुरमा सभा
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिले शुक्रबार वसन्तपुरमा चुनावी जनसभा तथा उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भएको प्रस्ट पार्नुभयो ।
नेपालको राजनीतिमा नेपाल र नेपाली जनताभन्दा विदेशी एकाधिकार पुँजीका निम्ति काम गर्नेहरू बढेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “नेपाली काङ्ग्रेस भारतीय एकाधिकार पुँजीपरस्त शक्तिको रूपमा रहँदै आएको छ । अहिले आएर आफूलाई कम्युनिस्ट दाबी गर्ने र हँसिया हथौडा बोक्नेहरू पनि नेपाली काङ्ग्रेसभन्दा कम देखिएका छैनन् । वर्तमान सत्ता गठबन्धन देशको आवश्यकता नभई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको आवश्यकताअनुसार बनेको हो ।”
सभामा पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जनले नेमकिपा एक देशभक्त र नेपाली जनताको हितमा प्रतिबद्ध पार्टी भएको पटक–पटक इतिहासले पुष्टि गरेको बताउनुहुँदै नेमकिपाका देशभक्त र भ्रष्टाचारविरोधी उम्मेदवारहरूलाई विजयी गराउन काठमाडौँका मतदातालाई आग्रह गर्नुभयो ।
सभामा नेमकिपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरूका जनविरोधी क्रियाकलापले देशलाई तहसनहस पारिसकेको अवस्थामा अबको विकल्प नेमकिपामात्र भएको औँल्याउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशसभा सदस्य सृजना सैँजूले नेमकिपा नेपालको राजनीतिको मात्र नभई स्थानीय तह सञ्चालनमा पनि प्रकाशस्तम्भ भएको चर्चा गर्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला निर्वाचन परिचालन समितिका संयोजक नारायण महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य राजवीर डंगोल लगायतले बोल्नुभएको थियो ।
कालीकोटमा जनसभा
कालीकोट । नेपाल मजदुर किसान पार्टी तिलागुफा नगर समितिको आयोजनामा शनिबार राँचुलीमा जनसभा सम्पन्न भयो ।
जनसभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् तिलागुफा नपाका प्रमुख पदका प्रत्याशी नवराज कोइरालाले नेमकिपा विजयी भएमा घोषणापत्रमा उल्लिखित कार्य सम्पन्न गर्न गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नेपाली काङ्ग्रेस, एमाले तथा माओवादी केन्द्र लगायतका शासक दलहरूले निर्वाचन संहिताको अवज्ञा गरिरहेको उल्लेख गर्नुहुँदै ती पार्टीले मतदातालाई रिचार्ज कार्ड बाँड्ने, मोटरसाइकलमा इन्धन भरिदिने, खसी काटेर भोजभतेर गर्ने गलत काम गरिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले शासक पार्टीहरूको अक्षमताको कारणले कर्णाली प्रदेशका जनता गरिबी, अभाव, रोग, भोक र कुपोषणको सिकार हुनुपरेको बताउनुभयो ।
संविधानमा उल्लिखित स्थानीय तहका २१ वटा अधिकारको प्रयोग गर्न लायकलाई निर्वाचनमा जिताउनुपर्ने बताउनुहुँदै केन्द्रीय सदस्य गोसाईले नेमकिपाका उम्मेदवारले इमानदारीसाथ काम गर्ने उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले भन्नुभयो, “शासक दलहरू सत्ता नभई बस्न सक्दैनन्, त्यसैले गठबन्धन गर्छन् ।”
नेमकिपा कालीकोट जिल्ला समितिका अध्यक्ष केआर शाहीले यो पटकको स्थानीय तहको निर्वाचन देशभक्त र देशघातीबीचको सङ्घर्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मादलमा छाप राख्नुको अर्थ देशको सार्वभौमिकता रक्षा गर्नु हो ।”
नेमकिपा, कालीकोटका पूर्व जिल्ला अध्यक्ष ऐनबहादुर शाहीले मतदाता शिक्षा आवश्यक भएको बताउनुहुँदै निर्वाचन बिथोल्न अनेक षड्यन्त्र गर्नसक्ने भएकोले गम्भीर हुनुपर्ने विचार राख्नुभयो ।
सूर्यबहादुर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा तिलागुफा नगर समितिका सदस्य डीएस बोहराले पनि बोल्नुभएको थियो ।
सुर्खेतमा ¥याली तथा सभा
वीरेन्द्रनगर । नेपाल मजदुर किसान पार्टी चुनाव प्रचार समिति सुर्खेतको आयोजनामा स्थानीय पिपल चौतारीमा चुनावी सभा सम्पन्न भयो ।
उक्त सभामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले क्रान्तिकारी संसद्वादको भावनाअनुसार पुँजीवादी चुनावलाई उपयोग गरिरहेको र पुँजीवादी चुनावबाट समाजवादमा पुग्न नसकिने कुरामा नेमकिपा स्पष्ट रहेको बताउनुभयो ।
उहाँले नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको वर्तमान गठबन्धन सरकारले अमेरिकी साम्राज्यवादसामु घुँडा टेकेको चर्चा गर्नुहुँदै एमसीसी सम्झौता पास गर्नकै निम्ति वर्तमान सरकार बनेको बताउनुभयो ।
आफ्नो अमूल्य मत देशभक्तहरूको पक्षमा राख्न आह्वान गर्नुहुँदै उहाँले वर्तमान गठबन्धन असैद्धान्तिक र देशघाती रहेको प्रस्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले समृद्धि र विकासको नाममा शासक पार्टीहरूले नेपाललाई मगन्ते देश बनाइरहेको बताउनुहुँदै उहाँले गत पाँच वर्षमा नेपालको वैदेशिक ऋण १५० प्रतिशतले बढेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा भएको सो सभामा प्रेम थापा, शेरबहादुर शाही, धनेन्द्र विक, प्रमुखका उम्मेदवार गोविन्दनाथ योगी, उपप्रमुखका उम्मेदवार विजुकला राणा, तुल्सी खड्का, भीमबहादुर सिजापति र टेकबहादुर घर्ती लगायतले बोल्नुभएको थियो ।
नेपालगञ्ज र कोहलपुरमा प्रचार
नेपालगञ्ज । नेपाल मजदुर किसान पार्टी बाँकेको आयोजनामा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा शनिबार प्रचार जुलुस र कोणसभाहरू भए ।
नेपालगञ्जको त्रिभुवन चोकबाट भएको प्रचार जुलुस एकलाइनी चोकमा पुगी सभामा परिणत भयो । सभामा नेमकिपा लुम्बिनी प्रदेशका संयोजक हरिसुन्दर वासीले निर्वाचन घोषणापत्रको लडाइँ भएको बताउँदै घोषणापत्रअनुसार काम नगर्ने पार्टीका उम्मेदवारहरूलाई परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।
सभामा नेमकिपा, बाँकेका सचिव प्रकाश शाही र नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख पदका उम्मेदवार डिल्लीबहादुर पुनले पनि बोल्नुभएको थियो ।
नेपालगञ्जको बुद्धचोकबाट सुरु भएको अर्को प्रचार जुलुस न्युरोड सेतु बिक चोक हुँदै त्रिवेणी चोकमा पुगी कोणसभामा परिणत भयो ।
कोणसभामा इन्जिनियर समाज नेपालका नरेश खत्री, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य रसिद सिद्दिकी र नेमकिपाका बाँके जिल्ला सदस्य तथा कोहलपुर नगरपालिकामा प्रमुख पदका उम्मेदवार खड्गराज थापाले आसन्न स्थानीय तहको चुनाव एमसीसी पास गर्ने देशघाती दलहरू र एमसीसीको विरुद्ध आन्दोलन गर्ने देशभक्त नेमकिपाबीचको लडाइँ भएको बताउनुभयो ।
शनिबार नै कोहलपुरको पीपल चौताराबाट अर्को प्रचार जुलुस न्युरोड चोकमा पुगी सभामा परिणत भयो । सभामा नेमकिपा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर वासीले कोहलपुर नगरपालिकालाई भक्तपुरजस्तै नमुना नगरपालिका बनाउन नेमकिपाका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
इन्जिनियर समाज नेपालका नरेश खत्रीले निर्वाचनमा आचारसंहिता उल्लङ्घन गर्ने शासक दलका उम्मेदवारहरूको उम्मेदवारी खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
उक्त सभामा नेमकिपा कोहलपुर नगरपालिका प्रमुख पदका उम्मेदवार खड्गराज थापा र वडा नं. १ का वडाध्यक्षका उम्मेदवार हिराबहादुर शाहीले नेमकिपाले घोषणापत्रअनुसार काम गर्ने र नगरपालिकालाई भ्रष्टाचारमुक्त बनाई शिक्षा, स्वास्थ्य र सरसफाइमा जोड दिने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा बाँकेका सचिव प्रकाश शाही, नेमकिपा कोहलपुरका नगर अध्यक्ष अंजीरबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
सभाको बीचबीचमा कलाकारहरूले गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए ।
“नेमकिपादेखि शासक दलहरू आत्तिए”
 भक्तपुर । नेमकिपाका उम्मेदवारहरूलाई विजयी गराउन आइतबार भक्तपुरको तालाक्वमा चुनावी जनसभा सम्पन्न भयो ।
सभामा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले नेमकिपाको आर्थिक अनुशासन र भक्तपुरका जनताको ऐक्यबद्धता देखेर शासक दलका नेताहरूले आत्तिएर अनर्गल प्रचारबाजी गरिरहेको बताउनुभयो ।
सांसद सुवालले पप्पु कन्स्ट्रक्सनजस्ता बदमास ठेकेदार कम्पनीहरूलाई प्रोत्साहन गर्न शासक दलहरूले उपभोक्ता समितिमार्फत हुने विकास निर्माणको विरोध गरेको प्रस्ट पार्नुभयो । उहाँले शासक दलले भक्तपुरको शिक्षा क्षेत्रको विषयमा गरेका झूटा प्रचारले ख्वप विश्वविद्यालय स्थापनामा अवरोध गर्ने शक्ति को हुन् भन्ने कुरामा जनता स्पष्ट भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नपाको प्रमुख पदका उम्मेदवार सुनिल प्रजापतिले सानो आकारको भक्तपुर नगरले आफ्नै बलबुतामा गर्न सकेको काम शासक दलले देशभर गरे देशको काँचुली फेरिन बेर नलाग्ने बताउनुभयो ।
उहाँले शासक दलको हातमा सङ्घीयता बाँदरको हातमा नरिवल जस्तै भएको चर्चा गर्नुहुँदै शासक दलले सम्पूर्ण शासकीय अधिकार फेरि पनि सिंहदरबारभित्र कैद गर्न खोजेको बताउनुभयो ।
नेमकिपाको तर्फबाट भक्तपुर नपाका उपप्रमुख पदका उम्मेदवार रजनी जोशीले सरकारले स्वीकृति नदिँदा चिकित्साशास्त्र कलेजसहितको ख्वप विश्वविद्यालय स्थापना गर्ने भक्तपुरका जनताको चाहना अधुरो भएको र यो सपना साकार पार्न नेमकिपाका जनप्रतिनिधिहरूले लगातार सङ्घर्ष गर्ने बताउनुभयो ।
सभामा नेमकिपाको तर्फबाट भक्तपुर नपा वडा नं. ४ का लागि वडाध्यक्ष पदका उम्मेदवार उपेन्द्र सुवाल, उम्मेदवारहरू पुरुषोत्तम तमखू, कृष्णसुन्दर प्रजापति र विष्णुकेशरी दुवालले पनि बोल्नुभएको थियो । नेमकिपाका ४ वडा समन्वय समितिका न्हुछेराम भेलेको सभापतित्वमा भएको सभामा स्थानीय अगुवा कार्यकर्ता बालकृष्ण प्रजापतिले पनि नेमकिपाका उम्मेदवारहरूलाई मत हाल्न आग्रह गर्नुभयो ।
सभामा राजु पाँतीको समूह र विनोद विकले गीत प्रस्तुत गर्नुभएको थियो ।
चुनाव प्रचारकै क्रममा नेमकिपा सुडाल निर्वाचन परिचालन समितिले आइतबार चुनावी सभा सम्पन्न ग¥यो ।
नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले सम्बोधन गर्नुभएको उक्त सभामा चाँगुनारायण नगरपालिकाका प्रमुख पदका उम्मेदवार केशवप्रसाद तिमिल्सेना, पूर्वशिक्षक सन्तराम दुलाल, उपप्रमुखका उम्मेदवार कल्पना लामा, मिनबहादुर बाटा, नारायण घिमिरे, वलिदा नायजू, सम्झना बुढाथोकी, बुद्धिकुमार श्रेष्ठ, करूणा तिमिल्सेना र मदन गिरीले पनि बोल्नुभएको थियो ।
ललितपुरमा चुनावी सभा
ललितपुर । नेमकिपा ललितपुर निर्वाचन परिचालन समितिको आयोजनामा सोमबार ललितपुर महानगरको सुनागुठीमा चुनावी सभा सम्पन्न भयो ।
सभामा पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले निर्वाचन जनताको राजनीतिक चेतनास्तर नाप्ने ब्यारोमिटर भएको प्रस्ट्याउनुभयो ।
उहाँले भन्नुभयो, “देशघाती एमसीसी सम्झौताको समर्थन गर्ने पार्टीहरूलाई मत दिनुहुन्न । नेमकिपाको घोषणापत्रमा अमेरिकी सैन्य मोर्चा एमसीसीको विरोध, भारतीय एकाधिकार पुँजी र विस्तारवादको विरोध, शासक दलहरूका अधुरा प्रतिबद्धता, पालिकामा विजयी नेमकिपाका जनप्रतिनिधिहरूले गर्ने कार्य उल्लेख छ ।”
“शासक दलहरूले जस्तापाता र सारी वितरण, मासुको पोका वितरण, चामल वितरण गरेर विर्नाचन आचारसंहिता उल्लङ्घन गर्दै छन् । तर, निर्वाचन आयोग निरीह अवस्थामा छ । नेकाका नेतृ आरजु राणाले प्रत्येक पालिकाबाट ५–६ जना मलेशियाको काममा निःशुल्क पठाउने आश्वासन दिएको पनि अचारसंहिताको उल्लङ्घन हो”, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “ललितपुर महानगरपालिकामा विजयी नेमकिपाका प्रतिनिधिहरूले पार्टीको घोषणापत्रअनुसार इमानदारीपूर्वक सेवा गर्ने भएकोले नेमकिपाका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्दछु ।”
नेमकिपा ललितपुरका अध्यक्ष राजवीर डंगोलले नेमपिका देशभक्त र कामदार जनताको पार्टी भएको चर्चा गर्नुहुँदै पार्टी उम्मेदवारहरूलाई मत दिन आह्वान गर्नुभयो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाको प्रमुख पदका उम्मेदवार अशोक महर्जन र उपप्रमुख पदका उम्मेदवार ममिता श्रेष्ठ, सविन ख्याजू, नरेश महर्जन, मानभक्त महर्जन, महेन्द्र ब्रम्हाचार्य लगायतले नेमकिपाका उम्मेदवारहरूलाई मतदान गर्न आह्वान गर्नुभयो ।
कार्यक्रम अगाडि सुनागुठी बजार क्षेत्रमा घरदैलो कार्यक्रम भएको थियो ।
खोकनामा सभा
ललितपुर । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा बुधबार खोकनामा चुनावी सभा सम्पन्न भयो ।
खोकनाको लाछीमा भएको चुनावी सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेश सांसद सुरेन्द्रराज गोसाईले राजनीतिकरूपमा सचेत र सङ्गठित जनताले असल राजनीतिक नेतृत्व छान्न सक्ने बताउनुभयो ।
उहाँले फास्ट ट्र्याक बनाएर भारतीय विस्तारवाद र एकाधिकार पुँजी देशमा भित्र्याउने षड्यन्त्रमा शासक दलहरू लागेको स्पष्ट पार्नुहुँदै स्थानीय तहको निर्वाचनमा जित्न युवाहरूलाई शासक दलले कुलतमा फसाउन सक्नेप्रति जनता सजग हुनुपर्ने बताउनुभयो ।
नेमकिपा ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोलले देश र जनताको इमानदारीका साथ सेवा गर्नु नै नेमकिपाका नेता कार्यकर्ताको उद्देश्य भएको चर्चा गर्नुहुँदै देशलाई घात गर्ने दलहरूलाई चिन्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य सुलोचना छ्वाजूले सिद्धान्त र विचारभन्दा पैसाको बलले चुनाव जित्ने शासक दलहरूको कारण देशले आज सङ्कट भोग्नुपरेको बताउनुभयो ।
सभामा ललितपुर महानगरपालिकाको प्रमुख पदमा नेमकिपाका उम्मेदवार अशोक महर्जनले नेमकिपाले घोषणापत्रअनुसार स्थानीय तहमा शिक्षा र स्वास्थ्य निःशुल्क र सुलभ गर्ने, युवाहरूलाई सीपमूलक तालिम दिई स्वरोजगार बनाउने, शिशुशाला र बालोद्यान स्थापना गरी महिलाको श्रम शक्तिलाई उत्पादनमूलक काममा लगाउने, सार्वजनिक व्यायामशाला र खेलमैदान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभामा ललितपुर उपमहानगरपालिकामा उपप्रमुख पदका उम्मेदवार ममिता श्रेष्ठ महर्जन, वडाध्यक्ष पदका उम्मेदवार नरेश महर्जन, वडासदस्य पदका उम्मेदवार कवीन्द्र डंगोल, मनहेरा श्रेष्ठ र महेन्द्र ब्रम्हचार्य लगायतले बोल्नुभएको थियो ।
यसैक्रममा ललितपुरको मङ्गलबजार र गोदावरी नगरपालिकाको ठेचोमा चुनावी सभा सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *