भर्खरै :

भनपा ८ नं. वडा कार्यालयको वडास्तरीय प्रतिवेदन

वडाध्यक्ष किसानहरूको बाहुल्यता भएको भक्तपुर न.पा. साविकमा वडा नं. २ राज्य पुनर्संरचनापछि परिवर्तित भई हाल वडा नं. ८ मा परिणत भएको छ । यस वडाका स्थायी बासिन्दाहरू धेरैजसो जेँला टोलमा बसोबास गर्दछन् । पुरानो बस्ती जेंला एरियामा राम्रो बजारको व्यवस्था छैन भने हाल लिबाली र जगातीको नयाँ बस्ती विकाससँगै बिस्तारै बजारको विकास भएको देखिन्छ । यस वडाको पूर्वमा चाँगुनारायण न.पा. वडा नं. ९, पश्चिममा भक्तपुर न.पा. वडा नं. ७ र ९, उत्तरमा भक्तपुर न.पा. वडा नं. ९ र दक्षिणमा सूर्यविनायक न.पा. वडा नं. ८ सिपाडोल र नंखेल पर्दछ । यति चार किल्लाभित्रको ७६.१५ हेक्टर क्षेत्रफल भएको यस वडामा २०७८ सालको जनगणनाअनुसार पुरूष सङ्ख्या ४९५०, महिला ४७५६ गरी जम्मा ९७०६ जनसङ्ख्या देखिन्छ ।
नगरवासीहरूको सु—स्वास्थ्यको लागि खेलकुदको आवश्यकतालाई मध्यनजर गरी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले घोषणापत्रमा उल्लेख गरेअनुसार र नगरवासी खेलाडीहरूको मागबमोजिम भक्तपुर नगरपालिकाले कभर्ड हलको अभाव खत्किरहेको अवस्थामा नगरपालिकाले यस वडामा कभर्ड हल निर्माण गरी खेलकुदको विकासमा टेवा पु¥याएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा हामी निर्वाचित भएर आइसकेपछि नेपाल मजदुर किसान पार्टीको घोषणापत्रअनुसार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी सम्पदाको जीणोद्धार र पुनर्निर्माण, कला संस्कृतिको संरक्षणलगायतका कामहरू भइरहेको छ । यो पाँच वर्षको अवधिमा वडास्तरीय र नगरस्तरीय गरी यस वडामा ८३ ओटा योजनाहरू सम्पन्न गरिसकेका छौँ । जसमध्ये भूकम्पले भत्केका फल्चा (पाटी) हरू पुनर्निर्माण, जेँला पोखरी मौलिक शैलीमा पुनर्निर्माण, ढुङ्गेधाराको मुहान संरक्षण गर्ने काम भएको छ । महेश्वरीघाट पुनर्निर्माण, घाटमा ढुङ्गा छपाइ, सत्तल, भगवती मन्दिर पुनर्निर्माण र दुबेंकेगु फल्चा पुनर्निर्माण गरिसकेको छ यसले त्यस क्षेत्रको सौन्दर्य बढेको छ ।
यस वडाका सम्पदाहरूमा पाटी १२ ओटा, देवल, मन्दिर तथा सत्तल १६ ओटा, ढुङ्गेधारा ५ ओटा र इनार १४ ओटा रहेका छन् । यस वडाका मुख्य सम्पदाहरूमा महेश्वरी पीठ, भगवती मन्दिर परिसर र मचो भैरव मन्दिर रहेका छन् । विजया दशमीको दोस्रो दिन महेश्वरी पीठको दर्शन गर्न आउने भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । भक्तपुरको बिस्का जात्रामा महेश्वरी र मचो भैरवको जात्रा हुने गर्छ ।
वडाका सबै सार्वजनिक स्कूलहरूको भवन निर्माण कार्य यसै अवधिमा भएको छ । भौतिक पूर्वाधार अभावको कारण शैक्षिक पठनपाठनमा समस्या हुनुहुँंदैन भन्ने मान्यता राखी नगरपालिकाले स्कूल भवनहरू निर्माण, तला थप, शौचालय निर्माणका साथै अन्य आवश्यक खेलकुद सामग्री पनि समय–समयमा वितरण गर्दै आएको छ । वडा समिति भवनमा तला थप, झताप्वस्थित सार्वजनिक शौचालय रहेको स्थानमा भवन निर्माणको कार्य भएको छ । सिमालेस्थित लौकिवा महादेव मन्दिर पुनर्निर्माण भइसकेको छ ।
वडाको लिबाली, जगाती, देकोचा लिबालीमा स्थानीय उपभोक्ताको लगानीमा खानेपानीको पाइप लाइन व्यवस्था गरी पालैपालो खानेपानी वितरण गर्ने व्यवस्था भएको छ । लिबाली प्लानिङ्ग क्षेत्रमा हरेक वर्ष बाटो पिच गर्ने कार्यहरू भइरहेको छ । साथै लिबाली र हनुमान्चा जोड्ने गरी यसै वर्ष पुल निर्माण हुने भएको छ ।
पुरानो नगर क्षेत्रका जेंला, मचो भैरव, पुखुचा, पाँग्राचा, हामादेव एरिया, सिमालेदेखि मलातंसम्मको बाटो सबै इँटा छपाइ तथा ढुङ्गा छपाइ भइसकेको छ । केही भित्री गल्ली बाटोहरूमात्र इँटा छपाइ गर्न बाँकी छ ।
थुसाचा लर्के जगाती पुरानो बजार जोड्ने करिडोर बाटो खोल्ने काम भई सो बाटोमा ग्राभेल हाल्ने काम सम्पन्न भइसकेको छ । लर्केदेखि थुसाचासम्मको ढलांचा बाटो फराकिलो गरी सो बाटोमा ढल निकासको व्यवस्था गर्ने काम अन्तिम चरणमा पुगेको छ । जगाती पुरानो बजार क्षेत्रको बाटोमा स्थानीय उपभोक्ताको सक्रियता र नगरपालिकाको सहयोगमा ढल निकासको व्यवस्था, खानेपानीको पाइप लाइनको व्यवस्थापश्चात् बाटो ग्राभेल गर्ने काम सम्पन्न भइसकेको छ भने यो वर्ष सडक फुटपाथ निर्माण गरी बाटो पिच गर्न मिल्ने गरी ग्राबेल हाल्ने काम यसै वर्ष हुनेछ । स्थानीय जनताको मागबमोजिम अरनिको राजमार्गको उत्तरतर्फ जगाती चोकदेखि भाटेढुकुर पुलसम्म ट्रयाक बाटो खोल्ने काम भइसकेको छ । सो ट्रयाक बाटोसँगै जोडिएको ३ ओटा बाटोमा ब्लक छपाइ गरी बाटोको स्तर उन्नति भइसकेको छ ।
यसरी यस वडाको सन्तुलित विकासको लागि स्थानीय वडावासी साथीहरूसँग छलफल गरी योजनाहरू राखी उपभोक्ता समितिहरूमार्फत विकास निर्माणका कामहरू भइरहेको छ । यस अवधिमा करिब ३४० जना वडावासी दाजुभाइ दिदीबहिनीहरू उपभोक्ता समितिमा रही विकास निर्माणका कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिन्छ । यसरी वडा कार्यालयको सहयोग र सक्रियतामा स्थानीयवासीहरूको सहभागितामा विकास निर्माणका कामहरू हुनु नै भक्तपुर नगरको मौलिकता हो ।
कोरोना महामारी
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणमा पनि विकास निर्माणको कामलाई नरोकी योजनाअनुसार काम सम्पन्न गरेको साथै वडावासीलाई कोरोना भाइरसको सङ्क्रमणबाट बचाउन वडा कार्यालयबाट भएका केही कार्यहरू –
१. वडावासीहरूलाई सचेतना गर्ने उद्देश्यले माइकिङ, सूचना टाँस, विभिन्न सञ्चारमाध्यममार्फत प्रचार प्रसार,
२. वडाका प्रत्येक घर÷परिवारलाई दुई पटक साबुन र मास्क वितरण,
३. समय–समयमा मिचीमिची साबुन पानीले हात धुने बानी बसाल्नको लागि टोल टोलमा पानी ट्याङ्की र साबुनको व्यवस्था,
४. लकडाउनको कारण दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू, अति विपन्न तथा असहायहरू ५२२ घर परिवारलाई परिवार सङ्ख्याको आधारमा रू. ७,५४,०८० ।– को राहत वितरण,
५. स्वाब परीक्षण गर्न निःशुल्करूपमा सिफारिस प्रदान,
६. सङ्क्रमित व्यक्तिहरूलाई Calbone/Lomoplex-Forte औषधि वितरण,
७. सङ्क्रमित व्यक्तिहरूलाई आइसोलेसन र अस्पतालमा भर्नाको लागि समन्वय,
८. टोल–टोलमा क्लोरिन छर्कनुका साथै सरसफाइ,
९. कोभिड—१९ रोगविरूद्धको खोप लगाउन वडावासीहरूलाई अभिप्रेरित गर्नुका साथै खोप केन्द्रको व्यवस्था र स्वयंसेवक परिचालन,
११. चाडपर्वहरू औपचारिकतामा सीमित गर्न वडावासीहरूमा अनुरोध,
१४. कोरोना सङ्क्रमणबाट मृत्यु भएका मृतकहरूको शव व्यवस्थापनमा आवश्यक व्यवस्था,
१५. कोरोना सङ्क्रमित बिरामीहरूको परिवार र अन्य सदस्यहरूको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने उत्प्रेरित गरी कन्ट्याक्ट ट्रेसिङ्गको व्यवस्था आदि ।
२०७४ सालको स्थानीय निवाचनमा विजय जनप्रतिनिधिहरूको ५ वर्षको कार्यकालमा यस वडामा वडा स्तरीय र नगर स्तरीय निम्न योजनाहरू सम्पन्न गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *