भर्खरै :

मतदाता शिक्षा : लोकदोहोरीदेखि भजनसम्म

काठमाडौँ, २८ वैशाख । “पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरूमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो । यस पटक त्यस्तो टोली आउँदैन ?” आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर—११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञासा आउने गरेका छन् ।
यस पटक आयोगले कम खर्च र स्मार्टरूपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेका कारण स्थानीय तहमा यसका लागि घरदैलोमा टोली पठाएको छैन । त्यसरी टोली नजाँदा बदर मत बढ्ने त होइन ? भन्ने प्रश्न पनि उत्पन्न भएका बेला निर्वाचन आयोगले श्रव्यदृश्य सामग्री र विभिन्न सन्देश तयार गरेर आयोगको आफ्नै फेसबुक, युट्युब, ट्वीटर, भाइबरमा नियमित प्रसारण गरिरहेको छ । आयोगले विशिष्ट व्यक्ति, लोकप्रिय कलाकार र व्यक्तित्वहरूलाई समेटेर निर्वाचनको महत्व, आचारसंहिताका व्यवस्थाका विषयका आधारमा सन्देश तयार गरेको छ ।
जोगीले फेरि लगाउने शैलीमा मनोज गजुरेल, पुराणवाचक दिनबन्धु पोखरेलको पुराण वाचनको क्यारिकेचरमा कलाकार सुबोध गौतमले मतदातालाई स्थानीय तह निर्वाचनबारे सरलरूपमा बुझाउने सन्देश पस्कनुभएको छ । यस्तै वरिष्ठ कलाकारहरू मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कलाकारहरू सीताराम कट्टेल र कुञ्जना घिमिरे, (धुर्मुस—सुन्तली), केदार घिमिरे (माग्ने बुढा), दीपकराज गिरी, दिपाश्री निरौलालगायत, दमन रूपाखेतीका प्रस्तुतिका साथै गायकहरू पशुपति शर्मा र मनमाया वाइवाको लोकदोहोरी पनि मतदाता शिक्षा सन्देशका रूपमा प्रयोग गरिएको छ ।
निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले ती सन्देशलाई १६ राष्ट्रिय दैनिक र २८ टेलिभिजन (रेडियो नेपाल, नेपाल टेलिभिजनसहित) बाट पनि प्रसारण भइरहेको छ । निर्वाचन तथा मतदाता शिक्षा नीति, २०७८ र निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ स्वीकृत गरी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले आयोगले ब्रोसर, लिफ्टलेट, पर्चा, पम्प्लेट, नमुना मतपत्र, पोस्टरलगायतका सामग्री छपाइ गरेर वितरण पनि गरिसकेको र कसरी मतदात गर्न सकिन्छ भन्ने सही तरिकाबारे बुँदागत सर्कुलर पनि गरिसकेको बताउनुभयो । “हामी कागजी प्रकारको शिक्षाभन्दा यस पटक भर्चुअल माध्यमको शिक्षामा केन्द्रित भएका छौँ । यसमा दल, उम्मेदवार र नागरिक समाजको पनि सक्रिय भूमिका हुन आवश्यक छ ।” आयोगमा मतदाता शिक्षासमेत हेर्ने आयुक्त डा. तुलाधरले भन्नुभयो, “कुनै पनि मतदाता सचेततापूर्वक मतदान गर्न पाउने अधिकारबाट वञ्चित नहोस् भन्ने आयोगको मनसाय रहेको छ । हरेक रूचिका मतदातालाई सम्बोधन गर्ने गरी विविध सामग्री तयार गरेर प्रवाह गरेका छौँ ।
“आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, ६७६ निर्वाचन अधिकृतको कार्यालय, सात प्रदेशका प्रदेश निर्वाचन कार्यालय, ७० जिल्ला जिल्ला निर्वाचन कार्यालयलाई पत्राचार गरी सो निर्देशन दिएको छ । निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका तथा स्थानीय तह निर्वाचन निर्देशिकामा मतदानस्थलमा मतदाता सूचना कक्षको माध्यमबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था भएकोमा मतदानको दिन (वैशाख ३० गते) उक्त कार्यक्रम नगरी मतदानको अघिल्ला दुई दिन (वैशाख २८ र २९ गते) मतदान स्थलहरूमा सम्बन्धित मतदान अधिकृतहरूको नेतृत्वमा खटिने मतदान टोलीबाट आयोगले उपलब्ध गराएका मतदाता परिचयपत्रको वितरण गर्ने र आयोगले उपलब्ध गराएका नमूना मतपत्र लगायतका पोस्टर, ब्रोसर आदि छपाइ सामग्रीको माध्यम मतदान गर्ने सही तरिका बुझाउन आग्रह गरिएको छ ।
निर्देशनमा मतदान अधिकृतको नेतृत्वमा खटिएको मतदान कार्यटोली मतदानस्थलमा पुगेपछि वैशाख २८ र २९ गतेका दिन सबै मतदातालाई मतदान गर्ने तरिका र मतदाता शिक्षाको लागि उपस्थित हुन सूचना दिने र यस कार्यको लागि आवश्यकताअनुसार सर्वदलीय सर्वपक्षीय सहयोग लिने, मतदानस्थलमा उपस्थित मतदातालाई नमुना मतपत्र देखाएर मतदान गर्ने तरिकाको बारेमा निष्पक्षरूपमा जानकारी दिने, मतदान गर्ने तरिका बारेमा मतदातालाई जानकारी गराउँदा कुनै पनि राजनीतिक दलको निर्वाचन चिह्नको नाम नलिने, मतदातालाई मतदाता शिक्षासम्बन्धी जानकारी दिएपछि मतदान गर्ने दिन वैशाख ३० गते शुक्रबार बिहान ७.०० देखि अपरान्ह ५ बजेभित्र मतदान गर्न आउन आग्रह गर्ने उल्लेख रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
यस्तै मतदान गर्न जाँदा मतदाताले मतदाता परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अन्य परिचयपत्र लिई जान भन्ने, मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्ने तरिकाको बारेमा मतदातालाई मतपत्रमा सातवटा निर्वाचन चिह्नमा मतसङ्केत गरी मतदान गर्नुपर्ने, पहिलो ठाडो लहरमा प्रमुख वा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नहरूमध्ये एउटा चिह्नमा, दोस्रो ठाडो लहरमा उपप्रमुख वा उपाध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नहरूमध्ये एउटा चिह्नमा, तेस्रो ठाडो लहरमा वडा अध्यक्ष पदको उम्मेदवारको निर्वाचन चिह्नहरूमध्ये एउटा चिह्नमा, चौथो ठाडो लहरमा महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नहरूमध्ये एउटा चिह्नमा, पाँचौ ठाडो लहरमा दलित महिला सदस्य पदको उम्मेदवारको निर्वाचन चिह्नहरूमध्ये एउटा चिह्नमा, छैठौँ र साताँै ठाडो लहरमा रहेका दुई सदस्य पदका उम्मेदवारहरूको निर्वाचन चिह्नहरूमध्ये कुनै दुई निर्वाचन चिह्नमा छुट्टाछुट्टै छाप लगाई दुई उम्मेदवारलाई मतदान गनुपर्ने आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन् भने ६ वडा अध्यक्षसहित ३५ स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भएका छन् । यो निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले जम्मा ३५ हजार २२१ मध्ये निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोट गर्नेछन् ।
मतदान केन्द्रमा आवश्यक हुने निर्वाचन सामग्रीसहित एक लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयंसेवक आ–आप्mनो मतदान केन्द्रमा पुगिसकेका छन् । निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलहरूमध्ये जम्मा ६५ राजनीतिक दलहरू चुनावी प्रतिस्पर्धामा रहेका छन् । ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरूष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत जम्मा एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनहरूलाई आवश्यक निर्देशन दिइसकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको आयोगले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *