भर्खरै :

कोरियाली जनता र कोरियाली जनसेना अजेय छन्

(कोरियाली जनताको क्रान्तिकारी सेना (KPRA) को ९० औँ स्थापना दिवसको अवसरमा अप्रिल २५, २०२२
(जुछे १११) मा आयोजित सैनिक परेडमा श्रद्धेय कामरेड किम जङ्ग उनले व्यक्त गर्नुभएको मन्तव्यको पूर्ण पाठ यसप्रकार छ – केसीएनए)
प्रजग कोरियाको समस्त बहादुर सैनिक अधिकारीहरू एवम् रक्षा सशस्त्र बलका योद्धाहरू, सैनिक परेडमा सहभागी सम्पूर्ण एकाइका जनता, युद्धका अनुभवी कामरेडहरू एवम् यो उत्सव मनाउन यहाँ भेला हुनुभएका योग्य व्यक्तिहरू, आदरणीय प्योङ्गयाङ्गका नागरिक एवम् प्रिय कामरेडहरू !
आज हामी हाम्रो महान् र गौरवशाली पार्टी, राज्य र जनताको निम्ति महत्वपूर्ण वार्षिकी मनाउनको लागि यो भव्य सैनिक परेडको आयोजना गरिरहेका छौँ ।
सशस्त्र बलको निर्माणको लामो ऐतिहासिक पृष्ठभूमिमा आज हामी पार्टी, क्रान्ति, पितृभूमि र जनताको अडिग भएर रक्षा गर्ने र शान्ति स्थायित्वको प्रत्याभूत गराउने सशस्त्र बल पाएकोमा गौरव महसुस गरिरहेका छौँ ।
किम इल सङ्ग चोकमा विजयी झन्डाहरू एवम् भावनाका साथ प्रदर्शित उत्कृष्ट सैनिक एकाइहरूलाई देखेर, हाम्रो गणतान्त्रिक सशस्त्र बलको आधुनिक विशेषता र उचाइलाई देखेर देशभरिका जनताले ९० वर्षअगाडि स्थापना भएको देशको पहिलो साँचो सशस्त्र बलको ऐतिहासिक महत्वलाई महसुस गर्नेछन् ।
कोरियाली जनताको क्रान्तिकारी सेनाको स्थापना राष्ट्रिय महत्व बोकेको ऐतिहासिक घटना हो, जसले मृत्युलाई हाँक दिँदै राष्ट्रिय मुक्ति र स्वतन्त्रताको निम्ति फहरिएको झन्डामुनि आफ्नै बलबुत्तामा साम्राज्यवादविरोधी सङ्घर्षलाई निरन्तर अघि बढाउनु हो । यो त्यस्तो ऐतिहासिक घटना हो जसले शक्तिशाली क्रान्तिकारी सैनिक बलमा विश्वास गर्ने जुछे क्रान्तिको नयाँ युगमा प्रवेश गरायो ।
यो ऐतिहासिक घटनाको प्रमुख अर्थ केवल अशान्त इतिहासमा दयनीय जीवन बिताउन बाध्य जनताले आफ्नै राष्ट्रिय सेना पाउने र आशाको पुनः स्थापनामा मात्र सीमित छैन । यसले कोरियाली क्रान्तिकारीहरूको साम्राज्यवादविरोधी क्रान्तिको अविचलित विचारलाई पनि देखाउँछ । यसले देशको गौरव र सार्वभौमिकतामाथि आँच पु¥याउने वर्गशत्रुहरूसँग अन्तिम दमसम्म लड्ने, जनताको स्वतन्त्रता र मुक्ति प्राप्तिको निम्ति निरन्तर बिनाआत्मसमर्पण लडिरहने र आन्तरिक शक्तिहरूसँग क्रान्तिको विजयको लागि लडिरहने भावना पनि देखाउँछ ।

इतिहासले कोरियाली क्रान्तिकारीहरूले जनताको भाग्य र भविष्य निर्माणको लागि छानेको यो प्रतिबद्धता र इच्छाशक्तिलाई शतप्रतिशत सही थियो भन्ने प्रमाणित गरिसकेको छ ।
हाम्रा जनताका योग्य छोरा र छोरीहरूले पेक्तु जङ्गलमा उठाएका क्रान्तिकारी हतियारहरू कोरियाली पितृभूमिको स्वतन्त्रताको उच्च भावनाको अभिव्यक्ति हो । साथै यो एकताको महान् झन्डाको अभिव्यक्ति हो, आत्म–निर्भरताको साहस भर्ने शक्ति एवम् कोरियाली जनताको परिश्रमी मुट्ठी (हात) हरूमा भएको थाक्नै नजाने बहादुर हर्कुलसको बलको अभिव्यक्ति हो ।
हाम्रो सशस्त्र बललाई धन्यवाद दिन चाहन्छु । कोरियाली क्रान्तिको दीर्घकालीन योजना आज परिपक्व भएको छ । साम्राज्यवादी निरङ्कुशतालाई जित्नको लागि आवश्यक अदम्य साहस, शक्ति एवम् हाम्रो क्रान्तिको विकासको लागि चाहिने महान् परम्पराको सिर्जना भएको छ ।
हाम्रो क्रान्तिकारी सेनाले स्थापनाकालदेखि बोकेको सिद्धान्त, विश्वास र परम्पराले पार्टी, क्रान्ति, क्षेत्रफल र जनताको रक्षा गर्दै साम्राज्यवादविरोधी सङ्घर्षमा अतुलनीय साहस र बलिदानी भावनाको प्रदर्शन गर्नसक्ने मानसिक बल प्रदान गरेको छ । यो सेनाले देशको मुक्तिको आधार प्राप्त गरेको छ । पहिला कहिल्यै नभएको रक्तपातपूर्ण सङ्घर्षबाट अमेरिकी नेतृत्वको साम्राज्यवादी सैनिक गठबन्धनलाई भगाउँदै राष्ट्रको सार्वभौमिकता, गौरव र सुरक्षाको प्रतिरक्षा गरेको छ । समाजवादी क्रान्ति र निर्माणको ऐतिहासिक मार्गमा हाम्रो सेनाले पार्टी, सरकार, सीमा र जनताको प्रतिरक्षा गर्दै सदा विजयी वीरता देखाएको छ । हाम्रो पार्टी र जनता त्यस्तो साहसिलो, फलामे र बफादार सेनाप्रति गर्व गर्दछ ।
हाम्रा सबै अमूल्य उपलब्धिहरूका साथै जे जति यो देशमा हामीले पाएका छौँ, ती सबै हाम्रो क्रान्तिकारी सेनाका देन हुन् । यो कुरा हामीले मनमा राख्नुपर्दछ ।
पार्टीको सिद्धान्तप्रति प्रतिबद्ध हाम्रो क्रान्तिकारी सेनाले देशको प्रतिरक्षाको लागि मात्र नभई, देशको विकासको निम्ति पनि एक शक्तिशाली दस्ताको रूपमा अघि बढ्दै उच्च आदर्श प्राप्त गर्ने महान् क्रान्तिकारी प्रयासहरूमा समर्पित भई लागेको छ । समाजवाद निर्माणको नयाँ इतिहास रच्दै, हाम्रो महान् देशको गौरव र प्रतिष्ठालाई उँचो बनाउँदै, अरू कसैले गर्न नसकेको महान् पराक्रम हाम्रो सेनाले प्रस्तुत गरेको छ । पार्टी, सरकार र जनताप्रति बफादार हुनुलाई नै उच्च सम्मान र जीवन ठानेर हाम्रो क्रान्तिकारी सेनाले कोरियाली क्रान्तिको परम्परालाई सुरक्षित राखेको छ । हाम्रो देश र जनताको अस्तित्व र विकासको सुनिश्चितता प्रदान गरेको छ । विगत ९० वर्षसम्म हाम्रो सेनाले पु¥याएको योगदानको लागि धन्यवाद दिन चाहन्छु । करिब एक शताब्दी लामो कोरियाली क्रान्तिको ऐतिहासिक दस्तावेजहरू विजय र गौरवले भरिएका छन् ।
हाम्रो महान् क्रान्तिकारी सेनाले आत्म बलिदानको उदाहरण दिएर जुनसुकै अप्ठ्यारो क्रान्तिकारी परिस्थितिमा पनि अगुवाको भूमिका निभाई हाम्रो गणतन्त्रलाई गौरवशाली बनाउन आफ्नो अमूल्य रगत र पसिना बगाएको कुरा हामी सदा सम्झिरहने छौँ ।
हाम्रो सशस्त्र शक्तिहरूको गौरवशाली इतिहास नयाँ पुस्ताको गौरव र सम्मानसँग जोडिएको छ । नयाँ पुस्ता अर्थात् विजय चोकमा व्यवस्थित लाममा अगाडि बढ्दा गणतान्त्रिक सशस्त्र शक्तिको उत्कृष्ट एकाइका अधिकारीहरू हवाई सेना, स्थल सेना र जलसेनामा आबद्ध भई आफ्नो पराक्रम देखाई देशभरि नै महान् समाजवाद निर्माणको अभियानमा लागेका समस्त सेनाअगाडि बढ्नेछन् ।
यो महत्वपूर्ण अवसरको उपयोग गर्दै म, हाम्रो पार्टी र सरकारको तर्फबाट ती सम्पूर्ण जापानविरोधी क्रान्तिका अगुवाहरू एवम् जनसेनाका सहिदहरूलाई आफ्नो अमूल्य जीवन राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता र जनताको मुक्तिको लागि जीवन अर्पण गर्नेहरूप्रति उचित सम्मान व्यक्त गर्न चाहन्छु । उहाँहरूले क्रान्तिकारी सेना निर्माण गर्न र समाजवाद निर्माणको निम्ति भूमिका खेल्नुभयो । सम्पूर्ण अधिकारीहरू र कोरियाली जनसेनाका सेनाहरू र क्रान्तिकारी अगुवाहरूको विश्वासिलो उत्तराधिकारी भई महान् यात्रामा पाइला बढाइरहने हाम्रो गणतन्त्रका अरू सशस्त्र शक्तिका सदस्यहरू सबैलाई म हार्दिक बधाई दिन चाहन्छु ।
सम्पूर्ण ती परिवारहरूलाई पनि हार्दिक धन्यवाद प्रकट गर्न चाहन्छु, जसका प्यारा पतिहरू, छोराछोरीहरू देशको प्रतिरक्षा गर्न अग्रमोर्चामा उभिएका छन् ।

कामरेडहरू,
हाम्रो क्रान्तिकारी सेनाले देशको विकास र समृद्धिलाई सुरक्षित गर्दै अघि बढाएको यो ९० वर्षको गौरवशाली यात्रालाई अझ सय वर्ष, हजार वर्षसम्म निरन्तरता दिन जरुरी छ ।
हामीले हाम्रो शक्तिशाली सेनाको गौरवलाई अझ उच्च बनाउँदै विगतका ९० वर्षहरूभन्दा अझ तीव्रगतिमा विकास गर्नु अहिलेको समयको माग हो ।
वर्तमान समयमा विभिन्न शक्तिहरू भयानकरूपमा एक अर्कासँग भिडन्त गरिरहँदा हामीले आफ्नो देशको गौरव, सार्वभौमिकता र विश्वास गर्न सकिने सच्चा शान्तिको निम्ति शत्रुलाई परास्त गर्न सक्ने क्षमता भएको शक्तिशाली प्रतिरक्षा प्रणालीले मात्र सुनिश्चित गर्न सक्दछ ।
त्यसैले, हामी निरन्तर शक्तिशाली हुने यात्रामा अघि बढिरहनुपर्छ ।
आफैलाई प्रतिरक्षा गर्नको लागि शक्ति सञ्चय गर्ने मामिलामा सन्तोष हुनुहुन्न । हामी जोसुकैसँग भिडे पनि हाम्रो सैनिक सर्वाेच्चता अझ बढी सुरक्षित हुनुपर्दछ ।
क्रान्तिले यही माग गर्दछ, नयाँ आउने पुस्ताको भविष्य यसैमा भरपर्दछ ।
क्रान्तिकारी सेनाको निर्माणको हाम्रो प्रमुख उद्देश्य भनेको जनसेनालाई सदा विजयी सेना बनाउनु हो ।
‘सदा विजयी सेना’ भनेर हाम्रो जनसेना चिनिनुपर्छ र यही उच्च नामले हाम्रो क्रान्तिकारी सेनाको अमूल्य प्रतिष्ठा सदा चहकिलो बनिरहनुपर्छ ।
पार्टीको निर्देशन र महान् सिद्धान्तलाई अङ्गीकार गर्दै हाम्रो जनसेना सक्रियतापूर्वक नयाँ उचाइको विकासमा बलियोसित लाग्नुपर्दछ ।
त्यसको लागि हाम्रो जनसेनाले आफैलाई राजनैतिक र वैचारिकरूपमा बलियो तथा सैन्य प्रविधिमा सशक्त हुँदै कोरियाली मजदुर पार्टीको नेतृत्वप्रति बफादार एवम् सिद्धान्त र विश्वासमा अडिग दस्ताको रूपमा अघि बढ्नुपर्छ ।
कुनै पनि प्रकारको युद्ध र सङ्कटलाई बिनाहिच्किचाहट पूर्ण साहस, क्षमता र आत्मविश्वासका साथ सामना गर्ने शक्तिको रूपमा बलियो बनाउनुपर्दछ ।
हाम्रो सेना निर्माणको मुख्य र पहिलो रणनीतिक कार्य भनेको राजनैतिक एवम् सैद्धान्तिकरूपले सशक्त पार्नु हो ।
राजनैतिक एवम् सैद्धान्तिकरूपमा पोख्त सेना, सैद्धान्तिक र मानसिकरूपमा तयार सेनाहरूको जमात नै पार्टी, जनता र वर्गप्रति बफादार क्रान्तिकारी सेना तयार गर्ने लक्ष्यका आधार हुन् ।
सेनाको अटल क्रान्तिकारी भावना र वर्गीय चेतनाले नै हाम्रो सेनाको लड्ने क्षमताको विकास र देशको प्रतिरक्षा गर्ने क्षमता निर्माण गर्ने निर्णायक भूमिका खेल्नेछ ।
हाम्रो क्रान्तिको पृथक विशेषता भनेको क्रान्तिको एक पुस्तालाई अर्काे पुस्ताले प्रतिस्थापन गर्दै अघि बढ्नु हो । यो क्रममा हामीले समयसँगै अझ भयानक र क्रूर हुँदै गएको साम्राज्यवादीहरूको सामना गर्नुपर्ने हुन्छ । यसले पेक्तुमा सुरु भएको महान् क्रान्तिकारी विचार र भावनालाई अझ महत्वपूर्ण रणनीतिक दायित्वको रूपमा नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने अवस्था आउँछ । जब हामीले यो दायित्वलाई सेना निर्माणको प्रमुख हिस्साको रूपमा लिन्छौँ तब हामी निश्चितरूपमा हाम्रो क्रान्तिकारी सैन्य बलको गुणात्मक सर्वाेच्चतालाई अझ बलियो बनाउन सबल हुन्छौँ ।
सम्पूर्ण पार्टी सङ्गठनहरू र जनसेनाका राजनैतिक एकाइहरूले सैद्धान्तिक क्रान्तिको ज्वालालाई बालिरहनुपर्दछ र आफ्नो सारा ध्यान सैनिक जवानहरूलाई क्रान्तिकारी सिद्धान्त र मानसिक बलले सुसज्जित पार्ने प्रयास भइरहनुपर्दछ । जनसेनालाई सिद्धान्त र विश्वासमा अडिग सेनाको रूपमा विकास गर्ने कामलाई उच्च प्राथमिकतामा राखेर, हामीले सारा सैन्य जवानहरूलाई पार्टीको इच्छाअनुसार क्रान्तिकारी सिद्धान्तमा प्रतिबद्ध भएर लड्ने दस्ताको रूपमा तयार गर्नुपर्दछ । पार्टी केन्द्रीय समितिले तयार पारेको दिशाबाट अलि कति पनि तल माथि नहुने वा एक इन्च पनि नहट्ने, अदम्य सङ्घर्षशील भावना भएको, वर्गीय चेतनालाई कदर गर्ने सैनिक दस्ताको रूपमा तयार गर्नुपर्दछ ।
हामीले हाम्रो सेनालाई सैन्य प्रविधिमा पनि अझ सशक्त दस्ताको रूपमा अघि बढाउनुपर्दछ ।
विश्वको सैन्य विकासको प्रवृत्ति र तीव्रगतिमा परिवर्तन हुँदै गरेको वर्तमान परिवेशले हाम्रो सेनाको पनि तीव्रगतिमा आधुनिकीकरण गर्दै सैन्य प्रविधिको विकासको माग गर्दछ ।
सेनालाई आधुनिकीकरण गर्दै लाने नारालाई अघि सार्दै गर्दा, हामीले हाम्रो जनसेनालाई आधुनिक सैन्य प्रविधिले सुसज्जित शक्तिशाली सैन्य दस्ताको रूपमा विकास गर्न अधिकत्तम प्रयास गर्नुपर्दछ ।
सैन्य प्रतिभाहरूलाई आधुनिकीकरण गर्न तालिमहरूको व्यवस्था गर्दै हामीले ठूलो सङ्ख्यामा अधिकारीहरूलाई आफ्ना विभिन्न एकाइहरूको नेतृत्व गर्नसक्ने दस्ताको रूपमा अघि सार्नुपर्दछ । अनि हामीले सेनाका हरेक एकाइ, उप–एकाइहरूलाई युद्धका तालिमहरू दिएर आधुनिक तरिकाहरू सिकाएर कुनै पनि प्रकारको युद्धको उद्देश्यलाई सम्हाल्न सक्ने गरी तयार पार्नुपर्दछ ।
निरन्तर हाम्रो जनसेनाको सैन्य बलको बुद्धिको निम्ति हाम्रा प्रतिरक्षा विज्ञान र हतियार कारखानाहरूले सही र आधुनिक सैन्य सशस्त्र र हतियारहरूको विकास एवम् विस्तारलाई जारी राख्नुपर्दछ ।
प्रस्टरूपमा भन्नुपर्दा, आणविक शक्ति जसलाई हाम्रो राष्ट्रिय शक्ति र सैन्य शक्तिको केन्द्रको प्रतीकको रूपमा हामी मान्छौँ, त्यसलाई गुणात्मक र सङ्ख्यात्मक दुवै हिसाबले बढाउनु जरुरी छ । त्यसो भएमा मात्र कुनै पनि परिस्थितिमा हुने युद्धहरूमा त्यसको उद्देश्य र उद्देश्यअनुरूप आणविक क्षमताको प्रदर्शन गर्नसक्दछौँ ।
गणतान्त्रिक सैन्य शक्तिको सैन्य प्राविधिक सर्वाेच्चता कायम गर्न र आधुनिक गुणहरूको विकास गर्न अहिलेको परिस्थितिले अझ बढी सक्रिय उपायहरूको माग गर्दछ ।
तीव्रगतिमा परिवर्तन भइरहेको राजनैतिक र सैन्य परिस्थितिहरूसँग सामना गर्न र भविष्यमा आउने सम्भावित सङ्कटहरूको सामना गर्न र भविष्यमा आउने सम्भावित सङ्कटहरूको सामना गर्न हामी अझ छिटो आत्मरक्षा गर्ने आधुनिक सैन्य बलको निर्माणलाई अगाडि बढाउछौँ ।
हाम्रो देशको आणविक हतियारहरूलाई सकेसम्म तीव्रगतिमा विकास गर्दै जान विभिन्न उपायहरू अघि सार्छौँ ।
हाम्रो आणविक शक्तिको आधारभूत उद्देश्य भनेको युद्धलाई रोक्नु हो । तर, हाम्रो भूमिमा हामीले इच्छा नगरेको परिस्थितिको सिर्जना भए हाम्रो आणविक शक्तिको उद्देश्य युद्ध रोक्नु हो भन्ने उद्देश्यमै सीमित भएर कहिल्यै बस्न सक्दैनौँ ।
यदि कुनै शक्तिले हाम्रो देशको आधारभूत सरोकारमाथि नै विध्वंस पार्ने प्रयास गर्छ भने हाम्रा आणविक शक्तिहरूले दोस्रो उद्देश्यलाई लागु गर्नुपर्ने हुन्छ ।
हाम्रो गणतन्त्रको आणविक शक्तिहरू आफ्नो दायित्व पूरा गर्न हरदम तयार अवस्थामा रहनुपर्दछ ।

 
कामरेडहरू, जनसेनाका अधिकारीहरू,
हाम्रो सैन्य शक्ति अब जुनसुकै प्रकारको युद्धको लागि पूरा तयार भइसकेको छ ।
यदि कुनै शक्तिले प्रजातान्त्रिक जनगणतान्त्रिक कोरिया (प्रजग कोरिया) सँग सैनिक भिडन्त गर्ने प्रयास गरेमा त्यो शक्ति नाश हुनेछ ।
प्रजग कोरियाका सबै सैन्य बल, साहसिक कोरियाली जनसेनाले सदैव दृढतापूर्वक आफ्नो उद्देश्यमा विश्वास गर्नुपर्दछ र सबै चुनौतीहरूका विरुद्ध आत्मविश्वास र वीरतापूर्वक अघि बढ्नुपर्दछ । अजेय सैनिक सर्वाेच्चतालाई कायम गर्दै, सारा जनताको सुरक्षा, गौरव र सुखको पवित्र जिम्मेवारीलाई काँधमा बोक्दै अघि बढ्नुपर्दछ ।
गणतान्त्रिक सबै सशस्त्र बलका सम्पूर्ण अधिकारीहरू,
जबसम्म तपाईँहरूका हृदय क्रान्तिकारी अगुवाहरूको अमूल्य रगत र उच्चत्तम भावनाहरूसहित धुकधुकी रहिरहनेछ, तबसम्म हाम्रो क्रान्तिकारी सैन्य बल कोरियाली मजदुर पार्टीको इच्छा र सिद्धान्तको प्रतीकको रूपमा क्रान्तिको अग्रमोर्चामा उभिरहने छन् । हाम्रो आफ्नै शैलीको समाजवादको उद्देश्य भविष्यमा पनि सदा विजयी भइरहनेछ ।
कोरियाली जनसेनाका सम्पूर्ण नेतृत्वकर्ता एवम् अधिकारीहरू र प्रजग कोरियाका सबै सशस्त्र बलहरू,
हाम्रो महान् जनताको सुरक्षा र सुखको निम्ति
हाम्रो महान् देशको अनन्त गौरव र विजयको लागि
तागतका साथ आऔँ, हामी लडौँ ।
हाम्रो महान् क्रान्तिकारी सैन्य बल सदा अमर रहोस् !
हाम्रो देश, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया सदा अमर रहोस् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *