भर्खरै :

मौन अवधिमा पालना गर्नुपर्ने आचरण

मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले देहायका आचरण पालना गर्नुपर्नेछ :
(क) मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने,
(ख) मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारको प्रचार प्रसारका सामग्री हटाउनुपर्ने,
(ग) कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न नहुने,
(घ) सामाजिक सन्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा शेयर गर्न वा गराउन नहुने ।
मतदानको दिन पालना गर्नुपर्ने आचरण
मतदानको दिन राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले देहायका आचरण पालना गर्नुपर्नेछ :
(क) मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा ब्याच लगाउन नहुने,
(ख) मतदान केन्द्रमा कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक र चीजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने,
(ग) कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गर्न वा कसैलाई लैजाने वा ल्याउने गर्न नहुने,
तर सात महिनाभन्दा बढी अवधिको गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिकरूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकजस्ता मतदाताको लागि निर्वाचन अधिकृतले अनुमति दिएको सवारी साधन प्रयोग गर्न बाधा पर्नेछैन ।
(घ) मतदाता तथा आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न नहुने ।
मतदाताले पालना गर्नुपर्ने आचरण
मतदाताले देहायका आचरण पालन गर्नुपर्नेछ ।
(क) मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने,
(ख) मतदान केन्द्रमा मतदान गर्न जाँदा कुनै नशालुपदार्थ वा मादकपदार्थ सेवन गर्न नहुने,
(ग) मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झूटा अफवाह, भ्रामक समाचार फैलाउन वा कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने,
(घ) मतदान गर्न जाँदा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै सङ्केत अङ्कित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने,
(ङ) मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झन्डा अङ्कित ट्याटु प्रदर्शन गर्न नहुने,
(च) कसैको पक्ष वा विपक्षमा एस. एम. एस., फेसबुक मेसेन्जर, ट्वीटर, भाइवर, युट्युब, इन्स्टाग्रामजस्ता विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने ।
मतदान तथा मतगणना प्रतिनिधिले पालना गर्नुपर्ने आचरण
राजनीतिक दल, उम्मेदवारको मतदान तथा मतगणना प्रतिनिधिले देहायका आचरण पालना गर्नुपर्नेछ ।
(क) राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै सङ्केत अङ्कित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेस्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न नहुने,
(ख) राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने एकै किसिमको साङ्केतिक पोशाक, लोगो, ब्याचजस्ता सामग्री लगाउन बोक्न र देखाउन नहुने,
(ग) मतपत्रलगायतका निर्वाचन सामग्री छुन वा चलाउन वा बिगार्न वा फोटो खिच्न नहुने,
(घ) मतदानस्थल वा मतगणनास्थलमा दल वा उम्मेदवारको पक्ष वा विपक्षमा नाराबाजी वा हुलहुज्जत गर्न नहुने,
(ङ) क्यामरा, मोबाइललगायतका निर्वाचन अधिकृतले अनुमति नदिएका सामग्री मतगणनास्थलमा लैजान नहुने ।
पर्यवेक्षण संस्थाले पालना गर्नुपर्ने आचरण
पर्यवेक्षण संस्थाले देहायका आचरण पालना गर्नुपर्नेछ ।
(क) आयोगबाट अनुमति नलिई पर्यवेक्षण गर्न नहुने,
(ख) सरकारी वा सरकारी स्वामित्व भएका वा अर्धसरकारी सङ्घ संस्था विश्वविद्यालय वा सामुदायिक विद्यालयका बहालवाला कर्मचारी वा शिक्षकलाई पर्यवेक्षण गर्न खटाउन नहुने,
(ग) पर्यवेक्षकलाई निजको स्थायी बसोबास भएको वा मतदाता नामावलीमा नाम समावेश भएको गाउँपालिका वा नगरपालिकाको वडामा पर्यवेक्षणका लागि खटाउन नहुने,
(घ) पर्यवेक्षण कार्य समाप्त भएको तीस दिनभित्र आफ्नो संस्थाको आय र व्यय सार्वजनिक गर्नुपर्ने र सोको लिखित जानकारी आयोगलाई गराउनुपर्ने,
(ङ) मतदान समाप्त भएको पन्ध्र दिनभित्र प्रारम्भिक प्रतिवेदन र तीस दिनभित्र अन्तिम पर्यवेक्षण प्रतिवेदन आयोगमा बुझाउनुपर्ने ।
पर्यवेक्षकले देहायका आचरण पालना गर्नुपर्नेछ
(क) पर्यवेक्षक परिचयपत्र सबैले देख्ने गरी लगाउनुपर्ने,
(ख) विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गरी स्वतन्त्र, निष्पक्ष, तटस्थ, विश्वसनीय ढङ्गले पर्यवेक्षण गर्नुपर्ने,
(ग) मतदान अधिकृतको अनुमति लिएर निश्चित दूरीबाट मात्र मतदान कार्यको पर्यवेक्षण गर्ने,
(घ) राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सार्वजनिकरूपमा वा आमसञ्चार माध्यममा कुनै किसिमको टीकाटिप्पणी गर्न नहुने,
(ङ) आयोगले अनुमति दिएको क्षेत्रमा मात्र पर्यवेक्षण गर्नुपर्ने,
(च) राजनीतिक दल, उम्मेदवार, कर्मचारी वा अन्य व्यक्तिसँग नगद वा जिन्सी वा उपहार वा अन्य कुनै सामान लेनदेन गर्न नहुने,
(छ) राजनीतिक दल वा उम्मेदवारको समर्थन वा विरोध हुने गरी निर्वाचन चिह्न अङ्कित ब्याच लगाउन वा अन्य कुनै माध्यमद्वारा प्रचारप्रसार या प्रदर्शन गर्न नहुने,
(ज) निर्वाचनलाई प्रभावित पार्ने कुनै सूचना प्रवाह गर्न या वक्तव्य दिन वा अवाञ्छित क्रियाकलाप गर्न नहुने,
(झ) सुरक्षा संवेदनशील स्थानमा पर्यवेक्षण गर्न नहुने,
(ञ) मतदाताले मत सङ्केत गरेको गोप्य कक्षमा तस्बिर खिच्न नहुने,
तर निर्वाचन अधिकृत वा मतदान अधिकृतको अनुमति लिई मतदानस्थलको घेरा बाहिरबाट तस्बिर खिच्न बाधा पर्नेछैन ।
(ट) निर्वाचन अधिकृत वा आयोगले निर्वाचनको अन्तिम परिणाम घोषणा गर्नुअघि उम्मेदवार विजयी भएको सूचना सम्प्रेषण गर्न वा गराउन नहुने,
(ठ) निर्वाचन कानुन तथा निर्वाचन सामग्रीका सम्बन्धमा निर्वाचनलाई असर पर्ने गरी नकारात्मक टीकाटिप्पणी गर्न नहुने,
(ड) मतदान केन्द्रमा खटिएका मतदान अधिकृत तथा अन्य कर्मचारीलाई निजहरूको कार्यसम्पादनमा बाधा पुयाउन नहुने,
(ढ) निर्वाचन सम्पन्न भएको पन्ध्र दिनभित्र प्रारम्भिक प्रतिवेदन र तीस दिनभित्र अन्तिम प्रतिवेदन आयोगमा बुझाउनुपर्ने ।
स्रोत : निर्वाचन आयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *