भर्खरै :

भक्तपुरको स्वास्थ्य

भक्तपुर जिल्ला क्षेत्रफलको आधारमा देशकै सबभन्दा सानो जिल्ला भए पनि जनघनत्वको आधारमा यो जिल्ला सबभन्दा सघन जनसङ्ख्याको बसोबास भएको जिल्लामा पर्छ । चार नगरपालिकामा विभाजित यो जिल्लाको कुल जनसङ्ख्या ४ लाख ३० हजार ४ सय ८ छ (केन्द्रीय तथ्याङ्क विभाग) । राजधानीसँगै जोडिएको जिल्ला भएकोले विभिन्न जिल्लाबाट भक्तपुरमा बसाईँ सर्ने मानिसको सङ्ख्या अधिक छ । त्यसकारण भक्तपुर जिल्लाको जनसङ्ख्या वृद्धि दर देशकै सबभन्दा उच्च छ ।
जनसङ्ख्या र स्वास्थ्य आपसमा अन्योन्यास्रितरूपमा जोडिएका विषय हुन् । जनसङ्ख्या वृद्धिले स्वास्थ्य समस्या पनि बढाउने गर्छ । तीव्र र अव्यवस्थित सहरीकरण, सघन बस्ती, वातावरणीय विनाश, सहरीकरणले जनजीवनमा निम्त्याएको परिवर्तनले अन्य ठाउँमा जस्तै भक्तपुर जिल्लामा पनि स्वास्थ्य चुनौती थपिएको छ ।
कुनै बेला भक्तपुर देशकै सबभन्दा फोहोर ठाउँको रूपमा चिनिन्थ्यो । ढलनिकास, खानेपानी, शौचालय आदि पूर्वाधारको कमी तथा सरसफाइप्रति जनचेतना नहुँदा केही दशकअघिसम्म पनि भक्तपुरमा सर्ने रोगले सर्वसाधारणलाई दुःख दिने गथ्र्यो । खुला ढल, अवैज्ञानिक शौचालय, व्यक्तिगत सरसफाइमा कमी र अस्वस्थकर खानपिनले मानिसलाई विभिन्न खालका सरुवा रोगको सिकार बनाउने गथ्र्यो । गुचमुच्च परेको बस्ती भएकोले घर र कोठामा मनग्य घामको किरण पुग्न नपाउँदा चिसोले पनि धेरै मानिसलाई बिरामी हुन्थे ।
तर, देशभर जस्तै अहिले भक्तपुरका जनताको स्वास्थ्य समस्या पनि फेरिएको देखिन्छ । हिजोआज भक्तपुरमा सर्ने खालका रोगभन्दा पनि नसर्ने रोग बढी चुनौतीपुर्ण बन्दै गएको चिकित्सकहरू बताउँछन् । अस्पतालमा सरुवा रोगका बिरामीभन्दा पनि नसर्ने रोगका बिरामीहरूको बढी घुइँचो देखिन्छ ।
कोभिड–१९ महामारीको प्रभावबाट भक्तपुर जिल्लालाई पनि अछुतो राखेन । भक्तपुर जिल्लामा ३० हजार ८६ भन्दा बढी मानिस कोभिडबाट सङ्क्रमित भए (नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय) ।
भक्तपुरका विभिन्न अस्पतालमा कार्यरत चिकित्सक, नर्स र ल्याब टेक्निसियनसँग गरेको कुराकानीले भक्तपुरमा झाडापखाला, रुघाखोकी जस्ता सरुवा रोगभन्दा नसर्ने विभिन्न घातक रोग प्रमुख चुनौती भएको निष्कर्षमा पु¥याउँछ । स्वास्थ्यकर्मीका अनुसार अहिले भक्तपुरमा उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्राइटिस र हाइपो थाइराइडजस्ता नसर्ने रोगका समस्या बढ्दो छ । सामान्यतः उमेर बढ्दै गएपछि हुने मानिएका यस्ता रोगबाट हिजोआज भक्तपुरका तुलनात्मकरूपमा कम उमेरका युवा युवतीहरू समेत प्रभावित देखिन्छन् । चिकित्सकहरू किशोरावस्थामा समेत उच्च रक्तचापको समस्या भोगिरहेकाको सङ्ख्या बढिरहेकोमा चिन्ता व्यक्त गर्छन् । उच्च रक्तचापसँगै जोडिएको भनिने मधुमेहका दीर्घरोगी पनि बढ्दै गएको देखिन्छ ।
अस्वस्थ खानपिन, शारीरिक व्यायामको कमी, अव्यवस्थित जीवनयापन, सामाजिक सञ्जालको अत्यधिक प्रयोगको कारण किशोरकिशोरी र युवा यस्ता समस्याबाट पिरोलिएका छन् । नेपाल सरकारले स्वास्थ्य बिमाबाट उपलब्ध गराउने औषधिमध्ये सबभन्दा बढी खपत पनि उच्च रक्तचाप र मधुमेहजस्ता रोगका औषधि हुने गरेको तथ्याङ्कले देखाएको छ ।
युवायुवतीहरू मानसिक समस्याबाट पनि बढी प्रभावित रहेको स्वास्थ्य केन्द्रका आँकडाले देखाएको छ । कोभिड महामारीले संसारभर नै मानसिक रोगी बढाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । महामारीको क्रममा सञ्चारमाध्यममा लगातारका नकारात्मक खबर, आर्थिक जीवनमा अवरोध, असन्तुलित सामाजिक जीवन, अलगाव र एक्लोपना तथा आफन्तको वियोगले धेरै मानिस मानसिक समस्याले पिरोलिएका छन् ।
महामारीको क्रममा भएका बन्दाबन्दीमा लामो समय घरभित्र बसेर सामाजिक सञ्जालमै रुमलिने, अति तनाव लिने, नियमित व्यायाम नगर्ने, खानपिनमा ध्यान नदिँदा पनि उच्च रक्तचाप र मधुमेहको समस्या बढेको हो । ५० वर्षभन्दा माथिका हरेक महिला र पुरुषमा यो समस्या झन्डै सामान्य जस्तै बन्दै गएको देखिएको छ ।
त्यस्तै खानपिन र खाने बानी व्यवस्थित बनाउन नसक्दा ग्यास्ट्राटिसका विरामी पनि बढ्दै छ । त्यस्तो त व्यङ्गात्मकरूपमा ग्यास्ट्राटिसलाई नेपालको ‘राष्ट्रिय रोग’ पनि भनिन्छ । समयमा नियमित ठीक्क मात्रामा खानपिन नगर्ने अथवा यसबारे ध्यान नदिने नेपालीको बानीप्रति लक्षित गरी यसो भनिएको हुन सक्छ । अझ ग्यास्ट्राटिसलाई गम्भीरतापूर्वक नलिने मानिस पनि धेरै भएको स्वास्थ्यकर्मीहरूको अनुभव छ । त्यसै कारणले समयमा ग्यास्ट्राइटिसको उपचारमा ध्यान नदिँदा रोग बल्झिएर अरू घातक रोगका रोगी बन्नुपरेको मानिस धेरै छन् ।
न्युन थाइरोइड (हाइपो थाइरोइड) को समस्या भोगिरहेका बिरामी विशेषतः महिलाहरूको सङ्ख्या पनि बढेको देखिन्छ ।
लगातार लामो समय कम्प्युटर र मोबाइल जस्ता विद्युतीय स्क्रिन हेर्ने बानीले आँखा, टाउको, ढाड दुख्ने समस्या झेलिरहेका मानिस पनि बढ्दैछन् । चस्माको बिक्री विगतको तुलनामा बढेको चस्मा पसलका व्यवसायीहरूले जानकारी दिएका छन् ।
अव्यवस्थित सहरीकरणले सडक दुर्घटनाको सङ्ख्या पनि बढ्दा हाडजोर्नी र नसारोगका बिरामी पनि तुलनात्मकरूपमा बढेको छ । युवाहरू दुर्घटना र काम गर्ने ठाउँमा हुने दुर्घटनाका कारण यस्ता समस्याबाट ग्रसित छन् भने ज्येष्ठ नागरिकहरूको लागि नियमित उमेर सुहाउँदो व्यायामको अभाव हुँदा पनि यस्तो समस्या बढेको छ । भक्तपुरका अधिकांश मानिस दशकअघिसम्म पनि कृषिमा निर्भर थिए । तर, सहरीकरणसँगै आज जग्गा जमिन सबै बजार र बस्तीमा परिणत हुँदैछन् । फलतः कृषियोग्य जमिन घटेको छ । अर्थतन्त्रको दिशा बदलिएको छ । खेती किसानी गर्ने मानिस घट्दो छ । नियमित श्रम नगर्दा शरीरमा नशाका समस्या पनि बढ्दै गएको देखिएको छ । त्यसकारण भक्तपुरमा पछिल्लो समय फिजियोथेरापी क्लिनिक पनि छोटो समयमा धेरैको सङ्ख्यामा खुलेका छन् ।
ज्येष्ठ नागरिकमा बढेको स्वास्थ्य समस्या दीर्घ दम खोकी हो । चिकित्सकीय भाषामा यसलाई सीओपीडी भनिन्छ । प्रदुषण, धुमपान, हावा राम्ररी नचल्ने कोठामा बस्ने बानीले यो समस्या अझ बढेको छ ।
पछिल्लो समय कोभिड–१९ बाहेक भक्तपुरमा सरुवा रोगको रूपमा छाला रोग, टाइफाइड र आउँ आदि देखिएको अस्पताल, मेडिकल, स्वास्थ्य केन्द्र र औषधि पसलमा गरिएको सोधपुछबाट देखिएको छ ।
भक्तपुर जिल्लामा स्थापित १० भन्दा बढी अस्पतालमध्ये दुई अस्पताल नेपालकै विशिष्ट अस्पतालहरू छन्– भक्तपुर क्यान्सर अस्पताल र सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र । यी दुवै अस्पतालले देशमा अन्तर्राष्ट्रिय स्तरको उपचार दिइरहेका छन् । क्यान्सरका बिरामीको उपचार गरिरहेको भक्तपुर क्यान्सर अस्पताल उपचारका लागि आउने बिरामीमध्ये सबभन्दा बढी आमाशय, स्तन र पाठेघरको क्यान्सरका बिरामीहरू छन् । त्यसबाहेक पनि शरीरका विभिन्न अङ्गको क्यान्सरको उपचारको निम्ति आउने बिरामीहरू पनि बर्सेनि बढ्दैछन् । सहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा देशभरका गम्भीर बिरामीको उपचार भइरहेको छ । तथापि, मिर्गौलाका रोगीको नियमित डायलायसिसको निम्ति स्रोत साधन अपुग रहेको बताइएको छ ।
स्वास्थ्यसम्बन्धी जानकारी नभएर अथवा जानकारी भएर पनि नियमित ध्यान दिन नसक्दा, स्वस्थ खानपिनबारे ज्ञान नभएर अथवा गलत सूचना भएर पनि मानिसहरू अनावश्यकरूपमा विभिन्न स्वास्थ्य समस्याबाट पिरोलिएका छन् । कृषिमा आधारित अर्थतन्त्र क्रमशः सेवा र व्यापार व्यवसायमा आधारित बन्दै गएपछि मानिसले आवश्यकताभन्दा बढी खाने, अस्वस्थकर खानेकुरा खाने, मिसावट भएका खानेकुराको सेवन आदि समस्याले सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ । प्रातःकालीन व्यायाम र हिँड्डुल गर्ने मानिसको सङ्ख्या बढे पनि धेरै मानिस अझै पनि नियमित व्यायाम गर्दैनन् । त्यसले पनि अनेकन थरी स्वास्थ्य समस्याले सर्वसाधारण पीडित छन् ।
स्वास्थ्य राम्रो भए जीवन सहज र सफल हुने गर्छ । त्यसको निम्ति सबैले आफ्नो स्वास्थ्यप्रति सचेत भई स्वस्थ रहने निरन्तर प्रयास गर्नुपर्छ । सकारात्मक सोचको विकास, नियमित व्यायाम, आवधिक स्वास्थ्य परीक्षण, खानपिनमा विशेष सजगताले स्वस्थ र सुखी रहन मद्दत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *