भर्खरै :

षड्यन्त्रकारीहरू झूटको खेती गर्छन्

स्थानीय तहको निर्वाचनताका आफूलाई ठूला र शक्तिशाली भन्ने दलका नेता र कार्यकर्ताहरूले नेमकिपालाई भक्तपुरबाट पत्तासाफ या शून्यमा झार्ने अठोट गरेका थिए । कतिले नेमकिपाको धरौटी जफत गर्ने बताएका थिए । कतिले यो कुरालाई विश्वास गरेर नेमकिपाको पक्षमा मतदान गरेनन् भने कतिले त्यसलाई कल्पनाकै धुन सम्झे र नेमकिपाको मादल चिह्नमा छाप राखे । नयाँ समूह बनाएर उम्मेदवारी दिएका केही व्यक्तिहरू जसरी भए पनि नेमकिपालाई हराउनुपर्छ भनेर लागे । नेमकिपालाई हराउनुपर्छ भन्ने कुरा सुनेर कति लहैलहैमा लागे । कति भक्तपुरमा गठबन्धन नेमकिपाविरूद्ध हो भनी लागे ।
षड्यन्त्रकारीहरू झूटको खेती फलाक्छन्, भए नभएका बखान गरेर मत तान्ने कोशिश गर्छन्, परिवारमा कुरा लगाएर विवाद ल्याउने र मत विभाजन गर्ने कोशिश गर्छन् । नेमकिपाको विरोधमा निर्वाचनको बेला यस्ता गतिविधि र प्रचार नभएको होइन । राजनीतिमा नलागेका, राजनीति नबुझेका र राजनीति बुझेर पनि बुझ पचाएका व्यक्तिहरूले यो पटक भक्तपुरमा नेमकिपा हार्ने भयो भनेर दङ्ग भएका साथी साथीबीच खुसी बाँडे । उनीहरूको कुरा सुनेर नेमकिपाका केही शुभचिन्तकहरूले साँच्चै हार्ने हो कि भनी चिन्ता व्यक्त गरे । निर्वाचनको परिणाम आएपछि उनीहरू सबै नजवाफ भए । नेमकिपाका उम्मेदवारहरूको होइन अन्य दल र समूहका व्यक्तिहरूको धरौटी नै जवाफ भयो, हराउने कुरा त कुन चराको नाउँझैँ भयो ।
जेठ ३ गते प्रकाशित नागरिक दैनिकले लेख्यो– ‘भक्तपुरमा विपक्षी सबैको जमानत जफत ।’ सोही दिनको नयाँ पत्रिकाले लेख्यो– ‘भक्तपुरको मेयरमा १४ उम्मेदवार, काङ्ग्रेस र एमालेसहित १३ को धरौटी जफत ।’ अन्नपूर्ण दैनिकले लेख्यो– ‘भक्तपुर अर्थात् नेमकिपा, जहाँ उसले सबै पदमात्रै जितेन, बाँकीको जमानतै जफत गरायो ।’ सोही पत्रिकामा भक्तपुर नगरपालिका नवनिर्वाचित मेयर सुनिल प्रजापतिको भनाइ छापियो– “नेपाल मजदुर किसान पार्टीले यहाँको जनताको मर्म बुझेको छ । हामीले जनताको लागि काम गर्ने हो र अहिलेसम्म काम गरेरै उहाँहरूको मन जितेका छौँ । घोषणापत्र हेरेर जनताले मत दिएका छन् । हामीले पनि सबै प्रतिबद्धता पूरा गरेका छौँ । जतिसुकै दुःख कष्ट सहेर पनि इमानदार र पारदर्शी काम गरेका छौँ ।”
जेठ ३ गतेकै ‘राजधानी’ दैनिकले लेख्यो, ‘भक्तपुरमा नेमकिपाको क्लिन स्विप’, ‘काङ्ग्रेस, एमालेको समेत जमानत जफत ।’ राजधानीमा लेखिएको छ– ‘नेमकिपाले सुशासन, पारदर्शिता, विकास निर्माणलगायत शिक्षा, स्वास्थ्यमा उदाहरणीय काम गर्दै यसपालिको स्थानीय तहको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी तथा गठबन्धनका प्रत्यासी एक काङ्ग्रेसका उम्मेदवार राम कासुलाको समेत जमानत जफत गरेको छ ।’ निर्वाचनको बेला गलत प्रचार गरेका व्यक्तिहरूको निम्ति यी भनाइले भित्तेजवाफ दिएको प्रस्ट छ । यसैले उनीहरू आजभोलि कालो मुख देखाइ शिर निहुरेर हिँड्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *