भर्खरै :

बदर मतले देखाएको मतदाता शिक्षा अभाव

हालै सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । मतगणना जारी रहँदा बदर मतको सङ्ख्याले मतदाता शिक्षाको कमजोरीलाई उदाङ्गो पारेको छ । यसरी बढी सङ्ख्यामा मत बदर भएका पालिका भने गाउँ र दुर्गम क्षेत्रका भन्दा सहरी क्षेत्रका वा महानगरका बढी छन् । विराटनगर महानगरपालिकामा बुधबार बिहानसम्म ४० हजार २७२ मत गणना सकिसक्दा प्रम्खमा १० हजार ३७७ र उपप्रमुखमा १५ हजार ६३७ मत बदर भएको निर्वाचन कार्यालयले जनायो । त्यस्तै काठमाडौँ, ललितपुर, जीरगञ्ज, पोखरा महानगरपालिकामा पनि उल्लेख्य सङ्ख्यामा मत बदर भएको समाचार आएका छन् । मतदाताहरूले जानेर बुझेर भन्दा पनि लहडमा अतार्किक हिसाबले मतदान गरेको पाइएका छन् ।
निर्वाचनमा एउटै पदमा अलग अलग पार्टीका र स्वतन्त्र उम्मेदवारहरूलाई मत दिने सोचाइ राखेका कारण धेरै सङ्ख्यामा मत बदर भएको बताइएको छ । त्यस्तै उम्मेदवार नै नभएका चुनाव चिह्नहरूमा छाप लगाइएको पाइएको छ । कतिपय मतदातालाई आफूले मतदान गर्न चाहेको उम्मेदवारको चुनाव चिह्नसमेत थाहा नभएको पाइएको निर्वाचनमा खटेका कर्मचारीहरूले जानकारी साझा गरेका छन् । यसमा निर्वाचन आयोगसँगै राजनीतिक दलका नेता–कार्यकर्ताहरूले समेत मतदाताहरूलाई मत बदर हुनसक्ने विषयमा राम्ररी बुझाउन नसकेको छर्लङ्ग भएको छ । केही मतदाताहरूले भने मत बदर गर्ने नियतले नै अनेकौँ निर्वाचन चिह्नहरूमा मनलाग्दी छाप लगाएको पनि देखिएका छन् । तर बदरमतमध्ये अधिकांशमा एउटै पदका लागि दुई वटा चिह्नमा छाप लगाएको भेटिएकोले यसलाई मतदाता शिक्षाको अभावकैरूपमा लिनु उचित हुनेछ । यसमा काठमाडौँमा बसेर र विभिन्न तालिम गोष्ठीहरूमा पर्याप्त समय खर्चेका निर्वाचन आयुक्तहरू र निर्वाचन आयोगका कर्मचारीहरूको सबैले बुझेकै हुनुपर्छ भन्ने मनोगत धारणा मूल कारण हो । निर्वाचनको खर्च कटौती गर्ने ध्येयले पनि यसपालि घर–घर गएर स्वयम्सेवकहरूले मतदान गर्न सिकाउने मतदाता शिक्षा दिने व्यवस्थालाई हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *