भ्रष्टाचारी र जघन्य अपराधीलाई मृत्युदण्डको सजाय आवश्यक छ
- आश्विन १९, २०८३
२०७९ को स्थानीय तहको निर्वाचन भर्खर सम्पन्न भयो । निर्वाचनमा नेपाल मजदुर किसान पार्टी पनि सक्रिय भयो । निर्वाचनपछि पनि आफ्नो सङ्गठनलाई व्यापक कामदार जनतामाझ विस्तार गर्नु आवश्यक छ । विभिन्न स्थानमा स्थानीय तहमा काङ्ग्रेस र एमाले विजयी भए पनि मतदातामा सन्तुष्टी छैन । देशका धेरै स्थानीय पालिकामा मतदाताले शासक दलको लोभलालचमा परेर आफ्नो अमूल्य मत देशद्रोही अपराधीहरूलाई सुम्पेका छन् । पैसा र झूटको भरमा जितेर आउने जनप्रतिनिधिहरूले देश र जनताको सेवा गर्नसक्दैनन् ।
शासक दलका उम्मेदवारहरूले निर्वाचनको समयमा मात्र आम जनतालाई सहयोग गरेको जस्तो गरे । उनीहरूको चरित्र र व्यवहार छेपारोको जस्तै परिवर्तन भएको देखियो । भोजभतेर, पैसा, जागिरजस्तो प्रलोभन देखाई अनैतिकरूपमा मत प्राप्त गरी विजय भएका जनप्रतिनिधिले भोलिको दिनमा मतदाताको हितमा काम गर्नुभन्दा आफ्नो फाइदाको निम्ति काम गर्नेछन् । विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा भौगोलिक विकटत छ । छरिएको बस्ती भएकोले शासक दलका नेता तथा कार्यकर्ताहरू आम मतदातालाई राजनीतिक र वैचारिकरूपमा सचेत पार्नुभन्दा निर्वाचनको समयमा मत खरीदको निम्ति मात्र गाउँ–गाउँमा जाने गरेको पाइन्छ ।
आम मतदाता सचेत र सङ्गठित नभएसम्म आफ्नो जीवनभर ती पहाड र हिमालको कुना कन्दरामा समानताको आवाज गुञ्जने छैन । एक पाकेट नुन र एक बोरा चामलको निम्ति गलत पार्टी र मानिसलाई भोट दिएसम्म देश अगाडि बढ्न सक्दैन । आजको निम्ति जनता राजनीतिकरूपमा सचेत हुनुपर्दछ । पटक–पटक त्यही दल त्यस्तै व्यक्तिलाई मतदान गरी नयाँ व्यवस्था र सुख पाउने आशा कसरी पूरा हुन्छ ? मतदाताले मत माग्न आउँदा दल र त्यसका उम्मेदवारलाई प्रति प्रश्न गर्नुपथ्र्यो । दिनभरिको भोको पेट, टन्टलापुर घाममा पिठ्यँुमा भारी, झिँगा भन्केको खाना, पिउने पानीको अभाव, एक गाग्री पानीको लागि घण्टौँको समय लाग्ने, बालबालिकाको लागि विद्यालय छैन, तैपनि त्यही दल र उम्मेदवारको पछि लाग्नु आश्चर्यको विषय रहेको छ । आफू पदमा रहिरहनका लागि चुनावको समयमा बाटो पिच गरिदिने र रसायनिक मल कारखाना खोल्ने सस्तो झूटो आश्वासनमा फस्नु आफ्नै खुट्टामा वन्चरो हान्नुजस्तै हो ।
सही वा राम्रो मानिस तथा दल निर्वाचित भएको खण्डमा जनताले सुखको अनुभूति गर्न पाउँथे । तर, गाउँका सोझा जनतालाई झूटो आश्वासमा फसाउन कुनै कसर बाँकी राखिएन । एमालेलाई भोट नदिए वृद्धाभत्ता नपाउने, काङ्ग्रेसले जस्तोसुकै अपराधीलाई पनि संरक्षण गर्ने, कहिल्यै नजित्ने नेमकिपालाई भोट दिएमा खेर जाने भनी झूटको खेती गरेका छन् । देशमा भएको सबै अपराध, देश हितविपरीत सम्झौता, महँगी, देशको विकराल परिस्थितिको जिम्मा शासक दलले नै लिनुपर्दछ ।
Leave a Reply