भर्खरै :

“नेमकिपा सिद्धान्तहीन गठबन्धनमा लागेको छैन”

भक्तपुर, ७ जेठ । सेवा निवृत्त शिक्षक समाज भक्तपुरको आयोजनामा भक्तपुर नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई एवं शुभकामना कार्यक्रम शनिबार सम्पन्न गरियो । दोस्रो कार्यकालका निम्ति पुनः निर्वाचित नगर प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा उहाँले भक्तपुरलाई उत्कृष्ट नगर बनाउन सेवा निवृत्त शिक्षक समाजलगायत सम्पूर्ण नगरवासीसँग हातेमालो गर्दै अघि बढ्ने वचनबद्धता प्रकट गर्नुभयो ।
कुर्सीको लागि विचारलाई बन्धक राखी गरिएको गठबन्धन सिद्धान्तहीन छ, नेमकिपा त्यस्तो गठबन्धनमा नलागेको प्रस्ट पार्दै उहाँले देशघाती एमसीसीको चुनावमा मात्र हैन, आगामी दिनमा पनि निरन्तर विरोध गरिरहनेमा जोड दिनुभयो ।
देशको असंलग्न परराष्ट्र नीतिविपरीत रूस–युक्रेन युद्धमा युक्रेनको पक्ष लिएर सरकारले गलत गरेको चर्चा गर्दै उहाँले अब नचाहेर पनि अमेरिकी साम्राज्यवादको पक्षमा उभिन बाध्य हुने र नकारात्मक परिणाम भोग्नुपर्ने बताउनुभयो ।
दोस्रो कार्यकालको पहिलो काम नगरवासीको लागि खानेपानीको समस्या समाधान गर्न केयूकेएलको कटुञ्जेको खानेपानी ट्याङ्की निरीक्षण गर्न गएको बताउँदै नगर प्रमुख प्रजापतिले नगरमा पानी पठाउन कुनै ढिलो नगर्न अनुरोध गरेको बताउनुभयो ।
विपक्ष राजनीतिक दलहरूबाट रचनात्मक आलोचनाको अपेक्षा गर्दै उहाँले भन्नुभयो, “हामी जनताको सेवामा समर्पित छौँ, हाम्रो काम खुला पुस्तक सरह पारदर्शी छ, हामी अनुभवीको अनुभव, बुद्धिजीवी विद्वत्वर्गको सल्लाह–सुझावको उचित कदर गर्छौँ ।”
स्थानीय निकायमा जनप्रतिनिधि नभएको बेलामा इथुलीमा ख्वप विश्वविद्यालयको लागि जग्गा अधिग्रहण गर्न लाग्दा त्यसबेला माओवादीहरूले विरोध गरे, अहिले त्यहाँ न विश्वविद्यालय बन्यो न किसानसँग जग्गा नै बाँकी रह्यो, सबै प्लटिङ भएको विगत सम्झँदै उहाँले अहिले पनि सञ्चालन भइरहेको नर्सिङ कक्षा माओवादी शिक्षामन्त्रीले रोकेको हुँदा शिक्षाप्रति माओवादी दृष्टिकोण कस्तो रहेछ भन्ने स्पष्ट हुन्छ, यो कोणबाट हेर्दा ख्वप विश्वविद्यालय रोक्ने प्रचण्ड नै हो भन्ने पुष्टि हुन्छ भन्नुभयो ।
नेमकिपाले मल्लकालीन ९९ चोक बनाउने सपना साँचेको हुँदा अदालत चोखा तुमचोमा सार्न लागेको उल्लेख गर्दै उहाँले चुनावमा आफूहरूको कुनै पैसा खर्च नभएको बताउनुभयो ।
ठूला भन्ने पार्टीहरूले साना–साना काम पनि गर्न नसकिरहेको अवस्थामा हामी सानो पार्टीले अरूलाई अनुकरण गर्न योग्य काम गरेका विभिन्न उदाहरणहरू उहाँले दिनुभयो ।
निर्वाचनमा घोषित प्रतिबद्धताहरू क्रमशः पूरा गर्दै जाने कुरामा विश्वस्त हुन आग्रह गर्दै उहाँले आयोजकप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा पुनःनिर्वाचित उपप्रमुख रजनी जोशीले अग्रजहरूकै पथ पछ्याउँदै आफूहरू अघि बढ्ने बताउँदै चलिरहेको नर्सिङ कक्षा रोक्नु निकृष्ट काम भनी टिप्पणी गर्नुभयो ।
सम्पदा संरक्षणका कामहरू अझै धेरै गर्न बाँकी रहेको चर्चा गर्दै उहाँले राष्ट्रिय कला सङ्ग्रहालय भएको भवन मल्लकानीन शैलीमै बनाउन लागेको जानकारी दिँदै जन्मदेखि मरणसम्मको संस्कारमा भनपा नगरवासीको साथमा रहेको बताउनुभयो ।
नवनिर्वाचित वडाध्यक्षहरूको तर्फबाट वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले निवृत्त शिक्षक समाजबाट नगरको शिक्षा क्षेत्रमा सहयोगको अपेक्षा गरेको भन्दै नयाँ पुस्तामा नैतिक शिक्षा कम हुँदै गएकोमा सबैले चिन्तन गर्नुपर्ने बताउनुभयो ।
आयोजक समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवां, सदस्यहरू ज्ञानसागर प्रजापति, रत्नकेशरी कक्षपति र तुल्सीराम ग्वाछाले बधाई एवं शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई खादा ओढाई सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *