भर्खरै :

स्कूलका छात्रछात्राहरूले गरे मुठीदान

भक्तपुर, ७ जेठ । एभरेष्ट इङ्गलिश स्कूल भक्तपुरका विद्यार्थीले मुठीदान गरेका छन् । विद्यार्थीमा दानको भावना जगाउन मुठीदान गराएको स्कूलले जनाएको छ ।
बुद्ध संवत् २५६६ को बुद्ध जयन्तीको अवसरमा स्कूलमा प्ले ग्रुपदेखि कक्षा १० सम्मका एक हजार दुई सत्र्न्दा बढी विद्यार्थीले दान गरेका हुन् । विद्यार्थीले आ–आफ्नो गच्छेअनुसार भेटी (पैसा), बिस्कुट, चामल, फलफूल दान गरेका थिए ।
मुठीदान कार्यक्रमका लागि स्कूलले भक्तपुरको इनाचोस्थित मुनिविहारमा रहेका भिक्षु तथा श्रामनेरहरूलाई निमन्त्रणा गरेको थियो । दान लिनका लागि त्यहाँका ३७ जना भिक्षु तथा श्रामनेरहरू स्कूल पुगेका थिए ।
स्कूलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीमा दानको भावना जागृत गराउने उद्देश्यले प्रत्येक वर्ष बुद्ध जयन्तीको अवसरमा विद्यार्थीलाई मुठीदान गराउँदै आएको बताउनुभयो ।
२०७१ सालदेखि प्रत्येक वर्ष विद्यार्थीले मुठी दान गर्दै आएको स्कूलले जनाएको छ । यो बीचमा कोरानाको कारणले दुई वर्ष यो कार्यक्रम स्थगित भएको स्कूलले जनाएको छ ।
दान गर्नुअघि विद्यार्थीले हिंसा नगर्नु, झूटो नबोल्नु, व्यभिचारी नबन्नु, चोरी नगर्नु, सुरापन (मादक पदार्थ नखानु) नगर्नु भन्ने बुद्धको सन्देशसहित प्रार्थना गरेका थिए ।
स्कूलकी परियति शिक्षा संयोजक सुदिपा शाक्यले २०७१ सालदेखि स्कूलमा कक्षा ५,६ र ७ का विद्यार्थीलाई परियति शिक्षा अध्यापन गर्दै आएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *