भर्खरै :

नाटकः एक छलफल

नाटकको उद्देश्य
साहित्यमा उद्देश्यको भेद भएजस्तै नाटकको उद्देश्यमा भेद रहनु स्वाभाविक कुरा हो । प्राचीन भारतमा राजा महाराजा वा ईश्वरप्रति भक्ति र रसको प्रचार नै नाटकको उद्देश्य हुन्थ्यो । त्यसबाट जनतालाई ‘धर्मको अफिम’ ले उठ्न दिँदैनथ्यो । तर, साहित्यमा नाटकको हाँगाबाट नै आफ्नो अभिव्यक्ति राम्रोसँग खोलेर भन्न सकिने हुन्छ ।
नेपाली वा नेपालभाषाको क्षेत्रमा अहिले सरल भाषामा अथवा जनताले बुझ्ने भाषामा जनताको समस्यालाई प्रस्तुत गर्ने कार्य हुँदै आएको छ । अब त्यसको समाधानको निम्ति जनतालाई सङ्गठित र शिक्षित पार्नु नै नाटकको उद्देश्य हुनुपर्दछ ।
विद्वानहरूको मतअनुसार संस्कृत नाटकहरूको उत्पतिको कारण धार्मिक गतिविधि थियो । संस्कृत साहित्यमा नाटक विधा साहित्य जतिकै पुरानो भन्न सकिन्छ । ऋग्वेददेखि नै प्रश्न–उत्तर वा छलफल सुरू भएको थियो । यसकारण, भारतीय नाटकको प्राचीनताबारे कुनै प्रश्न छैन ।
हिन्दी साहित्यमा संस्कृत साहित्यको परम्परागत छाप भएर पनि पश्चिमेली वा आधुनिक साहित्यको पनि प्रभाव परेको छ । त्यसमा राजनैतिक र सामाजिक सङ्घर्षका छिटाहरू पनि परेका छन् पश्चिमी साहित्यमा अर्थात् युरोपेली भाषाका साहित्यहरूमा ग्रीस र रोमका नाटकहरूको पूर्ण प्रभाव छ । ग्रीस र रोमका नाटकहरूमा पनि धार्मिक र राजा–महाराजाहरूको छाप भए पनि ती नाटकहरूमा दुखान्त (ट्रेजेडी) र सुखान्त (कमेडी)ले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । साथै पश्चिमी नाटकले समाजको दैनिक जीवन र साधारण जनताको बारेमा प्रतिनिधित्व गर्न थाल्यो । त्यही प्रभाव हिन्दी र नेपाली साहित्यमा पनि परेको हो ।

नाटक के हो ?
नाटक साहित्यको सबभन्दा महत्वपूर्ण र विशाल (व्यापक) हाँगा हो । जनताको माझमा जान, सुन्ने (श्रव्य) र पढ्ने (पाठ्य) साहित्त्न्दा नाटक सबभन्दा जिउँदो माध्यम हो । गीत, कविता, कथा, निबन्ध, उपन्यास आदिमा बयान गरिएका कुराहरू मनमा गुनेर या कल्पना गरेर बुझ्नुपर्ने हुन्छ, हेरेर बुझ्न पाइन्न । तर, नाटकमा भने बयान गरिएका कुराहरू आफ्नै आँखाले सजिलैसित हेरेर बुझ्न सकिने हुन्छ । नेपालजस्तो सांस्कृतिक स्तर नउठिसकेको वा शिक्षा प्रचार नभइसकेको देश र समाजमा सुन्ने र पढ्ने साहित्त्न्दा नाटक जस्तो हेर्ने साहित्य सा¥है लोकप्रिय हुन्छ ।
हेर्ने साहित्य (काव्य) नाई नाटक भनिन्छ । नाटक शब्द ‘नट’ र ‘नृत्य’ धातुबाट आएको देखिन्छ । ‘नट’ र ‘नटना’ को अर्थ नाच्नु हो । सबै ‘नट’ माने नाच्ने वा अभिनेता हुन्छ । नेवारी भाषामा ‘नाच’ लाई ‘प्याखं’ भनिन्छ । नाच्ने वा अभिनेतालाई ‘प्याखं मोग’ भनिन्छ । पर्दावाल ‘नाटक’ लाई ‘ख प्याखं’ भनिन्छ । ‘ख’ माने दबु वा मञ्च हो । यसको अर्थ नेवारी भाषामा ‘ख प्याखं’ को अर्थ ‘पर्दावाल नाच’ वा ‘नाटक’ हो ।
कथा र उपन्यासमा धेरै लामो बयान गर्दा पनि बुझ्न गा¥हो कुरालाई नाटकमा छोटो हाउभाउ ‘अभिनय’ ले प्रस्ट्याई दिन्छ । कथा र उपन्यासमा बयान गरिएका पात्र र घटनाहरूलाई मनमा गुनेर र कल्पना गरेर बुझ्नुपर्ने हुन्छ भने नाटकमा पात्रहरूको कुरा गराई, हाउभाउ, पोशाक, गतिविधि आदिको प्रत्यक्ष नक्कलले विषयवस्तुलाई जिउँदो वा साँच्चिकै जीवनका घटनाहरूजस्तो अनुभव गराइ दिन्छ । यसरी नाटकले सजिलो र बुझ्ने ढङ्गले वास्तविक जीवनलाई दबुली वा रङ्गमञ्चमा उभ्याइदिन्छ । दर्शकहरू सबै आफूलाई त्यसका हिस्सेदार सम्झन पुग्छन्, नाटकका पात्रहरूसँगै तिनीहरू हाँस्छन् र रून्छन् ।
तर, नाटक पनि हेर्ने, सुन्ने र पढ्ने हुन्छ । गद्य र पद्यमा पनि हुन्छ । यहाँ हामी हेर्ने नाटकको छलफल गर्दै छौँ ।
नाटकलाई साहित्यको अरू हाँगाभन्दा व्यापक भन्नुको अर्थ यसको मानव जीवन र त्यसका अनेक कलाहरूसँगको सम्बन्धले हो । नाटकमा अनेक पात्रहरूलाई प्रस्तुत गरेर समाजका वर्ग र विचारको प्रतिनिधित्व गराइएको हुन्छ । राजा–महाराजा, सामन्त, सिपाही, साहुमहाजन, मजदुर, किसान, शिक्षक, विद्यार्थी, केटाकेटी, स्वास्नीमान्छे, असल, खराब, वीर र काँतर आदि जीवनका रङ्गीचङ्गी प्रवाहलाई नाटकले अँगालेको हुन्छ । त्यस्तै दबु वा रङ्गमञ्च सिङ्गार्न त्यसले रुख, झारपात, पहाड, नदीनाला, घर र दरबार बनाएर चित्रकला र वास्तुकलालाई सहयोग लिन्छ । नाच र गीतले नृत्यकला र सङ्गीतलाई अँगालेको हुन्छ । पोशाक र अनुहार मिलाउँदा (मेकअप) शिल्पकला र मूर्तिकलालाई समेत समावेश गर्नुपर्ने हुन्छ । यसप्रकार नाटक साहित्यको सबभन्दा व्यापक विधा हो ।

नाटकका तत्वहरू
कथा र उपन्यासमा जस्तै नाटकमा पनि कथानक वा कथावस्तु एक आवश्यक तत्व हुन्छ । त्यसलाई अङ्गेजी भाषामा प्लट भनिन्छ । नाटकको उद्देश्यअनुसार नाटक एक कथामा आधारित हुन्छ । अर्को शब्दमा नाटक दृश्य र घटनाहरूको एक फूलमाला हो । त्यो नाटक सानो रूपमा सुरू भएर विकास हुन्छ र अन्त हुन्छ । त्यो अन्त सुखान्त पनि हुन्छ, दुखान्त पनि । उद्देश्य पूरा भएको, विजय पाएको वा खुसी भएर मेलमिलापमा अन्त भएको नाटकलाई सुखान्त भनिन्छ भने उद्देश्य पूरा नभएको, हार भएको, बिछोड, हत्या र मृत्युजस्तो दुःखमा अन्त भएकोलाई दुःखान्त नाटक भनिन्छ । ग्रीसेली भाषाका काव्य मर्मज्ञहरूका अनुसार दुःखान्त नाटक धेरै मर्मस्पर्शी र स्थायी प्रभाव पार्ने भएकोले ग्रीसेली नाटक दुःखान्तप्रिय देखिन्छन् । एगामेनन, एन्टोग्नी, राजा इडिपस आदि यसका उदाहरण हुन् । अङ्ग्रेजी साहित्यमा शेक्सपियरका ‘मैक्वेथ’, ‘जुलियस सिजर’ र ‘रोमियो र जुलियट’ दुःखान्त नाटक हुन् । बालकृष्ण समको ‘अन्धवेग’, ‘मुटुको व्यथा’, ‘भीमसेनको अन्त्य’, ‘अमर सिंह‘, ‘प्रेमपिण्ड’ त्यस्तै हुन् । आलोचक हृदयचन्द्र सिंह प्रधानका अनुसार पछि संयोग वा मेलमिलाप भए पनि धेरै धेरै दुःख सहँदा भित्रको आँसु सुक्न नपाउँदै टुङ्गेको नाटकलाई पनि दुःखान्त नाटक नै भन्ने मत पनि छ । रामायण यसको उदाहरण हो ।
सुखान्त नाटकमा शेक्सपियरको ‘भेनिसको महाजन’, बालकृष्ण समको ‘मुकुन्द इन्दिरा आदि हुन् । कथावस्तुबारे पुर्वेली र पश्चिमेली दृष्टिकोणमा एकरूपता छैन । तर, धेरै ठूलो भेद पनि देखिन्न । अचेल पश्चिमी दृष्टिकोण नै बढी प्रचलित देखिएको छ । त्यसअनुसार कथावस्तुमा सुरू, विकास, चरमसीमा, चढाइ र अन्त हुने गर्दछ ।
नाटकमा दुई पक्ष हुन्छ–मुख्य पात्र (हिरो) र विरोधी पात्र (भिलेन) । दुई जनाले दुई दृष्टिकोण अँगालेको हुन्छ । तिनीहरूको सङ्घर्षबाटै नाटक सुरू हुन्छ ।
दोस्रो अवस्थामा त्यो सङ्घर्ष झन् फराकिलो र गहिरिन थाल्दछ । त्यो एक सीमामा पुग्छ । त्यो सङ्घर्ष अब सबभन्दा चर्को सीमामा पुग्छ । त्यहाँ पुग्दा झन्डै हारजीतको अवस्था देखिन थाल्दछ ।
चौथो अवस्थामा सङ्घर्ष सिथिल भएर एक पक्षको विजयमा पुग्ने टुङ्गोमा पुग्छ ।
पाँचौँ अवस्थामा सङ्घर्षको अन्त हुन्छ । त्यो अन्त संयोग वा वियोगमा हुन्छ । तर, पूर्वी दृष्टिकोणअनुसार पहिलो अवस्थामा अर्थात् सुरूमा फल प्राप्तिको इच्छा जन्मिछ । दोस्रोमा फलप्राप्तिको इच्छा पूरा गर्ने प्रयत्न गरिन्छ । तेस्रो अवस्थामा उद्देश्य पूर्ति हुने आशा देखिन्छ । आशाको विश्वास चाहिँ चौथो अवस्थामा हुन्छ र अन्त वा पाँचौँमा गएर उद्देश्य पूरा हुन्छ ।
तर, मुख्य कथावस्तुमा उपकथा पनि जोडिने हुन्छ । कहिलेकाहीँ त्यो नाटकीय सुस्ताइ ‘ड्रामाटिक रिलिफ’ को रूपमा लिने गरिन्छ । नाटकमा बढी दुःखको भावले दर्शकहरूको दुःख अनुभव गर्ने शक्ति भङ्ग नहोस् वा तिनीहरूको धैर्य कायमै रहोस् भनेर बीच–बीचमा उपकथासमेत जोडिन्छ । त्यो त कहिलेकाहीँ हास्यव्यङ्ग्य पनि हुन्छ । अर्कोतिर मुख्य कथासित सम्बन्धित पनि हुने गर्छ ।

पात्रहरू
नाटकमा पात्रहरूद्वारा नै कथावस्तुलाई अगाडि लैजान्छ । त्यसमा कथा र उपन्यासमा जस्तो लेखक आफै अगाडि आउँदैन । पात्रहरूमार्फत नै लेखकले नाटकको उद्देश्य र विचारलाई अभिव्यक्ति दिन्छ । मुख्य पात्र र नायक नै नाटकका चालक वा जीवन शक्ति हुन्छ । कहिलेकाहीँ नाटक नै नायकको नाममा हुन्छ । पूर्व र पश्चिमी साहित्य वा नाटकमा राजा–महाराजा र पुराना समाजका वीरहरूले नै नायक हुने गर्छन् । तर, अहिले भने समाजमै भएका उथलपुथलमा मुख्यतया भाग लिने पक्षको प्रतिनिधिहरू नै त्यसका मुख्य नायक हुन्छन् । समाजको वर्गीय र राजनैतिक सङ्घर्ष नै आजको जल्दोबल्दो विषय हुनाले नायक र नायकविरोधी पात्रहरू धेरैजसो मजदुर, किसान, राजनैतिक कार्यकर्ता, नेता, वैज्ञानिक, लेखक, कवि, कलाकार, पुँजीपति र सामन्तहरू हुने गर्दछन् । तर, पूर्वका पुरानो नाटकको नायक भने माथिल्लो कुलमा जन्मेको, सबै गुण भएको र देवताजस्तो महान् व्यक्ति हुनुपर्छ । हो, त्यो समय दास मालिक र सामन्तहरूको थियो । …पुरानो नाटक साहित्यमा नायकका चार भेद बताएका छन्, जो चाखलाग्दा छन् ।
पहिलो, नायक धीरोदात्त हुनुपर्छ । त्यसको अर्थ हो मुख्य पात्र शक्ति, क्षमता, स्थिरता, दृढता, गम्भीरता, आत्मसम्मान र उदारताजस्ता गुणहरू भएको हुनुपर्छ । उसमा विनम्र, अहङ्कारहीन र रिस उठ्ने बेलामा पनि नहड्बडाउने हुनुपर्छ । आफ्नो प्रशंसा पनि नगर्ने हुन्छ ।
दोस्रो प्रकारको नायक श्रृङ्गारप्रेमी, सुख चाहने, कलाको ज्ञानी, कमलो मन भएको र स्थिर हृदय भएको हुनुपर्छ । त्यस नायकमा गाना बजाना र खेलकुदको सौख भएको हुन्छ । श्रृङ्गार रस वा माया प्रीतीको भावना भएको हुन्छ । त्यस्तो नायकलाई धीर ललित नायक भनिन्छ ।
सन्तोषी, शान्तिप्रिय, कमलो हृदय भएको र सुख खोज्ने नायकलाई धीर प्रशान्त नायक भनिन्छ । तेस्रो किसिमको नायकमा ब्राह्मण र वैश्य (विद्वान, व्यापारी र साहुमहाजन) आउँछ । चौथो किसिमको नायक हो धीरोद्धत नायक । घमण्डी, चञ्चल, रिसाहा, आफ्नो प्रशंसा मन पराउने विश्वासघाती र छलको प्रचुरता भएको नायक यस पङ्क्तिमा आउँछ । उसमा गुणभन्दा धेरै वैगुण हुन्छ ।
भनिन्छ, धीरोदत्त नायकको उदाहरण राम हो, धीर ललित नायक राजा दृष्यन्त हो, धीर प्रशान्त नायकको उदाहरण ‘मालती माधव’ को माधव हो र धीरोद्धत नायकको उदाहरण दुर्योधन हो ।
तर, एउटैमात्र स्वास्नी राख्ने वा पत्नीव्रत, धेरै प्रेमिका राखेर पनि मुख्य प्रेमिकालाई खुसी राख्ने, धेरै स्वास्नी राख्ने, लज्जा नभएको, नराम्रो चलन भएको र धेरै प्रेमिका राखेर पनि मुख्य प्रेमिकालाई खुसी राख्न खोज्ने चार प्रकारका नायकलाई क्रमशः अनुकूल, दक्षिण, धृष्ट र शठ नायक भनिन्छ ।
नाटकमा मुख्य पात्र वा नायकजस्तै नायिका पनि हुने गर्दछ । नायिकाहरू पनि नायकजस्तै भिन्न–भिन्न गुणका हुन्छन् । तर, नायिका नायकसँग मिल्ने किसिमकै हुनुपर्ने हुन्छ ।
त्यसबाहेक, नाटकमा नायक विरोधी (भिलेन), हँसाउने, नायकको विश्वासी वा सहयोगी, नोकर आदि पात्रहरू हुन्छन् । संस्कृत नाटकमा हँसाउनेहरूलाई ‘विदूषक’ भनिन्छ । ऊ नायकको नजिकको सल्लाहकार खन्चुवा ब्राह्मण हुन्छ । नायकको साथीलाई संस्कृतमा ‘बिट’ भनिन्छ । ऊ गानाबजानामा दक्ष र नायकको विश्वासिलो, कुरा गर्न सिपालु, नीति ज्ञान भएको र चलाख सेवक हुन्छ । नायकको नोकरलाई संस्कृतमा ‘चेट’ भनिन्छ ।
तर, आज नाटकमा सिपाही, पुलिस, गुप्तचर, विषकन्या, वेश्या, पत्रकार आदि प्रयोग हुन्छ । पहिले नारदले खेल्ने खेल आज अखबार र पत्रकारहरूले खेल्नैपर्छ ।

चरित्र चित्रण
कथा र उपन्यासमा जस्तै नाटकमा चरित्र चित्रण हुने गर्छ । पात्रहरूको चरित्रको चित्रणले नै नाटकलाई प्रभावशाली बनाउँछ । यसकारण, यसको महत्व हुन्छ । पात्रहरूको भित्री र बाहिरी भावनाहरूलाई उद्घाटन गरेर नै चरित्रको चित्रण हुने गर्छ । तर, कथा र उपन्यासमा भन्दा नाटकमा चरित्र चित्रण गर्नु गा¥हो हुन्छ । कथा वा उपन्यासमा लेखक आफै पात्रलाई सिंगार्छ । उसको बयान गर्छ वा टीकाटिप्पणी गर्छ । त्यहाँ लेखक आफैले बोलेर अनि गतिविधिको माध्यमद्वारा चरित्र चित्रण गरिन्छ ।

क) नाटकमा कुराकानीद्वारा नै धेरै कुरा खोज्ने भएको हुँदा कुराकानीबाट नै चरित्र चित्रण गर्ने गरिन्छ । जस्तै :–
राम : अहो, मित्र तपाईँ कहाँबाट ?
श्याम : म काठमाडौँबाट भर्खरै खरदार भइआएको छु – भूमि प्रशासनमा ।
राम : के पढेलेखेको छैन, जाबो खरदार बन्न ?
श्याम : बी.ए. पास त मैले पहिल्यै गरेको तर नातावाद कृपावादले गर्दा प्रमोसन पाइन्न । फेरि म झगडा पनि गर्दिँन ।
राम : ए हो, तपाईँ सानैदेखि अति सीधा हुनुहुँदो रहेछ ।

ख) नाटकमा कहिलेकाहीँ पात्र एक्लै हुन्छ । त्यसबेला ऊ आफै कराएर आफ्नो वर्णन गर्छ । त्यसलाई ‘स्वकल्प’ पनि भन्ने गर्छ ।
ग) पात्रको कामले पनि चरित्रलाई प्रस्ट पार्ने काम गर्दछ । राम्रा–राम्रा काम गराएर पात्रलाई राम्रो चरित्रको र तल्लो काम गराएर तल्लो चरित्रको देखाइदिन्छ । केही मानिसहरू ‘गतिविधि’ वा ब्अतष्यल लाई नाटक मान्छन् । तर, त्यसो होइन ।
यसप्रकार नाटकमा आफ्ना पात्रहरूको चरित्रलाई बयान गरिन्छ । पात्रहरूको चरित्रको राम्रो व्यवस्थाले नै नाटक प्रभावशाली र सफल हुन्छ । फितला पात्रहरूले नाटक नै फितलो हुन्छ ।

कुराकानी
कुराकानीको चलनबाटै नाटकको विकास भएको देखिन्छ । ग्रीक साहित्यमा पनि यही देखिन्छ । प्राचीन भारतीय साहित्यजस्तै ग्रीसका सुकरात र प्लेटोको साहित्यसमेत कुराकानीमा आधारित छ । त्यही कुराकानीबाटै नाटकको विकास भएको मानिन्छ । महाभारतजस्तो ठूलो काव्यसमेत कुराकानीद्वारा नै बयान गरिएको छ । नाटकमा कुराकानीले घटना सुरू गर्छ, चरित्र चित्रण गर्छ र नाटकलाई अगाडि बढाउँछ र अन्त्य पनि गर्छ । यसकारण, कुराकानी नै नाटकको प्राण हो ।
तर, नाटकमा कुराकानी दुई किसिमको हुन्छ । एउटा आफैमा कुरा गर्ने र दोस्रो पात्रहरूको बीचमा ।
पहिलो, आफैले कुराकानी गर्न दबुमा पात्र एक्लै हुनुपर्ने हुन्छ । आकाशलाई वा दर्शकलाई हेरेर उसले आफ्नो मनको कुरा पोख्छ । तर, चिनियाँ (अपेरा) मा भने मनको वा आफैसँग कुरा गर्दा गीत गाउँछ । पश्चिमी नाटकमा भने आकाशवाणी र भूत–प्रेतको सहारा लिएर मनको कुरा गराउँछ । सिनेमामा भने पात्रहरूलाई केन्द्रित गरेर मनमनै कुरा गराउने, पत्र वा लेखनी देखाएर वा धमिलो छायाँ देखाएर पात्रलाई एक्लै बोल्न दिने गर्छ । तर, लामो हुने गर्दैन ।
दोस्रो, सिङ्गै नाटक नै कुराकानीमै टुङ्गिन्छ । कुराकानीले ठाउँ र परिस्थितिलाई समेत बयान गर्छ । पर्दा र साधनकै अभावमा पनि । जस्तै कुनै एक पात्र मञ्चमा आउँछ र भन्न थाल्छ –‘अहो ।’ यो पाँचतले देवल, यो भैरवको मन्दिर, यो टौमढी टोल, वर्षौँ वर्षदेखि म जस्ताको तस्तै देख्दै छु । लौ पानी प¥यो, हावा चल्यो, सात पनि बज्यो होला, टाढा पुग्नु छ, म दौडन्छु ।’ यसरी त्यसले ठाउँ र परिस्थितिसमेत बताउँछ ।

देश, काल र परिस्थिति
नाटक दबुमा देखाउने साहित्य हुँदा देश, काल र परिस्थितिमाथि विशेष ध्यान दिनुपर्ने हुन्छ । प्राचीन वा ऐतिहासिक नाटक देखाउँदा सम्बन्धित देशको त्यसबेलाको विषय, बोलीचाली, पोशाक र ठाउँ मिल्नु आवश्यक छ । प्राचीन नाटकमा आधुनिक पोशाक, साधन र समस्या देखाउनु स्वाभाविक हुन्न । यसकारण, नाटकमा देश, काल, परिस्थितिको मेलको अति आवश्यक छ ।
प्राचीन ग्रीसेली विद्वानहरूको मतअनुसार नाटकमा ‘ठाउँको मेल’  ‘समयको मेल’ र कामको मेल’ हुनु आवश्यक छ । ‘ठाउँको मेल’ भन्नाले नाटकमा देखाउने ठाउँ एकै ठाउँको हुनुपर्छ । त्यसको अर्थ हो – दरबारभित्रको कुरा अथवा कुनै एक ठाउँभित्रै नाटक टुङ्गिनुपर्छ । कहिले काठमाडौँ, कहिले विराटनगर, कहिले कलकत्ता, कहिले पेचिइङ र कहिले जङ्गल, त्यसरी भद्रगोल हुनुहुन्न ।
पर्दाबिनाको मञ्चमा ग्रीसेली ढङ्गको ‘ठाउँको मेल’ आवश्यक हुन्छ । तर, पर्दा धेरै हुने मञ्चमा भने त्यो कठिनाइ पनि हुन्न । फेरि ग्रीसमा पहिले नगर राज्यको बन्दोबस्त हुँदा नाटकमा समेत ठाउँको सीमा बाँधिएको हुनुपर्छ । तर, अहिले सिनेमाले त त्यो सा¥है सजिलो बनाइदिएको छ । प्राचीन ग्रीसेली नाटकमा भने समूह गान (ऋजयचगक) द्वारा हृदय परिवर्तन हुन्छ ।
एगामेनन्, एन्टोग्नी, राजा इडिपस, इब्सनको ‘शत्रु’, कोमोरोको नाटक ‘चुँया’ आदि नाटकमा ‘ठाउँको मेल’ देखिन्छ । तर, शेक्सपियरको ‘म्याक्वेथ’ र अन्य नाटकमा पनि ‘ठाउँको मेल’ छैन ।
‘समयको मेल’ (ग्लष्तथ या तष्mभ) प्राचीन ग्रीसेली नाटकमा पालन गरिन्थ्यो । त्यसबेला नाटक दिनभर वा २४ घण्टाको हुन्थ्यो । यसकारण, त्यसमा समयको मेल हुनसक्थ्यो । समाज व्यवस्थामा परिवर्तन आउँदै गयो । दिनभर नाटक हेर्ने वा मनोरञ्जन गर्ने दास मालिक र सामन्तहरूको युग बित्यो । यसकारण, २–३ घण्टामा सिद्धिने नाटक सुरू भयो ।
‘समयको मेल’ भन्नाले नाटकमा ५–१०–२० वर्षको फरक–फरकको दृश्य देखाउनुहुन्न । बरू केही दिन र २४ घण्टाभित्रकै घटनाहरूको रूप हुनुपर्छ भन्ने ग्रीसेली नाटकको परम्परा थियो । तर, आज सिनेमाको विकासले ‘समयको मेल’ को सिद्धान्तलाई समेत बेकाम बनाइदिएको छ । एउटा दृश्य बालक कालको, अर्को दृश्य जवान बेलाको र तेस्रो दृश्य बुढो वा मर्ने बेलाको देखाइदिन्छ । यसप्रकार सिनेमाले नयाँ कलाको जन्म दियो । अब महाकाव्य र उपन्यासजस्तै नाटक पनि सम्पूर्ण जीवनको एक कथा बनेको छ । यसकारण, प्राचीन ग्रीसेली नियममा लचकपना ल्याएको छ ।
तर, प्राचीन चीनमा एउटै नाटक महिनौँ चल्ने रहेछ । भक्तपुरमा देखाउने धार्मिक नाटक पनि एक–दुई महिनाको हुन्छ । तर, कोमोरोको नाटक ‘चुँया’, शेक्सपियरको ‘म्याकबेथ’, ‘जुलियस सिजर’ आदिमा ‘समयको मेल’ देखिन्छ ।
‘कामको मेल’ (ग्लष्तथ या बअतष्यल) को अर्थ नाटकको कथानक श्रृङ्खलाबद्ध हुनु हो । उपकथाहरूबाट नाटकको मुख्य कथा नटुटोस् भन्नु हो । तर, भारतीय नाटकमा भने मुख्य कथानकलाई सहायक कथाबाट झन् उज्यालो पार्ने चलन छ ।
अङ्ग्रेजी साहित्य ‘नाटकको प्रवाहबाट आराम’ लिन पनि उपकथा वा हास्य जोड्ने चलन देखिन्छ ।

हाउभाउ
नाटकमा हाउभाउ वा अभिनयको ठूलो भूमिका रहन्छ । पश्चिमी साहित्यमा त्यसलाई नाटकको मुख्य तत्व नमाने पनि संस्कृत साहित्यमा त्यसको चार भेद देखाएका छन् ।
१) हात हल्लाउनु, अँध्यारोमा छामछाम र छुमछुम गर्नु, पौडी खेल्नु, घोडा चढ्नु, विभिन्न रसअनुसार हेराइमा फरक पार्नु, हाँस्नु, रूनु, लाज मानेर आँखा तल झार्नु आदि सबै शारीरिक अङ्गको अभिनयमा आउँछ । चिनियाँ नाटकमा पनि डुङ्गा चलाउनु, धान काट्नु, शस्त्र चलाउने अभिनयहरू हुन्छन् ।
शरीरको अङ्गको हाउभाउमा मुखको आकृतिको हेरफेर गर्नु पनि आउँछ । डराएको खुसीको भेदजस्तै मुखले हाउभाउ गरिन्छ ।
२) शरीरको अङ्गको अभिनयजस्तै बोलीको अभिनयलाई पनि महत्व दिइएको छ । विभिन्न किसिमका स्वरहरू निकाल्नु, बोल्नु, पाठ गर्नु, गाउनु आदि यसैमा आउँछ । स्वर शास्त्र (फोनेटिक्स) व्याकरण र छन्द आदि विभिन्न शास्त्रहरूलाई भिन्दाभिन्दै शब्दले बोलाउनु पनि यही बोलीको अभिनयमा आउँछ ।
(३) पोशाक, गहना लगाउने ढङ्ग र विभिन्न प्रकारको श्रृङ्गार र छोट–कोटलाई पनि आहार्य अभिनय भनिन्छ । फरक–फरक रङ्गका पात्रहरूलाई फरक–फरक लुगा लगाउनु पनि नक्कलबाजी हो । ब्राह्मण, क्षेत्री, देवता, सम्पन्न व्यक्ति अहिले सामन्त, पुँजीपतिहरू सेता वा गोरा वर्णका हुन्छन् । त्यसैअनुसार तिनीहरूको पोशाक र बन्दोबस्त हुन्छ । राजा–महाराजा हुने पात्रहरूसँग पहिले श्रीपेच र मुकुट, क्षेत्री वा लडाकूसँग तरबार र भाला आदि हुन्छन् ।
४) दुःख, उत्तेजना, कप, बस्तमद, शान्त र आँसु बगाउनेजस्ता हाउभाउ गर्नुलाई सात्विक अभिनय भनिन्छ । भावको अभिव्यक्ति गर्ने शिक्षालाई पनि सात्विक अभिनयको रूपमा लिइन्छ ।

दबु (रङ्गमञ्च)
नाटक खेलाउने वा प्रदर्शन गर्ने साहित्य हो । त्यसलाई देखाउनु, खेलाउनु वा प्रदर्शन गर्नुलाई मञ्चन गर्ने पनि भनिन्छ । नाटक देखाउन दबुको आवश्यकता हुने नै भयो । दबु कस्तो हुनुपर्छ, कता हुनुपर्छ र कत्रो ठूलो हुनुपर्छ भन्ने विषयमा पनि चर्चा पुराना साहित्यमा देखिन्छ ।
तर, अहिले सरलताको निम्ति नाटकको विषय, उपलब्ध ठाउँ र दर्शकहरूको सङ्ख्या हेरेर नै दबुको निर्णय गर्न सजिलो हुन्छ । नाटकमा घोडा दौड, लडाइँ र सभाको बन्दोबस्त छ भने दबु अलि ठुलै चाहिन्छ, लामो चोक छ भने लडाइँको एक कुनामा ठिक्कको मञ्च बनाइन्छ र दर्शकहरू धेरै अटाउने ठूलो ठाउँ छ भने मञ्च अलि ठूलै बनाउनुपर्दछ ।
कहिलेकाहीँ धेरै ठूलो ठाउँमा बिनापर्दाको ठाउँको ठीक बीचमा मञ्च बनाउने गर्छ । यसकारण, अहिले दबुको आकारप्रकार नाटक मण्डलीको स्थितिमा निर्भर गर्दछ ।
स्रोतः जनताको साहित्य
वर्षः ४२, वैशाख २०७२

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published.