यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सर्वसाधारण जनताले राज्यसँग अपेक्षा गर्ने धेरै कुरा छैनन् । पानी, बत्ती, बाटो र दुर्गन्धरहित बसोबास क्षेत्र । यी कुरामा पार्टी राजनीति प्रत्यक्ष गाँसिएको देखापर्दैन । त्यसो त राजनीति भनेकै त्यस्तो विषय हो यसले कसैलाई छोड्दैन । यसरी प्रत्येक मान्छे राजनीतिक मान्छे हो । राजनीतिले वास्तवमा नछोएको वस्तु नै हुँदैन यो विश्व ब्रम्हाण्डमा । सास फेर्नेदेखि नै सुरू हुन्छ राजनीति । कस्तो वातावरणमा सास फेर्न पाउँछ मान्छेदेखि यावत प्राणीले । यो प्रमुख कुरा हो । असल, प्रदूषणरहित वातावरण सास फेर्न पाएको मान्छे यद्वा प्राणी स्वस्थ हुन्छ, स्वस्थ मान्छे राज्यको ठूलो सम्पत्ति हो । अस्वस्थ मान्छे राज्यको निम्ति दायित्वमात्र हुन्छ, असल वातावरणका लागि राज्यको पहिलो ध्यान केन्द्रित हुनैपर्छ । सर्वसाधारण जनताले राज्यसँग अरू धेरै अपेक्षा गरेकै हुँदैन । जनता सरकारलाई मालपोत तिर्छ, समस्त उपभोग्य वस्तुमा कर तिर्छ । केका लागि ? शान्ति, सुरक्षा र स्वास्थ्यका लागि । यी दुवैथोकका लागि पानी चाहियो, उज्यालो चाहियो, अनि बत्ती चाहियो र चाहियो दुर्गन्धरहित बस्ती । तर, सरकारको ध्यान सर्वप्रथम यी चार कुरामा केन्द्रित हुनुपर्नेमा जे जसको नेतृत्वमा सरकार बने पनि त्यता ध्यान जाँदै जाँदैन । यदि जान्थ्यो भने किन तीव्र असन्तोष एवं छटपटी हुन्थ्यो र नेपाली जनतामा सरकार चलाउने राजादेखि राजनीति दलहरूको घैँटोमा घाम लागेको भए कहाँ यस्तो हुन्थ्यो र ?
स्वस्थ र स्वच्छ बस्तीको माग
बत्तीको अजस्र स्रोत पानी प्रशस्त छ देशमा । तर, सरकारको दूरदृष्टि नभएको कारण कैयौँ वर्ष त देश अन्धकार भइरह्यो तैपनि जनता सहेरै बसे । अझै उज्यालो नपुगेका धेरै ठाउँ छन् । त्यस्तै छ पानीको । देशमा पानी यथेष्ठ छ तर सरकार उत्तरदायी नभएकोले जनताले पानी खान पाएका छैनन् । मेलम्ची धेरै पछि विपना हुन लागेको थियो । फेरि के के नाममा सपना नै हुन लागेको छ । बाटो उस्तै छ । बाटो नभएको नेपालले पनि लामो समयसम्म निर्वाह गरेरै आएको थियो, सार्वभौम सम्प्रभुता सुरक्षित गरेरै आएको थियो । तर, आज युग बदलिएको छ । तसर्थ बाटो–सडक–नभई भएको छैन । तर, सरकार यो अनुभूति नै गर्दैन । अब रह्यो फोहोरलाई मोहोर बनाउने सीप । यही पृथ्वीमा कैयौँ देशका सरकारहरू फोहोरलाई मोहोर बनाइरहेका छन् । हामी मोहोरलाई फोहोर बनाइरहेका छौँ । न्युयोर्क, पेरिस, लन्डन, दिल्ली, पेचिङ कहाँ फोहोर उत्पादन हुँदैन र ? तर सफा राखेकै छन् आ–आफ्ना बस्ती र सहर ¤ हामी भने हाहाकार मच्चाइरहेका छौँ । फोहोरलाई मोहोर बनाउनेतिर हेर्दैनौँ । जनता आज राज्यको व्यवस्थापन गर्नैपर्ने फोहोरले राजधानी सहरसमेत डुङडुङती गन्हाउँदा पनि उचित बिसर्जनको व्यवस्था गर्न असमर्थ छ । हिजोका सरकारहरू जुन गतिमा थिए आजको पनि उस्तै छ । गति फेरिएको छैन । जनताले राज्य मागेका छैनन्, सरकारी ढुकुटी मागेका छैनन् । स्वच्छ र स्वस्थ बस्ती मागेका छन् । के त्यो अनुचित हो र ?
त्यो झन् अवसरवाद ?
तोकेको पैसा तिरेर बत्ती मागेको छ, पानी मागेको छ, बाटो मागेको छ । मागेको छैन राजनीतिको सिँहासन, मागेको छैन प्रधानमन्त्रीको तातो कुर्सी, मागेको छैन सिंहदरबार, न मागेको छ बालुवाटार र शीतल निवास नै । तपाईं पार्टी र पार्टीका नेताहरूमा एउटा उपचारै नहुने रोग लाग्यो त्यो हो आफूवाद एवं आफ्नावाद ¤ आफूबाहेक अरूलाई आफ्ना र आफ्नाबाहेक अरूलाई नगन्ने रोगको राजनीतिक उपचार के छ संसारमा ? यो संसारमा त्यस्तो उपचारको आविष्कार भएको छैन । यस्तो अवस्था पैदा भएको पनि थिएन । अब आज परिस्थितिमा परिवर्तन आउन खोजेको छ । राजनीतिक पार्टीका नेताहरूको र अझ पार्टीहरूको विरोधमा स्वतन्त्रको नाममा उम्मेदवारी दिने गैरराजनीतिक चरित्र विकसित हुन लागेको छ । कतिपय महानगर, उपमहानगर, नगर र गाउँपालिकाहरूमा स्वतन्त्रको नाममा उम्मेदवारी परे । राम्रो सङ्ख्यामा मत पनि प्राप्त गरे । यो केको सङ्केत हो ? स्वतन्त्रको नाममा कतै मुलुक निर्दलीयतातर्फ उन्मुख हुन लागेको त होइन ? भन्नेतर्फ पनि गम्भीर हुन जरूरी छ । म व्यक्तिगतरूपमा स्वतन्त्र उम्मेदवारीको पक्षमा उभिन मन गर्दिन । स्वतन्त्रको नाममा टुसाएर, उम्रिएर पार्टीको रूपमा उभिएको राजनीति पनि छ संसारमा । यस्तो आज स्वतन्त्र भन्यो भोलि निर्वाचित भएपछि अर्को कुनै पार्टीमा प्रवेश गर्ने प्रवृत्ति पनि छ यो संसारमा । सँगसँगै नयाँ पार्टी खोल्ने अभ्यास पनि छ । त्यो पनि अवसरवाद होइन र ?
पश्चातापको कुनै अर्थ रहँदैन
पार्टी राजनीति व्यापकरूपमा जनतामा जान सकेन । फलतः जनताको ठूलो समूहमा पार्टी राजनीतिप्रति नै असहयोग देखापर्न लागेको छ । उदाहरणका निम्ति भर्खरै सम्पन्न स्थानीय सरकारको निर्वाचनमा धेरै मतदाताले सहभागिता देखाएनन् अर्थात् भाग लिएनन् । यो केको सङ्केत हो ? यो वास्तवमा राम्रो लक्षण होइन । मतपत्र पनि मतदातामैत्री भएन । यति धेरै मत बदर भयो यसबारे गम्भीर एवं वास्तविक समीक्षा हुनुप¥यो । मेरो विचारमा पार्टीका नेताहरू स्वार्थी भए, लोभी भए र राजनीतिलाई कमाउने भाँडो बनाए । जनतालाई बेवास्ता गरे । वास्तवमा आफूमा काम गर्ने क्षमता पनि देखाउन सकेनन् । आफू बने देश बनाएनन् । पार्टीभित्र आफू पछि थुप्रै उत्तराधिकारी तयार गर्नुपर्नेमा आफूपछि आफ्नी पत्नी, छोरा वा छोरीमात्र नेतृत्व गर्नसक्ने नितान्त अप्रजातान्त्रिक परिवारवाद हावी भयो । जसले गर्दा सर्वसाधारणका निम्ति पहिलो आवश्यकता पानी, बत्ती, बाटो र सुस्वास्थ्यको स्थापना, उपलब्धता एवं निरन्तरतातर्फ राजनीति उत्तरदायी भएन । फलस्वरूप स्वतन्त्र व्यक्तिप्रति जनमन एकोहोरियो । यो पार्टी होइन व्यक्तिप्रति झुकाउ किंवा आकर्षण प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र कुनै तन्त्रप्रति पनि झुकाउ होइन, बरू मौन विरोध हो । यो आजको पार्टी होइन स्वतन्त्र व्यक्तिलाई मुलुकको राजनीतिक साँचो ताल्चा बुझाउने जुन प्रवृत्ति देखापरेको छ । अविलम्ब सच्याउनु जरूरी छ । यो अवसर गुम्यो भने पश्चातापको कुनै अर्थ रहँदैन ।
Leave a Reply