भर्खरै :

के देशमा सङ्घीय र प्रदेश सरकार छ ?

मकवानपुर, १३ जेठ । बाग्मती प्रदेशसभाको दसौँ अधिवेशन बैठक प्रदेश राजधानी हेटौँडामा शुक्रबारबाट सुरू भयो । बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले हेटौँडा अस्पतालमा नै मिर्गौला प्रत्यारोपण सुरू गर्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै यसको लागि धर्मभक्त माथेमा मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सहकार्य भइरहेको बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताललाई छुट्याएर दुवैको संस्थागत विकासको लागि प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले हेटौँडा अस्पताललाई कम्तीमा ३०० शय्या क्षमताको अस्पतालको रूपमा विकास गर्ने गरी काम भइरहेको उल्लेख गर्नुभयो । त्यस्तै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानकै लागि केन्द्र सरकारबाट स्वीकृति लिएर हेटौँडामा साढे १२ बिघा जमिनको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो
बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले देशको मुख्य आर्थिक उत्पादनको गतिविधिको रूपमा रहेको धान रोप्ने समयमा रासायनिक मलको हाहाकार भइरहेको उल्लेख गर्दै सङ्घीय सरकार र प्रदेश सरकारका कृषि मन्त्रीहरू कहाँ निदाइरहेका छन् भनी प्रश्न उठाउनुभयो ।
उहाँले केन्द्रीय र प्रदेश सरकारले समयमै पर्याप्त रासायनिक मल आपूर्तिको व्यवस्था नगरेकोमा विरोध र आक्रोश व्यक्त गर्नुभयो ।
एक हप्ताको अन्तरालमा इन्धनमा दुई पटक मूल्यवृद्धि गरी पेट्रोल लिटरको १८० पु¥याउनु सङ्घ सरकारको नेपाली जनताप्रतिको विश्वासघात भएको धारणा राख्दै उहाँले मूल्य समायोजन र कर कटौतीका यावत् उपायहरूमा कुनै ध्यान नदिई जनताको ढाड सेक्ने कार्यलाई जनताले सहन नसक्ने बताउनुभयो । एक महिना ढिलो गरी शैक्षिक सत्र सुरू हुँदा पनि ३५ लाख विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकिरहेको उल्लेख गर्दै उहाँले सरकार र सम्बन्धित निकायको बहानाबाजी सरकारको लज्जाहीनताको पराकाष्ठा भएको बताउनुभयो ।
सांसद गोसाईले राजनीतिशास्त्रमा नै नसुनिएको गठबन्धनतन्त्र देशमा र स्थानीय तहको निर्वाचनमा देखिएको बताउँदै असैद्धान्तिक गठबन्धन गरी चुनाव जित्नु प्रजातन्त्रको मूल्यमान्यताविपरीत रहेको बताउनुभयो ।
कर उठाउनेमा बाहेक जनताले देशमा सरकारको उपस्थिति रहेको अनुभूति गर्न नपाएको बताउँदै उहाँले देशमा कालोबजारी, भ्रष्टाचार, अनियमितताले नेपाली जनता आक्रान्त रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *