भर्खरै :

‘सय वर्षपछिको भक्तपुर’ परिकल्पनालाई साकार बनाउने उद्देश्यअनुसार भनपा सक्रिय

भक्तपुर, १३ जेठ । बासु माविको आयोजनामा भक्तपुर नगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडा नं. २ का वडाध्यक्ष तथा वडा सदस्यहरूलाई शुभकामना तथा बधाईज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नवनिर्वाचित प्रमुख सुनिल प्रजापतिले सामुदायिक विद्यालयको गुणस्तर, स्तरोन्नति र विकासमा नपाले जोड दिएकै कारण आज भक्तपुरका सामुदायिक विद्यालयमा अध्ययन गर्न देशभरिका विद्यालयहरूबीच प्रतिस्पर्धा भइरहेको बताउनुभयो ।
भक्तपुरलाई विश्वको लागि हेर्नलायक सहरको रूपमा विकास गर्ने र ‘सय वर्षपछिको भक्तपुर’ परिकल्पना सार्थक बनाउने उद्देश्यका साथ नगरपालिका लागिपरेको उहाँले बताउनुभयो ।
भक्तपुरले आज देशकै सफा नगर, उत्कृष्ट शैक्षिक गन्तव्यस्थल र सांस्कृतिक सम्पदा संरक्षित नगरको रूपमा आफ्नो परिचय कायम गर्न सफल भएको बताउँदै प्रमुख प्रजापतिले दलगत र व्यक्तिगत स्वार्थले कहिल्यै देशको विकास सम्भव नभएको बताउनुभयो ।
जनता सचेत भए देश विकास गर्न धेरै समय नलाग्ने बताउँदै प्रमुख प्रजापतिले समाजवादी मोडलअनुरूप भक्तपुर नपाले आफ्ना गतिविधिहरूलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको बताउनुभयो ।
नवनिर्वाचित उपप्रमुख रजनी जोशीले भक्तपुर देशकै सानो नगरपालिका भएर पनि भक्तपुरले गरेको काम देशव्यापीरूपमा अनुकरणीय र चर्चाको विषय बनेको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नपाको उद्देश्य रहेको बताउनुभयो ।
उहाँले घरदैलो नर्सिङ सेवालाई अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्ने, अरनिको सभाभवन, थन्थु दरबार, न्हय्कं झ्या दरबार पुनःनिर्माण गर्ने आगामी योजनाहरू रहेको बताउँदै नपाले अनुसन्धानमूलक गतिविधिमा जोड दिँदै लाने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. २ का नवनिर्वाचित वडाध्यक्ष हरिप्रसाद बासुकलाले देको मिवा इतापाके आवास योजना सञ्चालन गर्नुको उद्देश्यबारे प्रस्ट पार्दै आयोजना अब छिट्टै सम्पन्न हुने विश्वास दिलाउनुभयो ।
बासु मावि व्यवस्थापन समितिका अध्यक्ष बालमुकुन्द बासुकलाको सभापतित्व भएको उक्त कार्यक्रममा बासु माविका प्रअ अम्बिका न्याइच्याईँ र कलेजका शिक्षक सविन ख्याजूले नवनिर्वाचित जनप्रतिनिधिको सफल कार्यकालको लागि शुभकामना दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *