भर्खरै :

स्थानीय तहलाई जनताको सेवा गर्ने ठाउँको रूपमा नेमकिपाले उपयोग गर्ने

भक्तपुर, १५ जेठ । नेपाल मजदुर किसान पार्टी, भनपा ७ वडास्तरीय निर्वाचन परिचालन समितिको आयोजनामा महेश्वरी बैंक्वेटमा निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना र मतदाता तथा सहयोगी महानुभावहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालले आर्थिक अनुशासन र पारदर्शी ढङ्गले जनताको सेवा गर्ने ठाउँको रूपमा उपयोग गर्न नेमकिपाले स्थानीय तहको निर्वाचनमा भाग लिँदै आएको हो भन्नुभयो ।
उहाँले समाज परिवर्तन एउटा निश्चित दर्शनको आधारमा हुने हो, पँुजीवादी दर्शनको आधारमा अगाडि बढेको समाजभन्दा समाजवादी दर्शनको आधारमा विकास भएको समाजमा जनताको वास्तविक प्रजातन्त्र पाउने विचार व्यक्त गर्नुभयो ।
नेपालमा पुँजीवादी दलका नेताहरू पटक–पटक प्रम बने पनि सियो पनि बनाउन नसकेको सन्दर्भ उल्लेख गर्दै उहाँले नियमानुसार कर नतिर्ने बुर्जुवा पुँजीपतिहरूका कारण देशले प्रगति गर्न नसकेको हो भन्नुभयो ।
निर्वाचनमा भोज खुवाएर, पैसा दिएर, ग्यास, पेट्रोल, लुगा कपडालगायतका वस्तुहरू दिएर पुँजीवादी दलहरूले जनताको भोट किन्ने गरेको उल्लेख गर्दै सांसद सुवालले राज्यकै स्वामित्वमा उत्पादन र वितरण नगरिएसम्म देश अगाडि बढ्न नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले कृषिप्रधान देशमा देशभित्रै मल कारखाना खोल्नु आवश्यक छ भन्नुभयो ।
देशमा कृषि मल व्यवस्था गर्न नसकेको, भारतीय एकाधिकार पुँजीका कारण नेपालीहरूले भारतलाई ग्यास, पेट्रोल, खाद्यान्नलगायतको नाममा पैसा तिर्न बाध्य भएको र वैदेशिक रोजगारीका कारण बीस पच्चीस वर्षअगाडि हराभरा बाली फल्ने जग्गा श्रम शक्तिको अभावमा बाँझो रहेको उहाँले चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “अब भारतले गहुँ, तेल, चामल नपठाउने भनेको छ । भोलि थुप्रै चिजहरू पठाउन रोक लगाउनेछ । नेपालले सरकारी स्वामित्वमा उद्योग, कलकारखाना खोली उत्पादन र वितरण प्रणाली सरकारको अधीनमा राख्न सकेमा मात्र देश आत्मनिर्भरतातर्फ उन्मुख हुनेछ ।”
उहाँले भारतका प्रम नरेन्द्र मोदी लुम्बिनीमा ध्यान गर्न आएको निहुँमा अरुण तेस्रो हात पारेर गएको स्मरण गराउनुभयो ।
उहाँले जनताको सांस्कृतिक स्तर उठाउने कामलाई पहिलो प्राथमिकतामा राख्न सुझाव दिनुभयो । अबका हरेक मानिसहरू प्रविधिमैत्री हुनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले शिक्षादीक्षाबाट सांस्कृतिक स्तर उत्थान गर्न पहल गर्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा उपमेयर रजनी जोशीले भक्तपुरका जनताले हिजो गरेको विश्वासमा अलिकति पनि घात हुन नदिएको र आगामी वर्षमा पनि त्यसो नहुने विचार राख्दै जनताको अपार माया तथा सहयोगबाटै भक्तपुर नगरपालिकाका कार्यहरू सफल हुने विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा ७ वडाका अध्यक्ष उकेश कवांले देशमा गणतन्त्र आए पनि आम कामदार जनताको लागि सुख सुविधा दिने वैज्ञानिक समाजवादी गणतन्त्र नआएकोले कामदार जनताले अझै सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले जनताको नागरिक भावना विकासमा गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पार्टीगत र नीतिगतरूपमा एमसीसीको विरोध गर्ने पार्टी नेमकिपा रहेको चर्चा गर्दै रुस युक्रेन युद्ध रुसले युक्रेनलाई सच्चिनको लागि गरेको हो भनेर बुझ्नु आवश्यक छ भन्नुभयो ।
वडास्तरीय निर्वाचन परिचालन समितिका संयोजक बलराम गोसाईको सभापतित्व र सल्लाहकार कृष्णगोविन्द खाइजूको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा हेरा ख्याजू र कृष्णगोविन्द लाखाजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *