भर्खरै :

जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन ख्वप सर्कलका कलेज सञ्चालन

भक्तपुर, १५ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको शैक्षिक–सत्र २०७८÷७९ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि स्वागत, अभिमुखीकरण तथा दुवै कलेजबाट अध्ययन पूरा गरी नेपालको उत्कृष्ट विद्यार्थी बन्न सफल विद्यार्थीहरूलाई सम्मान कार्यक्रम एक समारोहका बीच सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाले शैक्षिक संस्थानहरू चलाएर जनताका छोराछोरीहरूलाई कम शुल्कमा गुणस्त्तरीय शिक्षा दिन सफल भएको बताउनुभयो ।
इन्जिनियरहरू धेरै भएको देश प्रजग कोरियामा धेरै छिटो विकास भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले नेपालमा पनि दक्ष धेरै इन्जिनियरहरू आवश्यक भएकाले भक्तपुर नगरपालिकाले इन्जिनियरिङ कलेज सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।
ख्वप विश्वविद्यालय स्थापना गर्न पाएमा रु. १५ लाखमा एमबीबीएस पढाउन सकिने बताउँदै उहाँले नेपाल सरकारले एमबीबीएस पढ्न ४० लाख तोकिए पनि व्यवहारमा ७० लाख परेकोले सर्वसाधारण जनताको लागि एमबीबीएस अध्ययनको लक्ष्य मृगतृष्णामात्र भएको प्रस्ट पार्नुभयो ।
पाँचपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई ख्वप विश्वविद्यालयको स्वीकृतिबारेमा संसद्मा जिज्ञासा राख्दा प्रधानमन्त्रीले कुनै जवाफ नदिएको उल्लेख गर्दै सांसद सुवालले त्यस्ता व्यक्तिहरू प्रधानमन्त्री हुनुको कुनै तुक छैन भन्नुभयो ।
“अमेरिकाले विभिन्न प्रकारका सैनिक मोर्चाहरू बनाई एमसीसी लागू गर्दै छ । नेपालमा पनि सरकारले एमसीसी पारित गरेको छ । यसले नेपालको सार्वभौमिकता जोखममा पार्दै छ । देश र जनताको पक्षमा सेवा गर्न प्रतिबद्ध हुनुको विकल्प छैन । श्रीलङ्कामा आर्थिक अवस्था गुज्रिएको छ । नेपालमा पनि त्यही अवस्था आउने धेरै सम्भावना छ,” उहाँले भन्नुभयो ।
देश र जनताको सेवा गर्न क्रान्ति अपरिहार्य भएको उल्लेख गर्दै उहाँले पार्टीको जनप्रतिनिधि र स्वतन्त्र जनप्रतिनिधिमा विचार र दर्शनमा धेरै फरक हुन्छ भन्नुभयो ।
कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सस्तो र गुणस्तरीय शिक्षा दिई देश र जनतामा समर्पित दक्ष इन्जिनियरहरू तयार गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले इन्जिनियरिङ कलेजहरू सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले जनप्रतिनिधिहरूको स्वार्थ भनेको जनताको अधिकतम सेवा गर्ने हो भन्नुभयो ।
भक्तपुर नगरपालिका नेपालको सर्वोत्कृष्ट नगरपालिका घोषणा भएको स्पष्ट पार्दै उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको नर्सिङ कलेजमा यस शैक्षिक सत्रमा नयाँ भर्ना गर्न नदिने शिक्षामन्त्री देवेन्द्र पौडेल र वर्तमान प्रधानमन्त्री जनताका मन्त्रीहरू नभएको बताउनुभयो । प्रदेश सरकारले ख्वप अस्पतालको स्वीकृति अविलम्ब दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाली जनतालाई आत्मनिर्भर बनाउन उत्पादनका साधनहरू सार्वजनिकीकरण गर्नुपर्ने, विदेशी मुख ताक्न नहुने र युवाहरूलाई स्वदेशमै रोजगार दिनुपर्ने बताउँदै उहाँले श्रीलङ्काको जस्तो अवस्था आउन नदिन नेपाल सरकार चनाखो नभएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
कलेज सञ्चालक समितिका उपाध्यक्ष एवं भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्नको लागि भक्तपुर नगरपालिकाले शैक्षिक संस्थाहरू सञ्चालन गरेको बताउनुभयो । उहाँले सय वर्षपछिको भक्तपुरको अवधारणाअनुसार भक्तपुर नगरपालिकाले काम अगाडि बढाइरहेको छ भन्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं.९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकामा निर्वाचित नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरूको अगुवाइमा शैक्षिक संस्थाहरू सञ्चालन भइरहेको बताउनुभयो । उहाँले कलेजबाट उत्पादित इन्जिनियरहरू दक्ष र इमानदार देश र जनताप्रति वफादार हुनुपर्नेमा जोड दिनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई.सुजन माक, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवाल र ख्वप इन्जिनियरिङ कलेजको विज्ञान तथा मानविकी विभागका प्रमुख नवराज बुढाथोकीले विद्यार्थीहरू दक्ष इन्जिनियर बन्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *