भर्खरै :

बाग्मती प्रदेशको नीति तथा कार्यक्रम कार्यान्वयनको आधार कमजोर

हेटौडा, १६ जेठ । बाग्मती प्रदेशसभाको दसौँ अधिवेशन शुक्रबारदेखि सुरू भयो । यो बजेट अधिवेशनमात्र होइन अन्तिम अधिवेशन पनि हो । अधिवेशन प्रारम्भ भएसँगै प्रदेश सरकार फेरबदलको चर्चा पनि चुलिएको छ ।
प्रदेशसभा परिसरमा नयाँ आर्थिक वर्षको बजेटको जति चर्चा चल्दै छ त्यति नै गठबन्धन र सरकार पुनर्गठनको तयारी पनि भित्रभित्रै भइरहेको छ । नेपाली काङ्ग्रेसका एक नेताले बजेट अधिवेशन अगाडि नै सरकार परिवर्तनको तयारी भएको थियो । तर, गलत सन्देश जाने भयले त्यसो नगरिएको बताए । पालैपालो सरकारको नेतृत्व गर्ने गठबन्धनबीच सम्झौता पत्र नै रहेको उनले दाबी गरे ।
शुक्रबार भएको पहिलो बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद सुरेन्द्रराज गोसाईले राजनीतिशास्त्रमा कहीँ कतै नभएको गठबन्धनतन्त्र ल्याएर गणतन्त्रै उपहास गरिएको चर्चा गर्नुभयो । उहाँले रासायनिक मलको हाहाकारले किसानहरू आक्रान्त छन् भन्दै पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले सर्वसाधारण जनताको जीवन थप कष्टकर बनेको चर्चा गर्नुभयो ।
सांसद गोसाईले नयाँ शैक्षिक सत्र सुरू भएर महिना दिनसम्म पाठ्यपुस्तक उपलब्ध गराउन नसक्नु, रोपाइँमा रासायनिक मल उपलब्ध नगराउनु र पीडित जनतालाई चर्को महँगीको बोझ बोकाउन जनविरोधी कार्य भएको प्रस्ट पार्नुभयो ।
प्रदेश सांसद गोसाईले कृषि उब्जनी बढाउनेतिर सरकारले ध्यान नदिँदा खाद्यवस्तुको चर्को मूल्यवृद्धि तथा परनिर्भरता बढेको र यस्तै स्थिति कायम रहे अन्नको समेत हाहाकार व्यहोर्नुपर्ने खतरा रहेको चर्चा गर्नुभयो । उहाँले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पैसाको छेलोखेलो व्यापक ढङ्गमा गर्न शासक दलहरूबीच होडबाजी भएको र त्यसले लोकतन्त्रवादी दाबी गर्ने शासक दलहरू झन् उदाङ्गो बनाएको प्रस्ट पार्नुभयो ।
बाग्मती प्रदेशसभाको बैठक शनिबार पनि बस्यो । नयाँ आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकता आर्थिक मामिलामन्त्री शालिकराम जम्मकटेलले प्रस्तुत गर्नुभयो । लगत्तै भएको छलफलमा भाग लिँदै नेमकिपाका सांसद गोसाईले शिक्षा, स्वास्थ्य, कृषि उत्पादन तथा औद्योगिक उत्पादनमा जोड नदिई विकास सम्भव नहुने विचार व्यक्त गर्नुभयो ।
पञ्चायती व्यवस्थामा शैक्षिक स्थिति जुन हालतमा थियो त्यसमा तात्विक परिवर्तन भएन, उहाँले प्रस्ट पार्नुभयो ।
सांसद गोसाईले अगाडि भन्नुभयो, “नयाँ विद्यालय, नयाँ कलेज, स्वास्थ्य चौकी, अस्पताल, उद्योग कति वटा बनायौँ या जोगायौँ ? महत्वपूर्ण विषय यही नै हो ।”
नेमकिपाका केन्द्रीय सदस्य तथा सांसद सृजना सैंजूले कृषि क्षेत्रका लागि अत्यावश्यक रासायनिक मल, बीउबिजन तथा औजार सहज ढङ्गमा उपलब्ध गराउन नसक्ने सरकार असफल साबित भएको चर्चा गर्दैै कृषि मल कारखानाको स्थापना र कृषिऔजार कारखानाको पुनर्सञ्चालन अपरिहार्य भइसकेको प्रस्ट पार्नुभयो ।
त्यस्तै बाग्मती प्रदेश सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार प्रस्तुत गर्नुभयो ।
एकघण्टा समय लगाएर वाचन गरिएको नीति तथा कार्यक्रममा १६९ बुँदा समावेश गरिएका छन् । ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रमले निरन्तरता पाउने भएको छ भने ‘एक घर एक धारा …’, ‘एक वडा एक पशु स्वास्थ्य क्लिनिक’, ‘वैज्ञानिक खोज अनुसन्धान परिषद्’ स्थापना आदि कार्यक्रम समेटिएका छन् ।
नीति तथा कार्यक्रमबारे संवाददाताहरूलाई प्रतिक्रिया दिँदै नेमकिपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विगतका नीति तथा कार्यक्रम जसरी प्रभावकारी ढङ्गमा कार्यान्वयन भएन त्यसरी नै यो पटक पनि लागु होला भन्ने विश्वसनीय आधार नभएको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “शासक दलहरू यस्तो संवेदनशील घडीमा अत्यन्त जिम्मेवार ढङ्गमा प्रस्तुत हुनुपथ्र्यो । भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भयो । जनताका अपेक्षा तथा आवश्यकता अभिव्यक्त भइसकेको छ । केही महिनामा अर्को चुनाव आउँदै छ । यस्तो महत्वपूर्ण समयमा दूरदृष्टिसहित जिम्मेवार ढङ्गमा सरकार प्रस्तुत हुनसक्नुपथ्र्यो । तर, भएन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *