भर्खरै :

जनताको मालिक होइन सेवक भएर नगरवासीको सेवा गर्न आग्रह

भक्तपुर, १६ जेठ । नेपाल कर्मचारी समाज भनपा ९ एकाइ समितिले भनपामा नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना एवम् बधाई ज्ञापन तथा सम्पूर्ण मतदाता, सहयोगी र शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन कार्यक्रमको आयोजना ग¥यो ।
उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरूलाई मालिक होइन सेवक भएर नगरवासीको सेवा गर्न आग्रह गर्नुभयो । उहाँले कार्यकर्ताहरू देश र जनताको निम्ति सोच्छन् भन्नुभयो । उहाँले कर्मचारीहरूको व्यवहार राम्रो हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले कर्मचारीको सानो कमजोरीले ठूलो समस्या आउने हुँदा सचेत हुनुपर्छ भन्नुभयो । कसैले प्रशंसा गरेर बिगार्न सक्नेतर्फ कर्मचारीहरू सचेत बन्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सामूहिक भावनाको विकास गरी सभ्य, सुसंस्कृत र राम्रो समाज बनाउने लक्ष्य पूरा गर्ने उद्देश्यले काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले देशघाती एमसीसीको विरोध, कोभिडको समयमा जनतासँग नजिक रहेर नगरवासीलाई दिएको सेवाले नेमकिपाका उम्मेदवारहरू अत्यधिक मतले जितेको बताउनुभयो । उहाँले कार्यपालिका सदस्यको निर्वाचन, जिल्ला समन्वय समितिको निर्वाचन, प्रदेश र सङ्घीय निर्वाचन आइरहेको प्रसङ्ग उल्लेख गर्दै बजेट भाषण चुनावमुखी भएको हुँदा कार्यान्वयन हुनेमा शङ्का व्यक्त गर्नुभयो । उहाँले ख्वप मोडेल समाजवादी व्यवस्थाउन्मुख मोडेल भएको बताउनुभयो ।
नेपाल कर्मचारी समाज भनपा ९ का अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा भनपा ९ समन्वय समितिका अध्यक्ष कृष्णभक्त लवजु, चुनाव परिचालन समिति भनपा ९ दत्तात्रय समितिका सञ्जय मानन्धर, चुनाव परिचालन समिति भनपा ९ सूर्यमढीका काशीलाल प्रजापति, इन्द्रबहादुर प्याथ, ज्ञानबहादुर मानन्धर, विकास प्रजापति र हरिकृष्ण दुवालले पनि निर्वाचितहरूलाई बधाई र मतदाता तथा सहयोगीहरूलाई धन्यवाद मन्तव्य राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *