भर्खरै :

राजनीति व्यापार होइन, जनताको सेवा गर्ने माध्यम हो’

भक्तपुर, १६ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल नगर कार्य समिति भक्तपुरले भक्तपुर नपाका नवनिर्वाचित प्रमुख÷उपप्रमुख, वडाध्यक्ष, वडा सदस्यहरूलाई बधाई एवम् शुभकामना कार्यक्रमको आयोजना गर्याे ।
उक्त कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले राजनीतिमा लागेर मोजमस्ती गर्ने होइन, जनताको सेवा गर्ने हो भन्नुभयो । राजनीति सेवामा भन्दा व्यापारमा रुपान्तरण भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले गलत दिशामा जाँदा देश दुर्घटनामा पर्ने सम्भावना हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाई शैक्षिक गन्तव्यस्थल बनाउने नपाको योजना छ । नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयलाई भौतिक र शैक्षिक सुधार गरी सँगसँगै हातेमालो गरी अगाडि बढाउनेछ ।”
नेमकिपाका निर्वाचित जनप्रतिनिधिले आर्थिक अनुशासनको पालना गरी जनताको सहभागितामा पारदर्शी ढङ्गले विकास निर्माण कार्य गरेकोले आज भनपा नमुना नपा बनेको छ, उहाँले भन्नुभयो ।
भनपाका उपप्रमुख रजनी जोशीले नपाले उच्च शिक्षा हासिल गर्न चाहने नगरभित्रका गरिब विद्यार्थीलाई रु. ५ लाखसम्मको निब्र्याजी ऋण दिने गरी कोष खडा गरेको उल्लेख गर्दै विश्वविद्यालय स्थापनाको लागि निरन्तर आवाज उठाइरहेको बताउनुभयो ।
भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नपा सानो भएर पनि देशकै लागि उदाहरणीय बनेको छ, राजनीति देश र जनताको सेवाको निम्ति हुनुपर्छ भन्नुभयो ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीलिप थापाले उच्च शिक्षा र गुणात्मक शिक्षाको लागि भक्तपुर उत्कृष्ट गन्तव्यस्थल बनेको छ र सिङ्गो भक्तपुरको सन्तुलित विकास गर्नुपर्छ भन्नुभयो ।
प्याब्सनका जिल्ला अध्यक्ष सुरेन्द्र श्रेष्ठले विगत पाँच वर्षमा भएको कामले भक्तपुरलाई सिङ्गो देशले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ, यो सकारात्मक पक्ष हो भन्नुभयो ।
भक्तपुर नगर प्याब्सनका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले भक्तपुर नपाका जनप्रतिनिधिबाट धेरै सहयोग पाएका छौँ, भक्तपुरमा शिक्षाको स्तर बढेको छ, त्यही भएर देशभरिका विद्यार्थी यहाँ पढ्न आउँछन् भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *