भर्खरै :

कर्णालीमा पुस्तक ढुवानी प्रभावित

कर्णाली, १६ जेठ । नयाँ शैक्षिक सत्र सुरु भएको डेढ महिना बितिसक्दासमेत कर्णालीका सामुदायिक विद्यालयका विद्यार्थीहरूले अझै पुस्तक पाएका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, स्थानीय तह र विद्यालयहरूबीच समन्वय नहुँदा पुस्तक ढुवानी प्रभावित बनेको हो ।
कर्णालीका मुगुबाहेक सबै जिल्लामा पाठ्यपुस्तक ढुवानी प्रक्रिया सुरु भइसकेको छ । पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले मुगुका चारवटै स्थानीय तहका लागि आवश्यक पुस्तक गोदाममै थन्किएको जनाएको छ । केन्द्रको सुर्खेतस्थित प्रादेशिक कार्यालयका प्रमुख धनबहादुर केसीले दुर्गम जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक उपलब्ध गराए पनि स्थानीय तहले खरिदमा बेवास्ता गरेको बताउनुभयो । उहाँका अनुसार मुगुका लागि रु. २४ लाखका पुस्तक तयारी अवस्थामा राखिएको छ । तर, खरिद प्रक्रियामा मुुगुका सबै स्थानीय तह र विद्यालयहरूले कुनै चासो दिएका छैनन् ।
कर्णालीका डोल्पा, सल्यान, रुकुम पश्चिम र हुम्लाका दुई स्थानीय तहमा नेपालगञ्जबाट ढुवानी भइरहेको छ । यी जिल्लामा नेपालगञ्ज ढुवानी थालिएको छ । “नेपालगञ्जबाट पायक पर्ने भएकाले ढुवानीको प्रक्रिया अघि बढिसकेको छ, कतिपय जिल्लामा पुगिसकेको छ भने केही पुस्तक बाटोमै छन्, सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र जाजरकोटमा सुर्खेतबाटै पठाइएको छ ।” जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख केसीले भन्नुभयो । जनक शिक्षाका अनुसार कालीकोटमा तीन हजार सेट, दैलेखमा चार हजार ५०० सेट, जाजरकोटमा चार हजार सेट, सुर्खेतमा चार हजार सेट, जुम्लामा दुई हजार ५०० सेट पुस्तक पठाइएको छ । बाँकी किताब छपाइकै क्रममा रहेकाले सुर्खेत गोदाममा आउनेबित्तिकै पठाइने प्रादेशिक कार्यालयले जनाएको छ ।
कर्णालीमा कक्षा ८ को स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको छपाइ कम हुँदा अभाव रहेको बताइएको छ । जनक शिक्षाका प्रादेशिक कार्यालय प्रमुख केसीले स्थानीय तह र विद्यालयहरूबीच पाठ्यपुस्तक ढुवानीमा आपसी समन्वय नहुँदा विद्यार्थीले समयमै पुस्तक पाउन नसकेको बताउनुभयो । पुस्तक हुँदाहुँदै पनि खरिद तथा ढुवानीमा स्थानीय तह र विद्यालयले बेवास्ता गरेको उहाँको भनाइ छ ।
यसैबीच समयमै पर्याप्त पुस्तक नहुँदा अधिकांश विद्यालयको पठनपाठन प्रभावित हुन पुगेको छ । सुर्खेतको जनता माध्यमिक विद्यालय विद्यापुरका प्रधानाध्यापक मोतिराज जोशीले प्रदेश राजधानीकै जिल्लामा अझै पुस्तक नपाइनु सम्बन्धित निकायको लापरबाही रहेको बताउनुभयो । “पुरानो किताबकै भरमा पढाइरहेका छौँ, नयाँ किताब पढ्ने विद्यार्थीको रहर कहिले पूरा हुने हो निश्चित छैन, कक्षा ४, ७ र ९ को नयाँ पाठ्यक्रम भएकाले ती कक्षा प्रभावित हुन पुगेका छन्, अन्य कक्षामा त पुरानै किताबले पनि पठनपाठन गराइएको छ ।” उहाँले भन्नुभयो । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा फागुनदेखि नै शैक्षिक सत्र सुरु भइसक्छ । त्रैमासिक परीक्षा सुरु हुने बेलासम्म पनि विद्यार्थीको हातसम्म पुस्तक उपलब्ध नभएको विद्यार्थी र शिक्षकहरूको गुनासो छ । रासस

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published.