भर्खरै :

‘नेमकिपाको उद्देश्य जनताको सेवा गर्नु हो’

काठमाडौँ, १६ जेठ । नेमकिपा बलम्बु एकाइ समितिको आयोजनामा बलम्बुमा आइतबार महिला भेला भयो ।
उक्त भेलामा नेमकिपा भनसका सदस्य एवम् भक्तपुर नगरका उपप्रमुख रजनी जोशीले नेमकिपा जनताको सेवा गर्ने पार्टी भएको बताउनुभयो ।
उहाँले भक्तपुर नपाले ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेजलगायत सात शैक्षिक संस्था स्थापना गरी भक्तपुरलगायत देशका ७६ जिल्लाका विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको, स्वास्थ्य सेवाको लागि ख्वप अस्पताल खोलेको र सम्पदा संरक्षण गरिरहेको बताउनुभयो । देश र जनताको पक्षमा कार्य गर्दै आएको कारण नेमकिपा अरू दलको निम्ति प्रकाशस्तम्भ भएको उहाँले बताउनुभयो ।
नेमकिपा बलम्बुका अध्यक्ष किरण सिंहले नेमकिपाले देश र जनताको सेवा गरिरहेको चर्चा गर्दै स्थानीय तह निर्वाचनमा नेमकिपाका उम्मेदवारलाई मत दिनु देशभक्त उम्मेदवारलाई मत दिनु हो भन्नुभयो ।
नेक्रामसङ्घका केन्द्रीय सदस्य सुलोचना छ्वाजुले नेपाल क्रान्तिकारी महिला सङ्घ कामदार महिलाहरूलाई शिक्षित गर्ने, राजनैतिकरूपमा सचेत गर्ने र महिलाहरूको समस्यामा साथ दिने सङ्गठन भएको बताउनुभयो ।
उहाँले छाउपडी प्रथा र दाइजो प्रथाजस्ता अन्धविश्वास हटाउनुपर्ने आवश्यकता औँल्याउँदै महिलालाई वस्तु ठान्ने र महिलाको अश्लील फोटो प्रदर्शन गराउने कार्य ठीक नभएको बताउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घ काठमाडौँका चण्डेश्वरी महर्जन, बन्दना महर्जनलगायतले बोल्नुभएको थियो । महिला भेलाले चण्डेश्वरी महर्जनको अध्यक्षतामा नेपाल क्रान्तिकारी महिला सङ्घ चन्द्रागिरी बलम्बु एकाइ समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *