भर्खरै :

सबैलाई गणतन्त्र कहिले ?

नेपाल राजतन्त्र फालेर गणतन्त्रमा फाल हालेको अस्ति आइतबार १४ वर्ष पूरा गरी १५ वर्ष लाग्यो समष्टिमा हिसाब गर्दा । तर, सम्पूर्ण नेपालीलाई गणतन्त्र आएको छैन । पदमा भएकाहरूलाई पूर्ण गणतन्त्र आएको छ । तर, पदबाट हटेपछि गणतन्त्रले उनीहरूलाई पनि छोड्छ । गणतन्त्रको स्वभावै यस्तो हो कि नेपालमा मात्र यस्तो हो । किटानीसाथ भन्न सकिँदैन । २००७ फागुन ७ गतेको राजा त्रिभुवनको घोषणादेखि नै गणतन्त्र शब्द झुन्डिएको हो नेपालको राजनीतिक वृत्तमा । तर, आज सात दशक बितिसक्दा पनि सबैलाई गणतन्त्रको घामको झुल्को पनि झुल्केको छैन । राजनीति भनेको नै यही हो कि ? भनेजस्तो पनि लाग्छ कहिले कहिले । आज पनि निर्दोष मान्छे थुनिन्छ । कानुनले बालक भनेको नाबालक थुनिन्छ । थुनिएकै ठाउँको शौचालयमा नै झुन्डिएर मरेको भनिन्छ । यस्ता शङ्कास्पद ज्यान मुद्दा धेरै नै हुने गर्छन् नेपालमा । नेपालमा यस्ता नपत्याउने खालका धेरै मुद्दा छन् । एउटा दलितले एउटी नदलितसँग, एउटा दलितले एउटी नदलितसँग वा दलितसँग आँखा जुधाएर हेर्न पनि छुट छैन यो समाजमा अहिलेसम्म । गत वर्ष केही दलित युवकले नदलित केटीहरूसँग आँखा जुधाएकै मामिलामा दलित युवकहरू लघारिए । बाँच्ने आशामा भेरी नदीमा हाम फाले । पौडी खेल्न नजान्ने ती युवकहरू मरे । यसरी मर्ने वा परिणाम भोग्ने आज पनि धेरै छन् युवाहरू नेपालमा । अब यस्ता दुर्घटनालाई गणतन्त्रभित्र कसरी अटाउने ? प्रश्न छ ।
यो पनि गणतन्त्र ?
एक जना सांसद वा पूर्वमन्त्री आफ्नो इँटा भट्टामा काम गर्ने इँटा मजदुरहरूलाई इँटा भट्टामा जिउँदै डढाएर मार्छ । एउटा निर्दोष किशोर पक्रिन्छ, थुनामा पर्छ । उसको शङ्कास्पद मरण हुन्छ । तर, शौचालयमा झुन्डिएर मरेको भनिन्छ । रोल्पा जिल्लाको घटना हो यो । यसको विरूद्ध तीव्र असन्तुष्टि हुन्छ । सरकार त्यो घटनाको छानबिन गर्न समिति बनाउन बाध्य हुन्छ । अब गणतन्त्रको सङ्घारमा यसको निरूपण हुने प्रक्रिया प्रारम्भ हुन्छ । त्यो मुद्दालाई गणतन्त्रले कसरी हेर्छ ? हेर्न बाँकी नै छ । एउटा शिक्षकले आफ्नी एउटी विद्यार्थीलाई बलात्कार गर्छ । त्यो घटना सार्वजनिक हुन लागेपछि फेरि फकाउँछ, बलात्कार गर्छ र हत्या गर्छ । यस्ता बलजफ्ती एवं हत्या गर्नेहरू अनेक साङ्गोपाङ्गो मिलाई चोखो ठहरिन्छन् । यस्ता दुर्घटना वा जबरजस्ती आफ्नै परिवार वा अल्लारे युवावयकाहरूबाट भएको पाइएको छ । यस्ता मुद्दाहरू गाउँ र टोलका तथाकथित भद्र भलाद्मीहरू भेला भई मेलमिलाप गराउने प्रचलन पनि यथेष्ठ हुने गरेका छन् । त्यहाँ पनि हाम्रो गणतन्त्र पुगेको छैन । यसरी समाजका विभिन्न ठाउँ र सहरमा गणतन्त्र आफ्नै प्रचारले आएको छ किं वा आएको छैन । ‘रोटी पनि हेर्नाका छन्’ भन्ने नेपाली उखानझैँ छ । यसरी गणतन्त्र आ–आफ्नै खालको आएको छ । वास्तवमा समाजमा शिष्टता, भद्रता, न्याय र समुन्नति आउनैपर्ने तर आउन सकेको छैन । के हाम्रा राजनीतिक आन्दोलनहरू यस्तै सिङ न पुच्छरको गणतन्त्रका लागि अवश्य भएको हो ?
पार्टी विरोधी हुन्, अवश्य होइनन्
जे जे नामले उच्चारण गरे पनि परिवर्तन साँच्चै परिवर्तनका निम्ति हुनुपर्ने । तर, हाम्रो नेपालमा नाम परिवर्तनका लागि भयो काम भने वास्तवमा समाज परिवर्तनका लागि भएन । पात्र परिवर्तन भए प्रवृत्ति परिवर्तन भएन । परिणाम सकारात्मक हुन सकेन । समाजमा गतिशील रूपान्तरण हुनुपर्ने । त्यसो हुन सकेन । राजनीतिक दलहरू परिवर्तनको मुद्दा द¥होसँग उभिन सकेनन् । राम्रो लगाउने मीठो खाने घेराबाट बाहिर निस्कन सकेनन् । जब नेताहरू वा नेतृत्व आफूमात्र राम्रो लगाउने, मीठो खाने रोगबाट मुक्त हुँदैनन् तब जनताले उनीहरूलाई पत्यार गर्दोरहेनछ । यो कटुसत्य हाम्रो सत्ताकाङ्क्षी राजनीतिक दलका नेताहरूले बुझेनन् वा बिर्से । एक जना प्रशासक मसँग भन्दै थिए । आफू चढेको मोटरबाट ओर्लन मोटरको ढोका खोल्न पनि जाँगर हराउँदो रहेछ । बरू पर्खने ढोका नखोल्ने । यो ढोका नखोल्ने हाकिमवाद व्यापक भयो । मीठो खाने, राम्रो लगाउने, आफू र आफ्नालाई मात्र हेर्ने सामन्त पनि महासामन्त रोगले पक्रेपछि मान्छेबाट मान्छेपन हराउने र उदाउने रहेछ मै खाउँँ मै लाउँवाद । तर, जनता परिवर्तन खोज्दा रहेछन्, प्रगति खोज्दा रहेछन् । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा जुन जुन झुकाव देखाप¥यो त्यो एउटा पाठ हो नेता, नेतृत्व र पार्टीहरूलाई । यो प्रवृत्ति गम्भीर छ, रोचक पनि छ र छ निकै गम्भीर भएर चिन्तन गर्नुपर्ने मुद्दा पनि । के स्वतन्त्र उम्मेदवारलाई मत दिने सबै पार्टी विरोधी हुन् ? अवश्य होइनन् ।
पार्टीविनाको नेतृत्व ?
भर्खरै सम्पन्न स्थानीय सरकारको निर्वाचनले एउटा चेतावनी दिएको छ पार्टी नेता र नेतृत्वलाई । आफू र आफ्नालाई मात्र हेर्ने प्रवृत्तिको विरोधमा स्वतन्त्र उम्मेदवारलाई ठूलो सङ्ख्यामा अत्यधिक मत दिएर त्यो आफूवादको विरूद्ध शङ्ख फुके, घण्ट बजाए मतदाताले । यो पार्टीका प्रत्याशी पराजित हुने बिनापार्टीका उम्मेदवार विजयी हुने जुन अवस्था आयो यो एउटा जनघण्टी हो । सरसरती हेर्दा ७५३ मध्ये नगण्य ठाउँमा मात्र यस्तो भएको छ भन्नेहरू पनि छन् । तर, यस्तो परिभाषा गरेरै यो प्रवृत्तिको गम्भीर एवं व्यापक विवेचना गरिएन र बदलिएन भने परिणाम राम्रो आउँदैन । नेपालमा अनवरत दलविहीनता वा निर्दलीयताको अभ्यास लगातार तीन दशकसम्म भयो । खै त परिणाम राम्रो आएन । निरन्तर अविश्रान्त सङ्घर्ष गरेर पुनःस्थापन भएको हो बहुदलीय व्यवस्था । तर, थोरै समयमा नै काठमाडौँ, धरान, जनकपुर र धनगढीजस्ता सचेत एवं बहुदलप्रति प्रतिबद्ध मतदाता भएका सचेत ठाउँबाट दलका उम्मेदवारले पराजय भोग्नु र स्वतन्त्र प्रत्याशीले विजयको माला लगाउनु केको सङ्केत हो ? गम्भीर चिन्तन जरूरी छ । मैले यस्तो कुरा लेख्नुको पछाडि निर्वाचित स्वतन्त्र उम्मेदवारको विरोधमा कदापि होइन यो वास्तविकता स्वतन्त्र विजयीहरूले बिनाआग्रह–पूर्वाग्रह बुझ्नुहुनेछ । अन्यथा, अन्यथा नै हुनेछ । स्वतन्त्र विजेता स्वतन्त्र नै हुनुपर्छ । कुनै पनि पार्टीको ललाइफकाइमा कुनै पार्टीमा प्रवेश गर्नुभयो भने अर्को अनर्थ हुनेछ । यो कार्यकाल स्वतन्त्र भएरै जनताको सेवा गर्नोस् । मन लाग्यो भने अर्को कार्यकाल दलमा लागे भइहाल्यो, गणतन्त्रको यसरी उपभोग र उपयोग गर्नु कसो होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *