नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
संरा अमेरिकाको टेक्सास राज्यको युभाल्डेमा भएको गोलीमा १९ जना स्कूले बालबालिका र दुई जना शिक्षकहरू मारिए । यो हत्याकाण्ड वास्तवमै भत्र्सनालायक छ । यो घटनाले संरा अमेरिकाको बन्दुक नीतिमा परिवर्तनको आवश्यकताबोध गराएको छ । आश्चर्यको कुरा के हो भने युभाल्डेमा गोलीकाण्ड भएको तीन दिनअघि मात्र त्यहाँबाट ३ सय माइल (४३८ किलोमिटर) पर हडसनमा संरा अमेरिकाकै प्रमुख बन्दुक राख्न पाउने अधिकारको पक्षधर सङ्गठन राष्ट्रिय राइफल सङ्गठनले स्वघोषित स्मृति दिवसको अवसरमा जुलुस गरेको थियो । जुलुसमा बन्दुक अधिकारका अन्धभक्त पक्षधरहरूको ठूलो सङ्ख्याले शक्ति प्रदर्शन गरेको थियो । युभाल्डेको गोलीकाण्ड र हडसनमा भएको जुलुसको तुलना निकै टीठलाग्दो छ । यसले संरा अमेरिकाको लामो समयदेखि खिइँदै गएको राजनीति उजागर गरेको छ ।
गोलीकाण्डको महामारी
एकपछि अर्को गोलीकाण्डहरू धेरै अघिदेखि अमेरिकी समाजको लागि घातक बन्दै आएको छ । कोभिड–१९ महामारीयता त्यस्ता घटना अझ बढ्दै गएको छ । गोलीकाण्डको अभिलेखालयअनुसार यो वर्ष सन् २०२२ को मे २५ सम्ममा २१३ पटक गोलीकाण्डहरू भएका छन् । ती घटनामा परेर २४२ जना मानिसले ज्यान गुमाए । युभाल्डेको गोलीकाण्ड भएको दस दिनअघि मात्र न्यु योर्क सहरको बफेलो सहरस्थित एउटा तरकारी पसलमा भएको गोलीकाण्डमा दस जना अफ्रिकी अमेरिकीहरूले ज्यान गुमाएका थिए । वास्तवमै गोलीकाण्डले संरा अमेरिकामा महामारीको रूप लिइसकेको छ । संरा अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार गोली काण्डहरूको कारण अमेरिकी बालबालिकाको ज्यान जाने क्रम बढेको छ ।
गोलीकाण्डको सङ्ख्या निकै बढे पनि बन्दुक नियन्त्रणको लागि हुनुपर्ने सुधार भने दशकौँदेखि जहाँको तहीँ छ । संसारमा बन्दुक भएका मानिसको सङ्ख्या सबभन्दा बढी संरा अमेरिकामा नै छ । यो जटिल समस्याको जरा भने अमेरिकामा गहिरो गरी जमेको बन्दुक संस्कृति नै हो भन्न गा¥हो छैन । तर, अमेरिकी मत सर्वेक्षणले यो विषयमा फरक अवस्थाको सङ्केत गरेको छ । युभाल्डेको गोलीकाण्डभन्दा केही समयअघि मर्निङ कन्सल्ट÷पोलिटीको मत सर्वेक्षणअनुसार ५९ प्रतिशत उत्तरदाताहरू संरा अमेरिकामा कडा खालको बन्दुक नियन्त्रण कानुनको पक्षमा छन् । युभाल्डेको गोलीकाण्डपछि गरिएको नयाँ मत सर्वेक्षणले ८८ प्रतिशत मानिस जस्तोसुकै बन्दुक बेच्दा पनि किन्नेको पृष्ठभूमिको ‘कडाइका साथ’ अथवा ‘केही हदसम्म’ जाँच गर्नुपर्छ । बन्दुक किन्ने मानिसको पृष्ठभूमि परीक्षणमा दुई वटा शासक दलबीच सहमति हुनुपर्ने मत बलियो बन्दै गएको छ ।
जनता बन्दुक नियन्त्रणको लागि कडा कानुन बन्नुपर्ने पक्षमा उभिए पनि अमेरिकी संसद्मा बसेका सांसदहरू भने त्यससम्बन्धी उपयुक्त सुधार र कदम चाल्न पटकपटक असफल बनेका छन् । बरु उनीहरू बन्दुक नियन्त्रणमा खुकुलो बन्दै गएका छन् । युभाल्डे गोलीकाण्डपछि संरा अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रतिक्रिया हरेस खाएको सुनिन्छ । आफ्नो मन्तव्यमा उनले अहिले भइरहेको ‘नरसंहार’ रोक्न कुनै ठोस प्रस्ताव अघि सार्न सकेनन् । यो अवस्थाले संरा अमेरिकी सरकार वास्तवमै ‘जनताको लागि जनतालाई जनताद्वारा शासन गर्ने’ सरकार हो वा होइन भन्ने प्रश्न उठेको छ ।
द्रव्यमोही राजनीतिले बन्दुक नीतिलाई खोटो बनाएको छ
संरा अमेरिकाको राजनीतिमा बन्दुक नियन्त्रणको मुद्दा सबभन्दा विवादास्पद विषय बन्दै आएको छ । वाशिङ्टनमा नेताहरू बन्दुक नियन्त्रणमा सधैँ विवाद र बहस गर्दै आएका छन् । राजनीतिक नेताहरू व्यक्तिले बन्दुक राख्न पाउने अधिकारलाई अमेरिकी संविधानको दोस्रो संशोधनले दिएको राजनीतिक अधिकारको रूपमा तर्क गर्दै आएका छन् । तर, केही नेताहरू भने बन्दुक किन्नेको पृष्ठभूमि परीक्षण, घातक हतियार राख्न सीमित मानिसलाई मात्र अधिकार दिनुपर्ने र बन्दुक नियन्त्रण गर्न अन्य कदमको पक्षमा वकालत गर्दै आएका छन् ।
झट्ट हेर्दा यो वैचारिक बहसजस्तो सुनिन्छ । तर, यसको भित्र स्वार्थ समूह र द्रव्यमोही राजनीति लुकेका छन् । संरा अमेरिकी हातहतियार उद्योगले संसारभर जसरी अमेरिकी सैन्यवादलाई बढावा दिँदै आएको छ, त्यसरी नै शक्तिशाली बन्दुक अधिकारकर्मीहरूले अमेरिकाभित्र कुनै अर्थपूर्ण बन्दुक नियन्त्रणका कदम चाल्न रोक्दै आएका छन् । त्यस्ता बन्दुक अधिकारकर्मी समूह राष्ट्रिय, संसदीय र राज्य तहका चुनावमा रिपब्लिकन दलका उम्मेदवारका चन्दादाता हुन् । ओपनसेक्रेट नामको संस्थाका अनुसार बन्दुक अधिकार समूहले सन् २०२१ मा आफ्नो प्रयोजनको लागि खर्च गर्नेमा रेकर्ड नै राखेको छ । प्रमुख बन्दुक अधिकारवादी समूह राष्ट्रिय राइफल सङ्गठनले बन्दुक राख्ने अधिकारको पक्षमा हुने गरेका अध्ययनमा सबभन्दा बढी लगानी गर्दै आएको छ । उनीहरूले बन्दुकबाट हुने हिंसासम्बन्धी अध्ययनलाई पनि दबाउँदै आएका छन् । बन्दुक नीतिबारे जनताको मतलाई विषयान्तर गर्नु नै उनीहरूको लक्ष्य हो ।
युभाल्डेको विद्यालयमा भएको गोली काण्डपछि पोखिएको जनआक्रोशको विरोधमा उभिएर रिपब्लिकन दलका सांसदहरूले बन्दुक अधिकारको पक्षमा वकालत गरे । गोलीकाण्डलाई राजनीतीकरण गरेको भन्दै डेमोक्रेटिक दलका सांसदहरूको आलोचना गरे । उनीहरूले दोष सबै विद्यालयको सुरक्षा व्यवस्था र मानसिक स्वास्थ्यमाथि पन्छाउन खोजे । सबभन्दा असंवेदनशील प्रतिक्रिया टेक्सासका गर्भनर गे्रग एबोटले दिएका थिए । युभाल्डे आधारभूत विद्यालयमा बोल्दै उनले गैरजिम्मेवारीपूर्वक भने,“टेक्सासका विद्यालयमा भन्दा सिकागोमा हरेक सप्ताहान्तमा मारिने मानिस बढी छन् ।” यसो अभिव्यक्ति दिएर उनले बन्दुक नियन्त्रणको कडा नीतिको प्रभावकारितामाथि प्रश्न उठाएका छन् ।
बन्दुकको पक्षमा वकालत गर्दै आएका रिपब्लिकन दलका सांसदहरूको जिद्दी मतको तुलनामा डेमोक्रेटिक सांसदहरूले बन्दुक नीतिमा सुधारको लागि कहिल्यै बलियो गरी प्रस्तुत भएनन् । गोलीकाण्डपछि बन्दुक नीतिमा सुधारको लागि उनीहरूको अभियान गोलीकाण्डको चर्चा सेलाउँदै गएसँगै कमजोर हुँदै जाने गरेको छ । संरा अमेरिकामा अहिले मध्यावधि चुनावको तयारी हुँदै छ । त्यसकारण, बन्दुक नियन्त्रणको मुद्दा केही डेमोक्रेटिक उम्मेदवारको निम्ति संवेदनशील विषय बनेको छ । बन्दुक नियन्त्रणको मुद्दा अहिले चर्को स्वरमा बोले चुनावको नतिजामा त्यसको नकारात्मक प्रभाव पर्न सक्नेमा उनीहरू सजग छन् । उनीहरू पनि अहिले उल्टो विद्यालयमा सुरक्षा व्यवस्था बलियो बनाउनुपर्नेमा जोड दिन थालेका छन् ।
संरा अमेरिकामा बन्दुक नीतिमा सुधारमा भएको असफलताले धेरै अमेरिकी जनताको ज्यान लिनुका साथै अमेरिकी प्रजातन्त्रमाथि पनि प्रश्न उठिरहेको छ । सुरक्षाको वातावरणप्रति संरा अमेरिकी जनताको विश्वास कमजोर बन्दै जाँदा आत्मरक्षाको लागि बन्दुकको माग अझ बढ्दै जानेछ । जसले एउटा अन्त्यहीन चक्र बन्दै जानेछ । संरा अमेरिकामा ध्रुवीकरण गहिरो बन्दै गएपछि बन्दुक नीतिको बहस ओझेल पर्दै जाने सम्भावना छ । फलतः गोलीकाण्डका वियोग फेरि फेरि पनि दोहोरिनेछ ।
(लेखक कोलम्बिया विश्वविद्यालयका फुलब्राइट विद्यार्थी र चिनियाँ अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत अमेरिकी अध्ययन केन्द्रका सहायक अध्येता हुनुहुन्छ । उहाँले चिनियाँ परराष्ट्र अध्ययन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिमा विद्यावारिधि गर्नुभएको छ ।)
स्रोत : सीजीटीएन
नेपाली अनुवाद : सुमन
Leave a Reply