भर्खरै :

रासायनिक मल तुरुन्त उपलब्ध गर सरकार !

काठमाडौँ, २० जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा राजधानीको रत्नपार्कमा रासायनिक मल तुरून्त उपलब्ध गराउन शुक्रबार सरकारको विरोधमा दबाब जुलुस सम्पन्न भएको छ ।
जुलुस रत्नपार्कबाट सुरू भएर बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, सहिदगेट, न्युरोड, इन्द्रचोक, बाङ्गेमुढा, असन, भोटाहिटी भएर पुनः रत्नपार्कमा आई सभामा परिणत भएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “जेठ ३ गतेबाट संसद् सुरू भयो । सरकारको बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम र विनियोजित विधेयकमा कृषिलाई प्राथमिकता दिनुपर्ने विषयमा हामीले जोड दियौँ ।”
“सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा हामीले प्रम शेरबहादुर देउवासँग रोपाइँ सुरू भयो, रासायनिक मलको व्यवस्था किन भएन भन प्रश्न उठायौँ । तर, प्रम देउवाले हाम्रो प्रश्नको जवाफ दिनुभएन । यसले नेका नेतृत्वको देउवा सरकार किसानविरोधी भएको पुष्टि ग¥यो”, सांसद सुवालले भन्नुभयो ।
सरकारको बजेटमा रासायनिक मल कारखाना स्थापनाको लागि बजेट विनियोजन गर्नुपर्ने विषय पनि उठाएको तर बजेट विनियोजन नगरेको उहाँले बताउनुभयो ।
सांसद सुवालले आजको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्मासँग पनि रोपाइँ सुरू भएको तर रासायनिक मल उपलब्ध नभएको विषयमा प्रश्न राखेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विधेयकबारे बोल्ने क्रममा प्रम देउवा पनि संसद्मा उपस्थित हुनुहुन्थ्यो । हामीले रोपाइँको लागि रासायनिक मल माग गरी हजारौँ किसानहरू रत्नपार्कमा भेला भई बागबजार, पुतली सडक, भृकुटीमण्डप, भद्रकाली, धरहरा, नयाँ सडक, असन, भोटाहिटीको मार्गमा जनप्रदर्शन भए र सहभागी किसानहरूले रोपाईँ सुरू भइसक्दा समेत रासायनिक मल व्यवस्था गर्न नसकेको देउवा सरकारको राजीनामा माग गरेको जानकारी गरायौँ ।”
“देशघाती एमसीसी सम्झौता पारित गरेका राजनीतिक दलहरूकै स्थानीय तहको निर्वाचनमा धेरै मत र प्रतिनिधि भएको देश र जनताको हितमा छैन । एमसीसी सम्झौता पारितसँगै देशको सार्वभौमिकतामाथि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको हस्तक्षेप बढेको छ”, सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले युक्रेनमा हतियार तैनाथ गरेको हुँदा रूस–युक्रेन तनाव भएको हो । बहुदल र गणतन्त्रको ३२ वर्ष यता पालैपालो सरकारको नेतृत्व गरेका राजनीतिक पार्टी र प्रधानमन्त्रीहरूले देशमै रासायनिक मल कारखाना खोलेको भए रोपाइँको बेला मलको हाहाकार हुने थिएन ।”
उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि अमेरिकी साम्राज्यले रूसविरूद्ध युक्रेनलाई उक्साएकै कारण भएको हो । सरकारहरूले समयमै जलविद्युत् उत्पादन गरेको भए धेरै अगाडि नै पेट्रोलियम पदार्थलाई जलविद्युत्बाट प्रतिस्थापन हुने थियो ।”
सांसद सुवालले भन्नुभयो, “नेपाली काङ्ग्रेसको देउवा सरकारले किसानहरूलाई रासायनिक मलको व्यवस्था गर्नेछैन । यसकारण, यो सरकालाई जतिसक्दो चाँडो विस्थापन गर्नु आवश्यक छ । देउवा सरकार रहिरहेसम्म नेपालको जनसङ्ख्याको ७० प्रतिशत भएका किसानहरूको हित हुनेछैन ।”
बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरूले पटकपटक सत्तामा पुगेर अन्न निर्यात गरिरहेको देशलाई आयात गर्ने देशमा परिणत गरेको बताउनुभयो । वर्तमान सरकारलाई जनमारा र किसानमारा सरकार भन्दै नयाँ बिउबिजन, सिँचाइ र मलको व्यवस्था गरेको खण्डमा ५ वर्षमा हामी खाद्यान्न निर्यात गर्ने देशमा उक्लिने जिकिर गर्नुभयो ।
उहाँले पाठ्यपुस्तकको अभाव, फोहरमैला र प्रदूषण, मूल्यवृद्धिले देउवा सरकारको असफलता औँल्याइरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले अन्न उत्पादनमा कम बजेट विनियोजन गरेर वर्तमान सरकारले आफ्नो किसानविरोधी चरित्र उजागर गरेको बताउनुभयो ।
दबाब सभामा नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँका अध्यक्ष वीरबहादुर डंगोलले नेक्राकिसङ्घले जस्तै सबै पार्टीमा रहेका किसानहरूले आवाज उठाउँदै गएमा सरकारले किसानहरूसामु घुँडा टेक्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ भक्तपुर जिल्लाका अध्यक्ष मीनबहादुर बाटाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *