भर्खरै :

शिक्षा, स्वास्थ्य र सम्पदा निर्माणमा भनपा सक्रिय

भक्तपुर, २० जेठ । शारदा माध्यमिक विद्यालयको आयोजनामा स्थानीय तह २०७९ को निर्वाचनमा विजयी भक्तपुर नगरपालिकाका प्रमुख, उपप्रमुख एवं जनप्रतिनिधिहरूको सम्मानमा शुक्रबार एक समारोहबीच बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले शिक्षा, स्वास्थ्य र सम्पदा निर्माणमा भक्तपुर नगरपालिकाले नमुना काम गरिरहेको चर्चा गर्दै आज हरेक घरमा स्नातक र स्नात्तकोत्तर उत्तीर्ण विद्यार्थी हुनु सफलताको एक उदाहरण भएको बताउनुभयो ।
सार्वजनिक विद्यालयको उन्नति भएमा बहुमत मजदुर र किसानका छोराछोरी लाभान्वित हुने धारणा राख्दै प्रमुख प्रजापतिले शैक्षिक क्षेत्रमा कुनै पनि बन्द–हडताल गर्न नहुने बताउनुभयो ।
विद्यार्थीलाई समय सुहाउँदो शिक्षा प्रदान गर्न हरेक शिक्षक तयार हुनुपर्ने र त्यसको लागि आफू स्वयम् मेहनती र सृजनशील हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले जनतासँग जनप्रतिनिधिले मिलेर काम गरेकोले आज भक्तपुरलाई हेर्ने नजरमा परिवर्तन आएकोे बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले सामुदायिक विद्यालयको स्तर उन्नतिका लागि भनपा निरन्तर लागिरहेको बताउँदै विद्यार्थीलाई तल्लो तहबाट नै राम्रो र गुणस्तरीय शिक्षा दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भक्तपुरको सम्पदा जीवन्त राख्न थप अनुसन्धान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै भनपाका जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भनपा वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाले पुँजीवादी विकृतिविरूद्ध समाजवाद प्रचार अभियानमा नेमकिपा निरन्तर लागिपरेको बताउँदै भनपाले सार्वजनिक विद्यालयको सुधारमा विभिन्न गतिविधि अगाडि बढाइरहेको छ भन्नुभयो ।
वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले नेमकिपाले राजनीतिलाई सेवाभन्दा पेशा वा व्यापार ठानेको भए आज भक्तपुरको अवस्थामा यस प्रकारको सुधार नहुने धारणा राख्दै जनप्रतिनिधिहरूले जनताको भावनाअनुसार काम गर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर सुवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रोशनराज तुइतुई, शिक्षक सुन्दर राजचल, शिक्षिका शीला थापालगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *