भर्खरै :

भक्तपुर सिकर्मी सङ्घद्वारा भक्तपुर नपाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाईज्ञापन

भक्तपुर, २० जेठ । भक्तपुर सिकर्मी सङ्घ जिल्ला समितिको आयोजनामा भक्तपुर नपाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरू उपेन्द्र सुवाल र राजकृष्ण गोरा तथा वडा नं. ३ का वडा सदस्य कृष्णगोपाल चौगुठीलाई बधाईज्ञापन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरको मौलिक प्रविधिको संरक्षण र जगेर्नाले गर्दा भक्तपुरको पहिचान कायम भएको बताउँदै परम्परागत पेशा व्यवसाय जोगाइराख्न पर्यटकलक्षित वस्तुहरूको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
सरकारले परम्परागत पेशा व्यवसायलाई प्रवद्र्धन गर्न कर छुट गर्नुपर्ने, अनुदानको व्यवस्था, सहुलियत दरमा ऋण प्रदान र स्वदेशी कच्चा पदार्थको प्रयोगमा सहुलियत दिनुपर्नेमा जोड दिँदै उहाँले आफूसँग भएको सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्न विभिन्न तालिमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले जनतालाई प्रत्यक्षरूपमा फाइदा पुग्ने काम गरिरहेको बताउँदै उहाँले विचार र सिद्धान्तले समाज बदल्छ भन्नुभयो । उहाँले संसारकै नवीनत्तम विचार भनेको समाजवादी विचार हो भन्दै नेपालमा अहिले समाजवादी क्रान्तिको खाँचो रहेको औँल्याउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले जनताले पुनः नेमकिपाका प्रतिनिधिमाथि विश्वास गरी अत्यधिक बहुमतले विजयी गराउनुभएकोमा धन्यवादज्ञापन गर्दै सिकर्मी पेशा देशको कला र संस्कृति संरक्षण गर्ने सम्मानित पेशा भएको हुँदा यस पेशालाई अझ व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्छ भन्नुभयो । भक्तपुरको प्रतिष्ठा आजको उचाइमा पुग्न यहाँका मौलिकता, मूर्त र अमूर्त सम्पदा संरक्षणले महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो ।
भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नेमकिपाले विचार र सिद्धान्तको आधारमा चुनाव जित्दै आएको बताउँदै राजनैतिक कार्यकर्ताहरू सैद्धान्तिकरूपमा प्रतिबद्ध रहनुपर्ने बताउनुभयो ।
भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणमा गरेको उल्लेखनीय कार्यको आज सिङ्गो देशले उच्च प्रशंसा गरिरहेको बताउँदै नेमकिपाको उद्देश्य देश र जनताको सेवामा निहित रहेको बताउनुभयो ।
सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा सदस्य कृष्णगोपाल चौगुठी, सङ्घका सल्लाहकार विष्णुभक्त कुसी, उपाध्यक्ष रामसुन्दर सुवाललगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *