भर्खरै :

नयाँ पुस्तालाई सम्पदाप्रतिको माया र अपनत्व सिकाउन जरुरी

भक्तपुर, २२ जेठ । ५ जून अर्थात् विश्व वातावरण दिवसको अवसरमा भक्तपुर नगरपालिकाको आयोजनामा आइतबार भक्तपुर नपा वडा नं. १ दूधपाटीस्थित भाज्या पुखुमा सरसफाइ कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानव समाज र प्रकृतिबीचको सम्बन्ध अन्योन्याश्रित भएको बताउँदै वातावरणीय सन्तुलन कायम गर्नु हाम्रो साझा कर्तव्य भएको बताउनुभयो ।
काठमाडौँ उपत्यकाका नेवार समुदायले इनार, ढुङ्गेधारा, कुवालगायत खानेपानीको स्रोत सरसफाइ गरी मनाउने सिथि नखः चाड आफैँ पनि वैज्ञानिक पर्वको रूपमा रहेको बताउँदै उहाँले नयाँ पुस्तालाई यहाँको सम्पदाप्रतिको माया र अपनत्व कायम राख्न यस किसिमको सरसफाइ कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले विगतका दिनहरूमा सञ्चालन गर्दै आइरहेको पाक्षिक सरसफाइ कार्यक्रममा स्थानीय जनताको समेत उल्लेखनीय सहभागिता रहने गरेको बताउँदै नपाको हरेक गतिविधिलाई जनताकै सहयोग र सहभागितामा गर्न सके फाइदाजनक हुने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नेवार समुदायले मनाउँदै आएको सिथि नखः पर्व आफैमा पानीको मुहान सरसफाइ गर्ने पर्वको रूपमा रहेको बताउँदै सामूहिक प्रयासबाट हुने कामबाट व्यापक जनताकै हित हुने बताउनुभयो ।भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार सरसफाइ कार्यक्रममा भक्तपुर नगरपालिकाका कर्मचारी, ख्वप कलेज वातावरण सङ्कायका विद्यार्थी, बासु कलेज कृषि विषयका विद्यार्थी, स्थानीय युवा, विद्यार्थी, किसानलगायतको उपस्थिति थियो ।
कलेज परिसरमा सरसफाइ तथा वृक्षरोपण
त्यस्तै भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान सिभिल विभागको आयोजनामा विश्व वातावरण दिवको अवसर पारेर आज कलेज परिसरमा सरसफाइ तथा वृक्षरोपण कार्यक्रम भएको छ ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो घर वरपरको वातावरण सफा र हराभरा बनाइरहन समय–समयमा सरसफाइका साथै वृक्षरोपणका कार्यक्रमहरूको आयोजना हुनुपर्ने बताउनुभयो ।
उहाँले वातावरणको महत्व बुझाउन विद्यार्थीहरूलाई विद्यालयस्तरदेखि नै यसको महत्वबारे शिक्षा दिनुपर्नेमा जोड दिँदै उहाँले भक्तपुर नपाले एक विद्यालय एक सम्पदा सरसफाइ अभियान विगत पाँच वर्षदेखि सञ्चालन गर्दै आइरहेको बताउनुभयो । भक्तपुरमा दमखोकी र श्वासप्रश्वासका बिरामीहरू दिनानुदिन बढिरहेको हुँदा भक्तपुर नपाले छाती पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याई सर्वसुलभरूपमा उपचार सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको सिथि नखः पर्वमा आफू वरपर रहेका पानीको मुहान सरसफाइ गर्ने परम्परा रहँदै आएको बताउँदै आजको दिन प्रकृतिलाई सम्मान गर्ने दिनको रूपमा रहेको बताउनुभयो ।
डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद सापकोटाले जून ५ को दिन विश्वभर वातावरण दिवस मनाउने गरेको बताउँदै वातावरण सरसफाइ, वृक्षरोपणजस्ता कार्यक्रमहरूलाई वर्षैंभरि प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ भन्नुभयो ।
कार्यक्रममा ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य रत्नसुन्दर लासिवाले स्वागत मन्तव्य राख्नुभएको थियो भने भक्तपुर नपा वडा नं. १० का वडा सदस्य कृष्णनारायण दुमरुलगायतले आआफ्नो धारणा राख्नुभयो । डिभिजन वन कार्यालयले वृक्षरोपणका लागि ४० ओटा बोटबिरुवा उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *