भर्खरै :

भक्तपुर क्यान्सर अस्पतालमा अनुशासनहीनता बढ्दो

भक्तपुर, २३ जेठ । सरकारी अस्पतालको रूपमा परिणत भएको भक्तपुर क्यान्सर अस्पताललाई असफल पार्ने नियतले केही डाक्टर र कर्मचारीहरूको अनुशासहीन क्रियाकलाप बढिरहेको बताइएको छ । केही डाक्टरहरूको अनुशासनहीनता वा स्वेच्छाचारिताले गर्दा अस्पतालमा उपचाररत र उपचार गर्न आउने बिरामी र बिरामीका आफन्तहरू हैरान छन् । केही डाक्टरहरू समयमा नै अस्पताल आइनपुग्ने, भर्ना भएका बिरामीहरूले पनि कुनै कुनै दिन घण्टौँ पर्खनुपर्ने, ओपीडीमा बिरामीहरूलाई घण्टौँ पर्खाएर डाक्टरहरू क्यान्टिनमा वा अस्पताल वरपरका रेष्टुरेन्टमा आराम फर्माएर बस्ने गरेको पाइएको र सुनिएको छ । अस्पताल प्रशासनमा गुनासो गर्न जाँदा –डाक्टरसाब आउनुहुन्छ, एक क्षण पर्खनुस् न है –भन्दा अर्को कुनै जवाफ नपाइने भुक्तभोगीहरूको अनुभव छ ।
भक्तपुर नगरपालिका, स्थानीय बासिन्दा र भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरूको संयुक्त प्रयासले एक गैरसरकारी संस्था नेपाल अर्बुद रोग निवारण संस्थाले कब्जा गरी मनपरीतन्त्रबाट सञ्चालन गरिराखेको अस्पताललाई २०७७÷०७÷२३ गते नेपाल सरकारद्वारा भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन गरी सञ्चालन गर्दै आइरहेको सर्वविदित्तै छ । विगतमा अस्पताल व्यवस्थापन समितिको नाममा नेपाल अर्बुद रोग निवारण संस्थाका पदाधिकारीहरूले कमिसन र भ्रष्टाचारको थलो बनाउँदै आएको अस्पतालमा नेपाल सरकारमातहत आइसकेपछि सेवा प्रवाहको क्षेत्रमा अझ सुधार र व्यापकता आएको छ । आर्थिक सङ्कटमा डुब्न लागेको अस्पताल अहिले पूर्णतः सङ्कटमुक्त रहेको पनि बताइएको छ । पूर्वाधार अभाव आज पनि अस्पतालले सामना गरिरहेका समस्यामध्ये एक रहेको छ । तर, अहिलेको अस्पतालको मुख्य समस्या पूर्वाधार अभाव होइन बरु केही डाक्टरहरूको अनुशासनहीनता वा स्वेच्छाचारिता रहेको अस्पतालमा उपचाररत र उपचार गर्न आउने बिरामी र बिरामीका आफन्तहरूको रहेको छ ।
आर्थिक सङ्कटले डुब्न लागेको अस्पताललाई नेपाल सरकारको मातहतमा आइसकेपछि बिरामी र कर्मचारीहरूलाई धेरै राहत मिलेको छ । सम्पूर्ण बिरामीहरूले उच्चस्तरीय सेवा पाइराखेका छन् भने कर्मचारीहरू खुसीका साथ उच्च मनोबलले कार्य गरिराखेका छन् । अस्पतालको भौतिक विकासका साथै राष्ट्रिय क्यान्सर संस्थाको रूपमा विकास गर्ने कार्यअगाडि बढिराखेको छ ।
नेपाल अर्बुद रोग निवारण संस्थामा आबद्ध केही चिकित्सकहरूले भक्तपुर क्यान्सर अस्पताल डाक्टर सोसाइटी स्थापना गरी त्यसलाई राजनीतिक सम्पर्क र पहुँच विस्तारको माध्यम बनाइरहेको देखिएको छ । उक्त संस्था नेपाल अर्बुद रोग निवारण संस्थाका पूर्वपदाधिकारीहरूको चलखेल भइरहेको बताइएको छ । नेपाल सरकारले अस्पताल सञ्चालन गर्न सकेन भनेर अस्पताललाई फेरि नेपाल अर्बुद रोग निवारण संस्थामा फर्काउने गतिविधि गरिराखेको देखिन्छ । उक्त कुराको पुष्टि अर्बुद रोग निवारण संस्थाका पदाधिकारीहरू र डाक्टर सोसाइटी पदाधिकारीहरूको सामाजिक सञ्जालका पोस्टहरूबाट प्रस्ट हुन्छ । डाक्टर सोसाइटीका केही पदाधिकारीहरूले अस्पतालको नियम कानुन नमान्ने, समयमा अस्पताल उपस्थिति नहुने, चाँडै फर्कने, बिरामीलाई सेवा प्रदान नगर्ने, निजी क्लिनिकमा बिरामी लाने, नचाहिँदो हल्ला फिजाई अस्पताल प्रशासनलाई कमजोर बनाउने कार्य गरिराखेका छन् ।
अस्पताल प्रशासनले पटक–पटक अस्पताल समयमा नआउने र चाँडो फर्कने विषयमा केही चिकित्सकहरूलाई सचेत गराउँदा पनि अटेर गरिराखेकोले केही हप्ता पहिलेदेखि इलेक्ट्रोनिक हाजिरी बिहान ९ः१५ बजेसम्म खोल्ने र दिउँसो ३ः१५ पछिमात्र खोल्ने व्यवस्था गरेपछि ती केही डाक्टरहरू समयमा अस्पताल आउन नसकेपछि केही दिन पहिले अस्पताल प्रमुखको कार्यकक्षमा आक्रोशमा प्रवेश गरी “हामी समयमा आउन सक्दैनौँ, हामी कानुन मान्दैनौँ, जुनसुकै बेला पनि हाजिर गर्न पाउनुपर्छ, जान पाउनुपर्छ । तल्लो तहका कर्मचारीहरूसँग लाइनमा बसेर हाजिर गर्न सक्दैनौँ । यसलाई सुरुन्त खारेज गर्नुपर्छ । नत्र नराम्रो परिमाण भोग्नु पर्ला” भनेर केही नेपाल अर्बुद रोग निवारण संस्था आबद्ध डाक्टरहरूले निर्देशकलाई थर्काएको बताइएको छ ।
अस्पताल प्रशासन मूकदर्शक र निरीह भएर बस्ने र अनुशासन पालना गराउन नसक्ने हो भने उपलब्धिहरू गुम्ने सम्भावना एकातिर रहेको र अर्कोतिर बिरामीको सेवामा असर परिराखेको छ । यस्तै भइराखेमा स्थानीय सरकारले फेरि हस्तक्षेप गर्नुपर्छ भन्ने कर्मचारीहरूको धारणा छ ।
यसबारेमा बुझ्न खोज्दा कार्यकारी निर्देशक डा. विष्णुदत्त उप्रेतीले फोन उठाउनुभएन भने डाक्टर सोसाइटीका अध्यक्ष डा. उज्ज्वल चालिसेले अस्पतालमा कुनै अनुशासनको समस्या नरहेको र सोसाइटीले कसैलाई जोगाउने वा फसाउने कुनैखाले राजनीति नगरेको बरू प्रतिशोधका आधारमा कसैमाथि दुःख दिने वा कारबाही गर्नुहुँदैन भन्ने आवाजमात्र राखेको बताउनुभयो ।
उहाँका अनुसार काठमाडौं र ललितपुरबाट अस्पतालमा डयुटी गर्न आउने केही डाक्टर र अन्य स्वास्थ्यकर्मीमाथि २–४ मिनेट ढिलो हुँदा हाजिर नै गर्न नदिएपछि केही असन्तुष्टि पोखिएको मात्र हो भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *