भर्खरै :

नेताहरू ढाँट्न छोडौँ, सकिन्छ ?

एउटा जिज्ञासा ! नढाँटिकन यद्वा झूटो नबोलिकन राजनीति चल्छ कि चल्दैन ? मैले पढे जाने बुझेसम्म राजनीतिमा जे जे गरे पनि ढाँट्नु हुँदैन, झूटो बोल्नु हुँदैन । राजनीतिको मुटु भनेकै सत्यवादिता हो । नेता, नेतृत्व जहिलेसम्म सत्यवादिताको लक्ष्मणरेखाभित्र बस्छन्, आफूलाई अटाउन सक्छन् त्यो नेताको नेतृत्व सुरक्षित हुन्छ, जनताले पत्याउँछन् । जब नेता वा नेतृत्व झूटो कुरा गर्न थाल्छ तबबाट उसको नेतृत्वमा प्रश्नवाचक हुनथाल्छ । यो विधि विधान एक देश, एक ठाउँमा मात्र लागू हुने होइन, विश्वव्यापी सत्य हो । सत्यको परिभाषा संसारभर नै एउटै छ त्यो हो नढाँटनु । यो यथार्थ यथार्थमा यथार्थ नै हो । हो त यथार्थ भनेको यथार्थ नै हुन्छ । आज संसारले नै स्पष्ट भन्ने गर्छ नेता हो ! नढाँट, फटाहा कुरा नगर । कतिपय नेताले फट्याइँ पनि नगरी नहुने तर सोझै फट्याइँ पनि गर्न नहुने भएपछि एउटा अर्को बाटो झिके । त्यो चलाखीले निकै समयसम्म काम दियो र अझै पनि यो द्वेर्थक शब्द प्रयोगको युग गएको छैन । यो चलाखीले कति लामो समय काम दिन्छ भन्न सकिँदैन । लामै समय भयो यो प्रविधि वा विधा प्रयोग भएको । यो द्वेर्थक शब्द प्रयोगले नेताहरूको औपचारिक नेतृत्वलाई जोगाएको निकै भइसक्यो । तर यसको विकल्प पत्ता लागेको छैन । यो विधि अब लामो समय रहँदैन ।
किसान बिग्रियो, सरकार नि ?
नेपाल आज निकै असजिलोमा छ । कृषिप्रधान देश तर तीन खर्ब रुपियाँ बराबरको कृषिसँग सम्बद्ध उपभोग्य वस्तुहरू आयात गर्छ सत्र खर्ब रुपियाँ बराबरको बजेटमा । यो त उँभो लाग्ने बाटो होइन जुनै दृष्टिबाट विश्लेषण गर्दा पनि । सरकार छ, बजेट पेश हुन्छ, पास हुन्छ । सबै खालका औपचारिकता पूरा हुन्छन्, तर सम्पूर्ण अर्थतन्त्र आयातमुखी भयो । यसरी त मुलुक सधैँ चल्दैन । निर्यात व्यापार बढाउनैपर्छ । हामीसँग कम्तीमा पनि कृषि उत्पादन निर्यात गर्न तत्काल नभए पनि आफूहरूलाई पुग्ने त उत्पादन हुनैप¥यो । कृषिप्रधान देश गुन्द्रुकसम्म पनि चीनबाट र तरकारी, दूध, थोत्रा भैँसी र बूढा राँगा, खसी–बोका, बाख्रा, माछालगायत खाद्यवस्तु समेतमा छिमेकी देशमा निर्भर हुनुपरेपछि के कसोगरी प्रगति र सम्मुन्नति गर्नु ! लसुन, प्याज, आलुजस्ता वस्तु अर्बौँ अर्ब रुपियाँका करोडौँ–अर्बौ अर्बका आयात गर्नु गरेपछि के होला हालत ! सरकारलाई पूर्ण अवगत छ । अब धान रोप्ने ऋतु आयो । गोठेमलको चलन हराएर गयो । खेतीका लागि रासायनिक मलको आवश्यकता पर्छ । तर, न आफ्नै मुलुकमा रासायनिक मलको कारखाना खोल्छ न त बजारमा किन्न नै मल उपलब्ध गराउँछ । मकै खेती गरी देशलाई थोरबहुत जे भए पनि सघाउन खोज्ने किसान मल किन्न पाउँदैनन् । तब मकै खेती उत्पादक हुँदैन । किसान त बिग्रियो नै सरकार नि !
ठाउँ मिलाइदेउ न सरकार !
कृषिप्रधान देश नेपाल । कृषिकर्मका लागि नभई नहुने असल बीउ, मल, सिँचाइ, उपयुक्त समयमा खनजोत, रेखदेख, समयमा गोडाइ आदि नभई नहुने विषय हुन् । समयमा यस्ता कुराको व्यवस्था गर्न नसके कृषि लाभप्रद हुँदैन । खेती गर्ने किसान हुन्छ, उँभो लाग्न सक्दैन । जिम्मेवार सरकारले समयमा नै यी सेवा उपलब्ध गराउनुपर्ने होइन र ? तर, एक वर्षमात्र हो र हरेक वर्ष पुनरावृत्त हुन्छ उही सेवाको अभाव, उही धिङ्न्याहा हो । किसान कति सहन्छ यस्ता वेदना ? उखु किसानलाई चिनी कारखानाहरूले समयमा उखुको पैसा नदिएर हैरान । रासायनिक मल कारखाना किन खोल्दैन सरकार ? के उचित जवाफ छ सरकारसँग ? उन्नत जातको बीउको नाममा दाना नै नलाग्ने बीउ बेच्छन् व्यापारीले । सबै स्याहार गर्छन् किसानले तर समयमा न धान फल्छ बालामा न त मकै फल्छ घोगामा । बोट हुन्छ तर गेडा हुँदैन । किसानले बोटका लागि त खेती गरेको हुँदैन, दानाको लागि खेती गरिएको हुन्छ । तर, दाना नै लाग्दैन । काम गरेर मुलुकमा उत्पादन बढाऊँ, उत्पादकत्व बढाऊँ भनी काम गर्ने किसान यसरी मारमा परेपछि कसरी हुने समृद्धि ? अर्को पक्ष छ फोहोर उठाउने र सुरक्षित बिसर्जन गर्ने मुद्दा । मान्छे बसेको ठाउँमा फोहोर सिर्जना हुन्छ संसारैभर । तर सरकारले त्यसको भरपर्दो बिसर्जनको व्यवस्था गरेको हुन्छ । हाम्रो यस खाल्डोको फोहोर बिसर्जनको भरपर्दो बिसर्जनको उचित व्यवस्थापन गर्न सकेन । सिसडोल भरियो, बन्चरे डाँडामा सुरु गर्नै सकेन । के गरून् नवनिर्वाचित मेयर बालेन साह र पुननिर्वाचित मेयर चिरिबाबु महर्जनहरूले । ठाउँ मिलाइदेउ न सरकार ।
ताल्चा विश्वविद्यालय राख्ने कि नाम ?
अर्को कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय चल्न सकेको छैन सुचारुरुपले । उपकुलपतिको कार्यालयमा ताल्चा, रेक्टरको कार्यालयमा ताल्चा, ताल्चामाथि ताल्चै ताल्चा ¤ अब सो विश्वविद्यालयको नाम नै परिष्करण गरी ताल्चा विश्वविद्यालय राख्नुपर्ने औचित्य पो देखापरेको छ । विभिन्न समुदायका नयाँ स्नातक युवाहरूलाई ज्ञान, विज्ञान, प्रविधि एवं विभिन्न दर्शनशास्त्रमा कुशल युवा स्नातकोत्तर उत्पादन गर्ने गम्भीर दायित्व वहन गरेको विश्वविद्यालय ताल्चा लगाउने एउटा पक्षले, अर्को पक्षले अर्को ताल्चा थप्ने, अरु पक्षले ती लगाएका ताल्चा फोरी आ–आफ्ना पक्षका ताल्चा लगाउने अभ्यास पो हुने गर्छ, हाम्रो पहिलो विश्वविद्यालयमा । तसर्थ यो ताल्चा प्रकरणलाई सम्मान गर्न त्रिभुवन विश्वविद्यालयको नाम नै ताल्चा विश्वविद्यालय राख्ने कि ? यसरी आजको सन्दर्भ नै पूरै बदलिएको छ । यो सबै विकृति, विसङ्गतिको एउटैमात्र कारण हाम्रो आजको अराजनीतिक राजनीति हो भन्ने लाग्छ । नेताहरू ढाँट्न छोड्नोस्, झूटो बोल्न छोड्नोस् परिस्थिति आफै सङ्लिन थाल्छ । तपार्ईं नेता पत्याउनुहुन्न होला मेरा यी छुरा कुरा । तर गरिहेरौँ त एकपल्ट तपार्इँ आफै छक्क पर्नुहुन्छ । सप्रने उपाय दुुरुह रहनेछ भनी । अन्यथा देश बिग्रन लाग्यो । देश बिग्रियो भने हामी पनि बिग्रन्छौँ । यो कटुसत्य आत्मसात गरौँ नेताहरू ढाँट्न छोडौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *