यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
देशको परराष्ट्र नीति कुनै एक नेता, प्रधानमन्त्री या मन्त्रीको कारण हेरफेर हुँदैन । सरकारले कायम गरेर परराष्ट्र नीतिबारे कुनै हेरफेर नगरेसम्म आफूखुसी कुनै नेता र मन्त्रीले परिवर्तन गर्न पाउँदैनन् र परराष्ट्र नीतिमा आँच आउने कुनै विचार व्यक्त गर्न पाउँदैनन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले रुस–युक्रेन युद्धमा युक्रेनको पक्ष लिएर असंलग्न परराष्ट्र नीतिको उल्लङ्घन गरे । सरकारको नेतृत्व गर्ने दल हेरफेरको भएको आधारमा कुनै देशको समर्थन र विरोध गर्ने अधिकार हुँदैन । त्यसको आधारमा सरकारले कहिले भारतको विरोध, कहिले संरा अमेरिका र चीनको विरोध गरेर आफ्नो देशको कर्तव्य पूरा हुँदैन । यस कुरामा सरकारले हेक्का राख्नैपर्छ ।
देउवा नेतृत्वको सरकार संरा अमेरिका र भारतको पिछलग्गू देश बनेको छ । देशघाती एमसीसी सम्झौता पारित गर्नु यसको पछिल्लो दृष्टान्त हो । सरकारले एक अमेरिकी निगमसँग सम्झौता गर्नैपर्ने विषय होइन । सरकारले नेपाल र नेपाली जनताको अहित हुने सम्झौता अनुमोदन गर्नु अमेरिकाको पक्षपोषण गर्नु हो, भारतको पक्ष लिनु हो । नेपाल र नेपालीलाई दूरगामी असर पुग्ने सम्झौतामा हस्ताक्षर अमेरिकी प्रशासनको दबाबले नै भएको हो । हालै अमेरिकी उपविदेशमन्त्री उज्रा जिया नेपालमा रहेका तिब्बती शरणार्थीहरूको क्याम्पमा सरकारको अनुमतिविना सुटुक्क पस्नु पछिल्लो अर्को हस्तक्षेप हो । यसमा सरकार मौन रहनु अमेरिकी हस्तक्षेप स्वीकार्नु हो ।
विस्तारवादी भारत र साम्राज्यवादी अमेरिका विश्वका शान्तिकामी, न्यायप्रेमी र प्रजातन्त्रवादी जनताका साझा शत्रु हुन् । भारत र अमेरिकाले शक्तिको हुङ्कार देखाएर संसारका स्वाधीन र सार्वभौम मुलुकहरूमा आर्थिक नाकाबन्दी, दबाबमात्र होइन आक्रमण गरेर आतङ्कित पार्दै छन्, देश देश जुधाएर फाइदा लुट्दै छन्, देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेर उत्पात् मच्चाउने गरिरहेका छन् । यस्ता देशहरूसँग साठगाँठ गरेर या उठबसमा रहेर देश चलाउने शासकहरू कसरी देशभक्त हुन्छन् र उनीहरू देशको परराष्ट्र नीतिको किन ख्याल गर्दैनन् ? देशको परराष्ट्र नीतिको मूल्य र मान्यता तोडेर प्रम देउवा किन हौसिएका हुन् ? के नेपाल रुसविरोधी हो ? के नेपाल चीनविरोधी देश हो ? चीन र रुसको विरोध गरेर नेकाको नेतृत्वमा बनेको गठबन्धन सरकारले भारत र अमेरिकाको अन्धसमर्थन गरेको हो ? के यसरी अन्ध समर्थन गर्न मिल्छ ? के यो नेपालको असंलग्त परराष्ट्र नीति विपरीत छैन ?
कुनै दलको नेताले राष्ट्रिय र अन्तर्राष्ट्रिय सवालमा आफ्नो विचार राख्नु एउटा पाटो हो भने राष्ट्रप्रमुख या सरकार प्रमुखले विचार राख्नु अर्को पाटो हो । सरकार प्रमुखले दलको होइन देशको प्रतिनिधित्व गर्छ, देशको नीति नियममा रहेर बोल्छ, बोल्नुपर्छ । तर, नेपालका शासकहरू आफ्नै देशको नीतिविरुद्ध बोल्छन्, नीतिविरुद्ध मत हाल्छन् र समर्थन गर्छन् । शासकहरू यसरी देशविरोधी कदम किन चाल्छन् ? यो शासक दलहरूको हेलचेक्र्याइँ हो, यो नेपाल र नेपाली जनतामाथिको खेलबाड हो । यसबारे हरेक सरकार प्रमुखहरू सचेत हुनुपर्छ ।
Leave a Reply