जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
नेपालको राजनैतिक आन्दोलनमा पुँजीवादी लेखक, नेता तथा कार्यकर्ताहरूले ‘कम्युनिस्ट’ शब्द र आदर्शलाई गलत अर्थमा प्रयोग गरेको पाइन्छ । कम्युनिस्ट नामका शासक पार्टीहरूका नेता र कार्यकर्ताहरू कुराले एउटा र कामले अर्को गर्ने पाखण्डी छन् ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको उद्देश्य भनेको एक आदर्श समाजको निर्माण गर्ने हो । यसको निम्ति पुँजीवादको विरोधमा सशस्त्र सङ्घर्षबाट वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्ने हो । वैज्ञानिक समाजवादका चरणहरूपछि विश्वव्यापीरूपमा वर्गविहीन, शोषणरहित, राज्यविहीन प्रारम्भिक चरणको एक आदर्श समाजको स्थापना गर्ने र अन्ततः साम्यवादी समाजमा रूपान्तरण गर्ने जस्ता विषयको चर्चा एवम् छलफल भएन । तिनीहरूले झूटो आश्वासन दिई, भोजभतेर गर्दै, पैसा र सामान उपहार दिएर, धर्म, भाषा र जातको साम्प्रदायिक भावना फैलाएर, हुल्याहाहरू बटुलेर, बल प्रयोग र छलछाम गरेर निर्वाचन जित्ने उपाय गरे । साथै, तिनीहरूले आफ्ना छोराछोरी र नातागोतालाई आर्थिक फाइदाको पदमा पु¥याए । ठेकेदार, तस्कर, कालाबजारिया, विदेशी सामान तथा औषधी कम्पनी र वाहन (गाडी) का ‘एजेन्ट’ हरूकै सल्लाहमा विधेयक र ऐनकानुन बनाउँदै देशको शासनयन्त्रलाई भ्रष्टहरूको हातमा पु¥याउने काम गरेको यसपालिको स्थानीय निकायबाट अझ प्रस्ट भयो । ६ महिनापछि हुने प्रदेश र संसद् (प्रतिनिधिसभा) को सदस्य निर्वाचनमा अझ धेरै विकृति र विसङ्गति देखिनेछ । निर्वाचन नियमावली उल्लङ्घन गरेको देख्ने हरेक संवेदनशील समुदायले यस्तै अनुमान गर्दै छन् ।
विज्ञान, प्रविधि, उद्योग र व्यापारको विकाससँगै किसानको सङ्ख्या कम हुँदै मजदुरहरूको सङ्ख्या बढ्दै जाने हुँदा पार्टीको नाम नै ‘मजदुर किसान पार्टी’ राखिएको प्रस्ट हुन्छ ।
युरोपेली र अमेरिकी देशहरूमा (छोटोमा पश्चिमी देशहरूमा) १९ औँ र २० औँ शताब्दीमा अनेक मजदुर आन्दोलन र कम्युनिस्ट क्रान्तिकारी सङ्घर्षहरू भए । ती सबैको अनुभव र शिक्षालाई आत्मसात् गरी सन् १९१७ मा रुसमा लेनिन र स्तालिनको नेतृत्वमा समाजवादी क्रान्तिमार्फत समाजवादी समाजको स्थापना भयो । रुसमा उत्पादनका साधनहरू जस्तो – ठूल्ठूला खेत र खलियान, पोखरी, जङ्गल एवम् कलकारखाना, व्यापार, व्यवसाय सबै राष्ट्रियकरण गरियो । सबै विदेशी कलकारखाना, वाणिज्य–व्यवसाय पनि राष्ट्रियकरण गरियो ।
समाजवादी देशहरूमा कलकारखाना र उद्योग–व्यवसायहरू राष्ट्रियकरण (सार्वजनिकीकरण) गरिए । रुस र रुसी जनतामाथि शोषण गर्न लगानी गरिएका सबै विदेशी कल–कारखाना, वाणिज्य–व्यवसाय पनि राष्ट्रियकरण गरिए ।
मजदुरहरूलाई कलकारखाना र उद्योग–व्यवसाय सञ्चालन गर्न दिइयो† जमिन जोत्न र उत्पादन बढाउन किसानलाई भूमि वितरण गरियो† सामूहिक खेती थालियो† सहकारी संस्थाहरूको स्थापनाले रुसको मुहार फेरियो । संसारमा पहिलो पटक अनिवार्य तथा निःशुल्क शिक्षा र निःशुल्क स्वास्थ्य सेवाको बन्दोवस्त गरियो । केही वर्षमै युरोपको सबभन्दा पिछडिएको देश रुसलाई एक औद्योगिक देशको रूपमा विकास गरियो । विज्ञान तथा प्रविधि र शिक्षा क्षेत्रमा ठूलो परिवर्तन भयो । यसरी एक सुसंस्कृत एवम् अगाडि बढेको सोभियत सङ्घको स्थापना भयो ।
त्यसको प्रभाव पश्चिमी देशका मजदुर, किसान, बुद्धिजीवी, वैज्ञानिक, अर्थशास्त्री एवम् संसारका सबै प्रगतिशील जगतमा प¥यो । ती देशका कम्युनिस्ट र मजदुर दलहरूले एकपछि अर्को निर्वाचनमा बढीभन्दा बढी मत प्राप्त गरे । त्यस परिस्थितिले पुँजीवादी विचारका ठेकेदारहरूको मथिङ्गलमा भुइँचालो गयो । पुँजीवादी देशहरूका मजदुर तथा किसानलाई आर्थिक सहुलियत दिइएन र अन्य सुधारहरू गरिएन भने कम्युनिस्ट आन्दोलन अगाडि बढ्ने र मजदुर क्रान्ति वा समाजवादी क्रान्तिको सम्भावना बढ्ने अनुभव गरियो ।
मजदुरको ज्याला बढाउने, ८ घण्टाको कामको समय लागु गर्ने, मजदुर र कर्मचारीको निवृत्तिभरणको व्यवस्था गर्ने, रुसमा जस्तै मजदुरहरूका केटाकेटीहरूको निम्ति शिशुशाला र बालोद्यानहरू बनाउने तथा निःशुल्क शिक्षा र उपचारको निम्ति सरकारी विद्यालय एवम् अस्पतालहरू खोल्ने काम थालियो । युरोपका केही देशमा कम्युनिस्ट प्रतिनिधिहरू पनि सरकारमा सामेल भए ।
सोभियत सङ्घलाई समाप्त गराउने उद्देश्यअनुसार नै मुसोलिनी र हिटलरको जन्म गराइएको थियो । तर, मुसोलिनी र हिटलरले प्रजातन्त्र र साम्यवादको विरोधमा ‘कट्टर राष्ट्रियता’ एवम् ‘राष्ट्रिय पुँजी’ को पक्षमा धार्मिक र जातीय कट्टरतासँगै आक्रामक राजनीति अङ्गाले । पश्चिमी देशको निम्ति मुसोलिनी र हिटलर (फासीवाद तथा नाजीवाद) ‘भष्मासुरलाई बरदान’ साबित भए । अनेक जालझेलपछि पनि सोभियत सङ्घलाई तिनीहरूले पराजित गर्न नसकेपछि सोभियत सङ्घसँगै पश्चिमी देशहरूलाई संरा अमेरिका र बेलायती साम्राज्यवादले ‘सैन्य गठबन्धन’ मा सामेल हुन बाध्य पारे, जसलाई ‘मित्रशक्ति’ भनियो । त्यसमा फ्रान्सका राष्ट्रपति दे गाल पनि थिए ।
सोभियत सङ्घलाई भित्रभित्र धोका दिने षड्यन्त्र पनि गरियो । सोभियत सङ्घलाई पछाडिबाट छुरा हानियो । एउटै गोलीले ‘फासीवाद तथा नाजीवाद’ को पराजय भयो । पश्चिमी शक्तिले तत्कालै सोभियत सङ्घको विरोधमा ‘शीत युद्ध’ (कोल्ड वार) अर्थात् सैद्धान्तिक सङ्घर्ष सुरु ग¥यो ।
सोभियत सङ्घको शक्तिबाट फासीवाद तथा नाजीवादको पराजय हुनासाथै भित्रभित्र मुसोलिनी र हिटलरका युद्धअपराधी सैनिक नेता र गुप्तचरहरूलाई पुनः सोभियत सङ्घविरुद्धको सङ्घर्षमा सहयोग लिन गुप्तरूपले अमेरिका भगाइयो र शरण दिइयो ।
तर, पश्चिमी देशका जनतामा कम्युनिस्ट आन्दोलनको ठूलो प्रभाव प¥यो । सोभियत सङ्घ एक प्रकारले अजेय शक्तिको रूपमा देखियो । ती देशहरूमा स्तालिन, सोभियत सङ्घ र समाजवादको प्रभाव बढ्दै गयो । निर्वाचनहरूमा कम्युनिस्ट पार्टी र मजदुर पार्टीहरूको जनमत बढ्दै गयो ।
पुँजीवादी राजनैतिक चिन्तकहरूले साम्यवादी विचारको एकतर्फी प्रभावलाई साम्य पार्न आ–आफ्ना देशमा पुनः मजदुरहरूको ज्याला बढाउने, अन्य सुविधाहरू दिने, कामको समय घटाउने जस्ता सुधारहरू गरे । साथै, कामदार वर्ग र साधारण जनताको रोजी–रोटी र जीवनस्तर उठाउन कम्युनिस्ट क्रान्ति र समाजवाद नै चाहिन्न, पश्चिमी प्रजातन्त्र आफै ‘लोक कल्याणकारी राज्य’ हो भनी देखाउन सुधारका कामहरू गरे । बेलायती राजनीतिशास्त्रीहरूले अन्य एसियाली र अफ्रिकी देशहरूमा ‘पुँजीवादी प्रजातन्त्र’ ले पनि कामदार र तल्लो वर्गको हित गर्दछ भन्ने बखान गरेर समाजवादको आवश्यकता तथा अपरिहार्यतालाई अस्वीकार गर्दै प्रचार गरे ।
अर्कोतिर अमेरिकी राजनीतिशास्त्रका लेखकहरूले पनि साधारण जनताको जीवनस्तर उठाउन ‘सोभियत सङ्घ’ वा ‘कम्युनिस्टहरूको समाजवाद’ चाहिँदैन बरु ‘पुँजीवादी प्रजातन्त्र’ लाई नै ‘वर्गविहीन पुँजीवादी’ समाजमा रूपान्तरण गर्र्न सकिने वकालत गरे । तर, साँच्चै समाजवादको निम्ति उत्पादनका साधन र सेवा पूर्णरूपले राष्ट्रियकरण वा सामाजिकीकरण नगरिएसम्म आर्थिक समानता असम्भव थियो । साथै, ‘योग्यताअनुसारको काम र कामअनुसारको ज्याला’ को बन्दोवस्त र ‘व्यक्तित्व विकास गर्न समान अवसर’ प्राप्त गर्नु आवश्यक थियो । सबै जातजाति, भाषाभाषी, महिला–पुरुष, क्षेत्री–बाहुन र दलित सबैले समान अवसर नपाइ समाजवादको स्थापना सम्भव हुँदैन । नाराले मात्रै हुने भए इन्दिरा गान्धीले ‘समाजवाद’ र ‘गरिबी हटाऊ’ भनेकै थिइन् तर त्यो कहिल्यै पनि व्यवहारमा लागु भएन ।
यसकारण, पश्चिमी राजनीतिशास्त्रीहरूले सबभन्दा पहिले रुसी संशोधनवादी कम्युनिस्ट नेताहरूलाई वैचारिकरूपले भ्रष्ट पारे । गोर्भाचोभका आर्थिक, राजनैतिक एवम् सबै विषयका सल्लाहकारहरू अमेरिकी विश्वविद्यालयका प्राध्यापक थिए । तिनीहरूकै सल्लाहअनुसार कम्युनिस्ट पार्टी र समाजवाद विघटन गरियो । सोभियत सङ्घलाई १४—१५ टुक्रामा विभाजन गरियो । ख्रुश्चेभ र गोर्भाचोभले ‘साम्यवादमा रूपान्तरण गर्ने’ नारा लगाएर समाजवाद र देशलाई ध्वस्त गरे । नेपालमा अहिले ‘लोक कल्याणकारी राज्य’ र ‘वर्गविहीन पुँजीवाद’ को हल्ला फैलाइँदै छ । मधेसी र पहाडी, क्षेत्री–बाहुन र दलित, नेवार र पर्वते, सहर र गाउँको भेदको प्रचार गर्न विदेशी दलालहरू सक्रिय देखिन्छन् । सबै सतर्क होऔँ !
Leave a Reply