भर्खरै :

भारत र अमेरिकालाई खुसी पार्नु नै गठबन्धनको ध्येय !

देशका सबै ठूला दलका नेताहरूले पालैपालो शासन गरे । एकले अर्काेलाई सरकारले यो गरेन, त्यो गरेन भनी आलोचना र विरोध गर्ने दलका नेताहरू नै पटक–पटक सरकारमा पुगे । तर, किन कसैले गतिलो काम गर्न सकेनन् ? सरकारको नेतृत्व गरेका अल्पमत, संयुक्त या गठबन्धन सरकारले मात्र होइन बहुमत प्राप्त सरकारले पनि देश र जनताको हितमा काम गर्न सकेन । देशको शासन सत्तामा हालीमुहाली गरिरहेका सत्तासीन दलहरू गर्नै नहुने दल या विचारमा आकाश–पाताल भएका दलहरूसँग गठबन्धन गरेर देशलाई दिशाहीन बनाउँदै छन् । अहिले पनि कहिले ‘लोकतान्त्रिक गठबन्धन’ त कहिले ‘वाम गठबन्धन’ को चर्चा सेलाएको छैन । ‘वाम’ या ‘लोकतान्त्रिक’ जे गठबन्धन भए पनि आखिर उनीहरूको एउटै स्वार्थ रहेको छ, जसरी भए पनि बढी सीट जित्ने, दल ठूलो बनाउने र सरकारको नेतृत्व गरेर या सरकारमा रहेर रजाइँ गर्ने । भारतीय एकाधिकार पुँजी र साम्राज्यवादीहरूको दलाली गर्नु नै उनीहरूको एउटै उद्देश्य रहेको छ । आफूलाई कम्युनिस्ट भनी दाबी गर्ने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले पनि नेकाले झैँ अमेरिकालाई खुसी पार्ने देशघाती कदममा हस्ताक्षर गरे ।
पाँचदलीय गठबन्धन भएर देशमा भ्रष्टाचार, महँगी, कालाबजारी, हत्या, हिंसा, बलात्कार, कमसल निर्माण, ठेकेदारी प्रथा आदि अन्त्य या नियन्त्रण भएको भए जनताले स्यावासी दिन्थे, सरकारको प्रशंसा गर्थे या जनता खुसी हुन्थे । तर, यहाँ यी कुनै काम भएको देखिँदैन । गठबन्धनभित्र सरकारको नेतृत्व गर्नुबाहेक अर्काे कुनै स्वार्थ देखिँदैन । पाँचदलीय गठबन्धनले न प्रजातन्त्रको मूल्य र मान्यताविपरीतको मतसीमा (थ्रेस होल्ड) नै खारेज गर्नसक्यो न त संविधानमा उल्लेखित काम गरेर आफ्नो जिम्मेवारी निर्वाह गर्नसक्यो । अहिलेको ‘लोकतान्त्रिक गठबन्धन’ त साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतलाई सघाउने या खुसी पार्ने गठबन्धन भएको छ । ‘लोकतान्त्रिक गठबन्धन’ सत्तामा पुग्ने सिँढी सावित भएको छ । पहिले ‘वाम गठबन्धन’ भएको बेलामा पनि उनीहरूले कहिले पनि अमेरिकी साम्राज्यवादी आक्रमण, थिचोमिचो तथा भारतको मोदी सरकारको फासीवादी क्रियाकलापको विरोधमा एक शब्द बोलेनन् । यसकारण, ‘लोकतान्त्रिक’ गठबन्धन न प्रजातान्त्रिक प्रक्रियाअनुसार अघि बढेको गठबन्धन हो न त पहिलेको ‘वाम’ गठबन्धन सच्चा कम्युनिस्टहरूको गठबन्धन थियो ।
नेपाल मजदुर किसान पार्टी यी कुनै पनि गठबन्धनमा सामेल छैन । बरु, नेमकिपाले एक्लै भए पनि साम्राज्यवादी अमेरिका र फासीवादी भारतको निरन्तर विरोध गरिरह्यो । देशको स्वाधीनता र सार्वभौम सत्ता जोगाउन सङ्घर्ष गरिरह्यो । देशभक्तिपूर्ण सङ्घर्षमा नेमकिपा सरिक भयो र एक कम्युनिस्ट पार्टीले गर्नुपर्ने भूमिका निर्वाह ग¥यो । नेमकिपाले गएको स्थानीय तहको निर्वाचनलाई पनि एक राजनैतिक र सैद्धान्तिक छलफलको सङ्घर्ष गर्ने दबु सम्झेर उपयोग ग¥यो । नेमकिपाले निर्वाचनमा देशघाती पार्टीहरूलाई जनतासमक्ष उदाङ्ग्याउने काम ग¥यो । कम्युनिस्ट पार्टीले अधिकांश जनतालाई वर्गीयरूपले राजनीतिक चेतना नदिएसम्म, सचेत र सङ्गठित गर्न नसकेसम्म पुँजीपति वर्गका शासकहरूले शासन गरिरहनेछन् । स्थानीय तहको निर्वाचनले पनि यही सन्देश दिएको छ । अतः पुँजीपति वर्गको शासन अन्त्य गर्न, देशमा कम्युनिस्ट पार्टी बलियो बनाउन र कम्युनिस्ट आन्दोलन अघि बढाउन देशका सबै कम्युनिस्ट पार्टीहरूले कम्युनिस्टको सिद्धान्त र विचार जनताको घर आँगनमा पु¥याउनुपर्छ, सचेत र सङ्गठित गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *