भर्खरै :

कमिसनको कारण पाठ्यपुस्तक अभाव

भक्तपुर, २७ जेठ । “शिक्षक चुप लागेर बस्दा देशलाई ठूलो घाटा हुन्छ । देशलाई घाटा हुने विषयमा शिक्षकहरूले विद्यार्थीलाई सम्झाइबुझाइ गर्नुपर्छ ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सार्वजनिक माध्यमिक विद्यालय संयुक्त परीक्षा समिति भक्तपुरको आयोजनामा शुक्रबार बासु माविमा भएको सेवा निवृत्त शिक्षक सम्मान कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
अवकास प्राप्त शिक्षकहरूलाई हौस्याउँदै अतिथि बिजुक्छेँले भन्नुभयो, “सक्रियताको कमीले शरीर कमजोर हुन्छ । कमजोर शरीरमा विभिन्न रोग लाग्न सक्छ, त्यसैले अवकास प्राप्त शिक्षकहरूले राजनीतिक कक्षा सञ्चालन गर्नुपर्छ । त्यस्तो कक्षा गाउँ–गाउँ, टोल–टोलमा सञ्चालन गर्नुपर्छ । आफ्नो अनुभव लेखेर नयाँ पुस्तालाई सचेत पार्नुपर्छ ।”
संयुक्त परीक्षा समितिलाई सुझाव दिँदै उहाँले भन्नुभयो, “शिक्षकहरूबीच सान्दर्भिक विषयमा अन्तरक्रिया गर्नुपर्छ । समय–समयमा आउने दिवसमा प्रशिक्षण तथा प्रवचन कार्यक्रम गरी शिक्षकहरूलाई जानकारी दिनुपर्छ ।”
उहाँले भन्नुभयो, “देशमा पाठ्यपुस्तकको अभाव हुनु मन्त्रीहरूको कमिसनको कारणले भएको हो । भागबन्डाको आधारमा शिक्षामन्त्री बनाइएपछि देशको हालत के होला ?”
भनपाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षकहरूलाई आ–आफ्नो अनुभव लेख्न र भनपालाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
उहाँले देशको अवस्थाबारे जानकारी दिँदै भन्नुभयो, “जब देशमा व्यापार घाटा हुन्छ, विदेशी ऋण वृद्धि हुन्छ ।”
प्रमुख प्रजापतिले भन्नुभयो, “देशका शासकहरू कमिसनमा डुबेका छन् । रोपाइँको समयमा मल छैन । मलको निम्ति बजेट घटाएर उत्पादन कसरी बढ्छ ?”
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले कुनै पनि कार्यको लागि सङ्गठित शक्ति आवश्यक हुन्छ भन्नुभयो ।
सेवा निवृत्त जीवनलाई क्रियाशील बनाउन विभिन्न गतिविधिमा सहभागी भइरहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष एवम् आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका सचिव लक्ष्मीनारायण दुवालले परीक्षा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा बासु माविका प्रअ अम्बिका न्याइच्याई र शारदा माविका प्रअ रोशनराज तुइतुईले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा परीक्षा समितिअन्तगर्तका १६ वटा माध्यमिक विद्यालयमा २०७६, २०७७ र २०७८ चैत मसान्तसम्म अनिवार्य अवकास प्राप्त गरेका र २० वर्ष सेवा पूरा गरेका स्थायी, अस्थायी, करार सेवाका शिक्षकहरूलाई प्रमुख अतिथि बिजुक्छेँ र विशेष अतिथि प्रजापतिले सम्मान र कदरपत्र प्रदान गर्नुभएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

Leave a Reply

Your email address will not be published.