भर्खरै :

एसपीपी सम्झौता एमसीसीकै सिलसिला : नेपाल युद्धभूमि बन्ने खतरा

ढाँटेको कुरा काटे पनि मिल्दैन । रछ्यानलाई कपडाले छोपेर दुर्गन्ध रोकिन्न । आखिर देशघाती एमसीसी सम्झौतामार्फत संरा अमेरिका नेपालमा सेना तैनाथ गर्न चाहन्छ भन्ने कुराको पुष्टि भएको छ । संरा अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) को सम्झौतामा नेपाललाई हस्ताक्षर गराएर अमेरिकी सैनिक नेपालमा राख्ने लक्ष्यसाथ नेपाललाई सम्झौतामा हस्ताक्षर गराउन दबाब दिँदै छ ।
पछिल्लो समय अमेरिकी सेनाको प्यासिफिक कमान्डका कमान्डर जनरल चाल्र्स एफ्लिनले नेपालको भ्रमणको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्मासँग भेटी एसपीपी सम्झौतामा हस्ताक्षर गर्न दबाब दिएका थिए । असारको पहिलो साता हुने प्रधानसेनापति शर्मा र र प्रधानमन्त्री देउवाको अमेरिकाको भ्रमणको एउटा मुख्य उद्देश्य सम्झौतामा हस्ताक्षर गर्ने रहेको छ ।
सन् २०१५ देखि संरा अमेरिका नेपाललाई एसपीपी कार्यक्रममा सहभागी हुन दबाब दिँदै आएको हो । दुई महिनाअघि अमेरिकी उच्च सैनिक अधिकृतले नेपालको भ्रमण गर्दा एसपीपी सम्झौताको मस्यौदा नेपाललाई हस्तान्तरण गरेका थिए ।
संरा अमेरिका र नेपालबीचको सम्झौताको १० बुँदे मस्यौदमा अमेरिकी सैनिकलाई हातहतियारसहित नेपालमा राख्न सकिने प्रावधान राखिएको छ । दुई देशका सेनाले नेपालको उत्तरी सीमामा संयुक्त सैन्य अभ्यास गर्ने उल्लेख भएबाट अमेरिका कुन स्वार्थ तथा उद्देश्यसाथ नेपाल आउँदै छ भन्ने बुझिन्छ । यसबाट नेपाल अमेरिकी स्वार्थको रणभूमि बन्दै छ भन्ने कुरा स्पष्ट भएको छ ।
एमसीसी सम्झौताको ५० करोड डलरमा डुब्न खोजेका शासक दलका नेता तथा कार्यकर्ता अर्को ५० करोड डलरमा देश बेच्न तयार हुँदै छन् । कानुनी राज्य, प्रजातन्त्र, मानवअधिकार आदि नाममा विश्वभर विभिन्न कार्यक्रम लिई ‘सफ्ट प्रभाव’ बाट विभिन्न देशका सरकारहरूलाई नियन्त्रणमा राख्ने अमेरिकी नीति असफल हुन थालेपछि आर्थिकरूपमा प्रत्यक्ष चलखेल गर्ने उद्देश्यका साथ एमसीसी अगाडि सारिएको हो । एसपीपी सम्झौता एमसीसीको सिलसिला हो । सन् २०१७ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति बनेपछि चीन र रसियालाई विरोधी देश तथा उत्तर कोरिया र इरानलाई असभ्य (रफ) देश भन्दै हिन्द प्रशान्त रणनीति अगाडि सारियो । एमसीसी कुनै स्वतन्त्र मन्च नभई अमेरिकाको हिन्द प्रसान्त रणनीतिकै अङ्ग हो । अमेरिकी राष्ट्रपति ट्रम्पकै सुरक्षा रणनीतिक प्रतिवेदनहरूमा एमसीसी हिन्दप्रशान्त सैन्य रणनीतिअन्तर्गत हुने तथ्य स्पष्ट पारिएको छ । सन् २०१९ मा अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी हिन्द प्रशान्त सेनाको नेतृत्वमा स्थलसेना गठन गर्ने घोषणा गरेको छ । एमसीसीको सबभन्दा खतरनाक पक्ष यही हो ।
असंलग्न परराष्ट्र नीति अनुसरण गर्दै आएको नेपाल कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुनसक्दैन । नेपालको सार्वभौम अस्तित्वको निम्ति पनि असंलग्नताको नीति आवश्यक छ, इतिहासको शिक्षा पनि यही हो । पुँजीवादी एवम् साम्राज्यवादी देशहरू चीनलाई एक्ल्याएर युद्धमा घचेट्ने प्रयास गर्छन् तर नेपाल त्यसको मोहडा बन्नु हँुदैन । होइन भने नेपालको अस्तित्वमै सङ्कट पर्नसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *