भर्खरै :

अर्जुनदृष्टिविनाको नीति तथा कार्यक्रम !

यो अर्जुनदृष्टिविनाको नीति तथा कार्यक्रम हो भन्दा अझ समीचीन हुनेछ । एउटा तुलमा ‘नीति तथा कार्यक्रम’ लेखेर आकर्षक, रङ्गीन बेलुनहरूमा झुण्ड्याएर उडाइएझैँ प्रस्तुत गरिएको छ । कहाँ गएर त्यसको अन्त्य हुन्छ र कहाँ गएर त्यो बेलुन सुक्छ, कुनै ठेगान छैन ¤
आजसम्म फरकफरक सरकारबाट प्रस्तुत भएका सबै नीति तथा कार्यक्रम उस्तैउस्तै भए भन्ने चर्चा पनि चल्यो । त्यो संयोगमात्र होइन । त्यो देखिनु या हुनुको एउटा कारण छ । हामीलाई शङ्का लाग्छ, आजसम्मका पाँचैवटा नीति तथा कार्यक्रमको ड्राप्mट तयार गर्ने मान्छे वा लेखक एउटै हुनुपर्छ । होइन भने हामीलाई गलत साबित गर्न चुनौती दिन्छौँ । उही पार्टी, उही खालका पार्टीहरू, उही खालका विचारका दलहरू अहिलेसम्म प्रदेश सरकारमा छन् भन्ने कुरा यो नीति तथा कार्यक्रममा देखिएको एकरूपता, यसमा मिलिरहेको भावले पनि पुष्टि गर्छ । पुँजीवादी पार्टीहरू नै अहिलेसम्म यहाँ सरकारमा छन् । पुँजीपति वर्गको सञ्चालक समितिको रूपमा काम गर्ने सरकारहरू नै मात्र प्रदेशवासीले पाए भन्ने कुराको यो पुस्ट्याँइ हो भन्ने हामीलाई लाग्छ ।
शासक दलहरूबीच आरोप –प्रत्यारोप चलिरहेको अवस्था छ । नेपाली जनतालाई थाहा छ ३२ वर्षसम्म सत्तामा पालैपालो जाने शासक दलहरू यी नै हुन् । को–को प्रधानमन्त्री भए ? को–को मन्त्री भए ? भन्ने कुराको हिसाबकिताब तथा लेखाजोखा पनि नेपाली जनतासँग राम्ररी नै छ । यसकारण, यो सबै कुरा ‘गाँसेगुँसे एकैनासे भनेझैँ’ भइरहेको छ र तात्विक भिन्नता, मौलिकरूपमा परिवर्तन नभएको नीति तथा कार्यक्रम पनि त्यसकारण आएको हो । यहाँ हामीले समाजवादको चर्चा–परिचर्चा फेरि सुन्यौँ । एक हिसाबले हाँसो पनि उठ्छ । हामीले भन्नुपर्ने वैज्ञानिक समाजवाद हो । हामी जानुपर्ने वैज्ञानिक समाजवादतिर हो । समाजवाद भनेर यहाँ जसरी हामीले सुन्यौँ त्यो सही होइन । बौद्ध धर्मको प्रचारप्रसार व्यापकरूपमा भएपछि नक्कली भिक्षुहरू तयार पारिए । बौद्ध धर्मलाई पछाडि पार्न या पैmलिन नदिन अनेक जालझेल भए त्यतिखेर अर्थात परापूर्वकालमा । त्यसरी नै समाजवादको प्रभाव विश्वव्यापीरूपमा बढ्दै छ । एसिया, अफ्रिका र युरोपमा बढ्दै छ । एसियामा समाजवादको लहर बढ्दै गएपछि नक्कली समाजवादीहरू तयार गरिएको त होइन ? शङ्का गर्ने आधार प्रशस्त छन् । त्यसका लक्षण तथा प्रमाणहरू अहिले हामी देख्दै पनि छौँ । साथसाथै हामीलाई के थाहा छ भने समाजवादको वास्तविक अर्थ भनेको उत्पादनका मुख्य–मुख्य साधनहरूमाथिको सामाजिकीकरण, शोषणको उन्मूलन हो, आर्थिक समानता हो । त्यसो नभएसम्म समाजवाद मात्र नारा हुनेछ । के हामीले भन्न खोजेको शोषणको पूर्ण उन्मूलन नै हो ? यदि होइन भने त्यो गलत हो । समाजवादलाई नारामा मात्र सीमित गर्नु एक हिसाबले जनताको निम्ति धोका हुनेछ । वर्गीय विभेदको अन्त्य र कामदार जनताको हुकुम तपाईँहरूको निम्ति स्वीकार्य छ कि छैन ? यदि छैन भने त्यस्तो खालको समाजवाद धोका हुनेछ । नेपाली जनतालाई बारम्बार धोका नदिऊँ भन्ने हाम्रो आग्रह हो ।

 वस्तु जति नक्कली, सजावट त्यति नै बढी ! यथार्थमा सुनलाई खोल चाहिँदैन । यसमा साजसज्जामा जसरी ध्यान दिइएको छ त्योभन्दा बरु जनताको जीवनसँग जोडिएका पक्षहरूलाई उजागर गर्ने सद्बुद्धि पलाएको भए सायद यो नीति तथा कार्यक्रम केही हदमा राम्रो हुने थियो । रुग्न उद्योगको जुन कुरा उठेको छ, मलकारखाना र कृषि औजार कारखानाको प्रसङ्ग यदि गफगाफ होइन भने, साँच्चिकै अगाडि बढाउने मनोकाङ्क्षा छ भने त्यो उचित छ । त्यस कार्यमा अगाडि बढ्ने आँट गरोस्, हाम्रो शुभेच्छा छ ।

समाजवाद पुँजीपति वर्गले त्यतिकै किस्तीमा राखेर प्रदान गरिने कुनै सस्तो साधन या वस्तु होइन, हेक्का राखौँ ¤ समाजवादलाई एउटा गफसफको विषय नबनाउनको निम्ति पनि हामी आग्रह गर्छौँ । यहाँ चुनावको प्रसङ्ग पनि उठ्यो । गत वैशाख ३० गते स्थानीय तहको निर्वाचन हामीले देख्यौँ । देशमा प्रस्टरूपमा दुईदलीय तानाशाही व्यवस्था लागु हुँदै छ भन्ने छनक पायौँ ।
नेपाल मजदुर किसान पार्टी त्यो पार्टी हो जसले आजभन्दा पच्चीस वर्ष अगाडि एकदलीय तानाशाही व्यवस्थाको अन्त्य त भयो तर दुईदलीय तानाशाही व्यवस्थातिर देश अगाडि बढ्दै छ भनेर प्रस्ट भाषामा भन्यो । यो खतराको विषय हो । सारा प्रजातन्त्रका पक्षपातीहरू एकजुट हौँ भनेर हामीले त्यतिबेला नै भनेका थियौँ । अहिले स्थानीय तहको निर्वाचनसँगसँगै दुईदलीय तानाशाही व्यवस्था थप बलियो ढङ्गमा लागु हुने सम्भावना प्रबल हुँदै छ । त्यसको हामी विरुद्धमा छौँ ।
बाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम हेर्दा यथार्थमा यो सरकारको सैद्धान्तिक आधार नै कमजोर भएको प्रस्ट हुन्छ । विचार र सिद्धान्तको शून्यता नै यो सरकारको कमजोर पक्ष हो । त्यस्तो सरकारले ल्याएको नीति तथा कार्यक्रम कस्तो होला ? हामी अनुमान लगाउन सक्दछौँ । त्यसकारण, यो सैद्धान्तिक तथा वैचारिक आधार नभएको सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष पूर्णरूपमा असफल हुनेमा शङ्का छैन । जसरी विगतका चारवटा नीति तथा कार्यक्रमहरू असफल सावित भए । विगतमा जसरी फूलबुट्टा भरिएका नीति तथा कार्यक्रमहरू हामीले हेरेका थियौँ, यो पनि फूलबुट्टा भरिएको आकर्षक तर सारमा खोक्रो खालको नीति तथा कार्यक्रम हो । यो अर्को विडम्बना हो । यो नीति तथा कार्यक्रमको प्रारम्भ र अन्त्यमा नलेखिएको तर भन्न चाहेको एउटा कुरा छ – ‘चुनाव आउँदै छ’, चुनाव आउँदै छ । फेरि मत बटुल्ने हाम्रो इच्छा हो । त्यसकारण, यसमा जेजति कुरा हामीले लेख्यौँ मत बटुल्नकै लागि लेख्यौँ ।’ यो नीति तथा कार्यक्रममा यति भनाइमात्र लेख्न बाँकी हो ! यथार्थमा सरकारले भन्न चाहेको यही नै हो । यो नीति तथा कार्यक्रम चुनाव केन्द्रित ढङ्गमा आउनु गलत हो ।
एउटा भनाइ स्मरण गराउँदछु, वस्तु जति नक्कली, सजावट त्यति नै बढी ! यथार्थमा सुनलाई खोल चाहिँदैन । यसमा साजसज्जामा जसरी ध्यान दिइएको छ त्योभन्दा बरु जनताको जीवनसँग जोडिएका पक्षहरूलाई उजागर गर्ने सद्बुद्धि पलाएको भए सायद यो नीति तथा कार्यक्रम केही हदमा राम्रो हुने थियो । रुग्न उद्योगको जुन कुरा उठेको छ, मलकारखाना र कृषि औजार कारखानाको प्रसङ्ग यदि गफगाफ होइन भने, साँच्चिकै अगाडि बढाउने मनोकाङ्क्षा छ भने त्यो उचित छ । त्यस कार्यमा अगाडि बढ्ने आँट गरोस्, हाम्रो शुभेच्छा छ ।
(बाग्मती प्रदेश सभाका सदस्य तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले आ.व.२०७९–८० को नीति तथा कार्यक्रममाथि भएको छलफल, जेठ १८ गते व्यक्त विचारको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *