भर्खरै :

जापानले अनौपचारिक सैन्यकरणको खाका को¥यो

जापानी प्रम फुमियो किशिदाले जून १० मा सिङ्गापुरमा आयोजित सांग्रिला वार्तामा एउटा मन्तव्य दिए । उनले संविधानतः शान्तिवादी देशको अनौपचारिक पुनः सैन्यकरणको खाका बताए । एसियामा दोस्रो विश्वयुद्ध मच्चाएको हुनाले यो टापु देशलाई युद्धको तयारी गर्न अनुमति दिइएको थिएन । तर, उसका अमेरिकी मालिकले उसको सैन्य सुगठनप्रति आँखा चिम्लेको छैन । बरु बिचौलिया राखेर चीनलाई ‘रोक्ने’ योजनाहरू अघि बढाउन जापानको सैन्य निर्माणमा मालिकले सक्रियतापूर्वक सघाएको छ ।
किशिदाले पूर्वी र दक्षिणी चीन सागरको स्थितिबारे झूट बोलेर आफ्नो मन्तव्यको दैलो उघारे । उनले चीनले एकतर्फीरूपमा स्थितिमा हेरफेर ल्याएको कुरामा जोड दिए । जब कि उनको आफ्नै देश र अन्य छिमेकी देशहरूले वर्तमान अनिश्चयको वातावरण सिर्जना गरेका हुन् । उनीहरूले झूटो निहुँ झिकेर त्यो समुद्री क्षेत्रलाई अस्थिर बनाए । कसैले परिभाषित गरिदिएको कथित‘नियममा आधारित व्यवस्था’ को झन्डा उचाले । उनीहरूको अमेरिकी मित्रले यो थेगो फलाकेर थाक्दैन । जसलाई वास्तवमा दोहोरो चरित्रबाहेक अर्थोक भन्न सकिन्न ।
जापानी प्रमले दम्भपूर्वक घटनाहरूको यो जञ्जाली व्याख्याको प्रतिक्रियामा आफूले कथित ‘शान्तिको किशिदा योजना’ अघि सारेको बताए । यसको एउटा स्तम्भले ‘नियममा आधारित व्यवस्था’ को झन्डा उठाउने उनको दाबी थियो । यस व्यवस्थाविरुद्ध जाने देशहरूले अनिश्चित परिणाम भोग्ने भनेर उनले अन्त्यमा धम्क्याए । उनको मन्तव्यको सन्दर्भ हेर्दा र सुरुमा उनले पूर्वी र दक्षिण चीन सागरहरूको प्रसङ्ग उप्काउँदा उनले चीनतिर औँला सोझ्याएका थिए भनी सजिलै बुझ्न सकिन्छ ।
किशिदा क्षेत्रीय सत्ता परिवर्तन अभियानहरूलाई समर्थन जनाउने चिढाउने अभिव्यक्ति पनि दिए । उनले घोषणा गरे, “मानव अधिकारप्रतिको सम्मान पनि महत्वपूर्ण छ । एउटा प्रजातान्त्रिक राजनीतिक व्यवस्थामा जनताको खुला आकाङ्क्षा र विविधता झल्केको हुन्छ ।” यद्यपि, जापानले यस्ता अभियानहरूमा कसरी भाग लिन्छ भन्ने कुरा अस्पष्ट छ । उनको बहकाउने गरी व्याख्या गरिएको ‘शान्तिको योजना’ को सुरक्षा आयाम यही पृष्ठभूमिबाट पहिल्याउन सकिन्छ । जस्तो, उनको यस योजनाले क्वाड र अन्य बहुपक्षीय सहकार्यमा ठूलो जोड दिएको छ ।
जापानले कम्तीमा २० वटा देशको समुद्री कानुन कार्यान्वयन क्षमता आउँदो ३ वर्षभित्र बलियो बनाउने किशिदाले घोषणा गरे । यसमा ८०० समुद्री अधिकारीहरू र ‘विधिको शासन र सुशासनको क्षेत्रमा कार्यरत १५ सत्न्दा बढी अधिकारीहरू’ लाई तालिम दिने उनले बताए । ‘आजको युक्रेन भोलिको पूर्वी एसिया हुनसक्छ’ भनेर तर्साउने भाषा दोहो¥याएपछि किशिदाले घोषणा गरे, “यो वर्षको अन्त्यसम्म हामीले नयाँ राष्ट्रिय सुरक्षा रणनीति बनाउनेछौँ ।”
उनको भनाइअनुसार सो रणनीतिले “आउँदो पाँच वर्षमा जापानको प्रतिरक्षा क्षमता जगैबाट बलियो बनाउनेछ र त्यसो गर्न जापानको रक्षा बजेटमा उल्लेख्य वृद्धिको माग गर्नेछ ।” उनले थपे, “हामीले कुनै पनि विकल्प खुला छोड्नेछैनौँ । यसमा कथित ‘प्रत्याक्रम क्षमता’ पनि पर्छ ।” यो भनाइ उनको देशको औपचारिकरूपमा शान्तिवादी संविधानसँग बाझिन्छ । साथै “युरोप र एसियाका हित्तचित्त मिल्ने साझेदारहरूसँग मिलेर ‘पारस्परिक पहुँच सम्झौताहरू’ लाई टुङ्गोमा पु¥याउने काम गर्ने” किशिदाको योजना छ ।
यसले अष्ट्रेलियासँग हालै गरिएका सम्झौताहरू र बेलायतसँग घाँटी जोड्ने समझदारीतिर औँल्याउँछ । यी दुवै चीनविरोधी नयाँ अकस गठबन्धनमा सम्मिलित देश हुन् । अमेरिकासँग नजिक रहेर आफ्ना सैन्य गतिविधिहरू सञ्चालन गर्न यो गठबन्धन बनाइएको हो । व्यवहारमा यसको अर्थ ती देशका जलसेनाहरू नियमितरूपमा जापानी बन्दरगाहमा ओर्लिनेछन् । योजनाबद्धरूपमा ‘युरोप र एसियाका हित्तचित्त मिल्ने साझेदारह’ सम्म फैलिनुको अर्थ जापान जाँदाआउँदा पूर्वी र दक्षिणी चीन सागरहरूमा विदेशी जलसेनाहरूलाई बाक्लै गस्ती गराउनु हो ।
यसको एउटा समस्या छ । त्यो के भने, उनीहरूले चीनको सार्वभौम समुद्री सीमा एकतर्फी रूपमा मिच्न सक्नेछन् । यसको लागि उनीहरूले कथित ‘नौसैनिक गस्तीको स्वतन्त्रता’ (फोनोप) को नारा घन्काउनेछन् । यसले क्षेत्रीय तनाव बढ्नेछ । तर यसको दोष चीनलाई दिइनेछ । ‘नियममा आधारित व्यवस्था भङ्ग गरेको’ फर्जी निहुँ झिकिनेछ । सारमा एसियाली मञ्चमा जापानले आफूलाई नेतृत्वकारी खलपात्रको रूपमा उभ्याउने जमर्को गर्दै छ भन्ने स्पष्ट छ । यो मञ्चलाई धेरैले नयाँ शीतयुद्ध भन्न थालिसकेका छन् ।
किशिदाले बेइमानीपूर्वक आफ्नो देशलाई मध्यमार्गी वा शान्तिप्रेमी देखाउन खोजे । यसको विपरीत विश्वका इमानदार र शान्तिप्रेमी मुलुकहरू जापानको सैन्यकरणविरुद्ध एकजुट हुनुपर्छ । स्वघोषित ‘सूर्य उदाउने देश’ ले पछिल्लोचोटि महादेशको सबैभन्दा शक्तिशाली देश बन्न खोज्दा के भएको थियो भन्ने कुरा सबैलाई सम्झना छ । यद्यपि, उसका प्रधानमन्त्री र उनीभन्दा अगाडिका सबै प्रधानमन्त्रीले यस्तो स्वाङ पार्छन्, मानौँ दोस्रो विश्वयुद्ध भएकै थिएन ।
सूर्यको बिम्बजस्तै ऊ अमेरिकी एकध्रुवीय नाइकेसँगै छिटोछिटो अस्ताउँदै छ । आफ्नो समृद्धि र सुरक्षालाई पूर्व महाशक्तिको पुच्छर बनाउने काम मूर्खले मात्र गर्नसक्छ । अमेरिकाले हतास हुँदै विश्वभरि अराजकता मच्चाउन खोज्दै छ । धमिलो पानीमा माछा मार्ने खतरनाक जुवा खेल्ने उसको दाउ छ । यसबाट उसले गुमेको क्षेत्रीय प्रभाव पुनः दाबी गर्ने सोचेको छ । किशिदा यो खेलमा जापानले माउत्तेको भूमिका खेलेको हेर्न चाहन्छन् । तर, यसले उनको टापु देशलाई अमेरिकी ‘हाइब्रीड वार’ वा चौतर्फी युद्धहरूको प्याधा बनाउनेछ, एसियाली अस्थिरताको मोहोरा बनाउनेछ ।
(कोरिब्को मस्कोमा बस्ने अमेरिकी विश्लेषक हुन्  । उनी एफ्रो एसियामा अमेरिकी रणनीति, चौतर्फी युद्ध र चीनको रोड एन्ड बेल्ट इनिसियटिभबीचको सम्बन्धबारे अध्ययन गर्ने विज्ञ हुन् ।)
स्रोत : वान वल्र्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *