ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
भक्तपुर, ४ असार । भक्तपुर जिल्ला भलिबल सङ्घको पाँचौ साधारणसभा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
सभाको सफलताको कामना गर्दै सांसद सुवालले भन्नुभयो, “सरकारले भर्खरै पारित गरेको आ.व. २०७९÷८० को बजेटमा सरकारले भक्तपुरमा खेलकुदको लागि न्यूनतमबजेट समेत राखेको छैन । बजेटलाई प्रम र मन्त्रीहरू तथा सत्तानजिक केही सांसदहरूको बपौती बनाइएको छ, यसको हामीले संंसद्मा विरोध एवं भत्र्सना गरेका छौँ ।”
पुँजीवादी बन्दोबस्तमा सरकारमा गएका शासक दलहरूले पक्षपात र भ्रष्टाचार गर्ने भएकोले खेलकुदलगायत शिक्षा र स्वास्थ्य क्षेत्रसमेत डाँवाडोल भइरहेको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, अहिले युक्रेनमा रूसविरूद्ध संरा अमेरिकी सरकारले युद्ध गर्दै छ । अमेरिकी सरकारले युक्रेनमा हतियार थुपारेपछि रूसविरूद्ध युद्ध सुरू गरेको हो । रुसले युक्रेनलाई आक्रमण गरेको हल्ला झूटा हो । अमेरिकी सरकारले रुसविरुद्ध परमाणु हतियार प्रयोग गरे तेस्रो विश्व युद्ध भएजस्तै हुनेछ ।”
अमेरिकी नेतृत्वको सैन्य मोर्चा नाटो, पाँच आँखा, अन्जुस, क्वाड, अउकस र हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको एमसीसी सम्झौता हो । अहिले अमेरिकी सरकारले आफ्नो राज्य साझेदारी कार्यक्रम (एसपीपी) मा नेपाललाई तानेको छ । नेपाल मजदुर किसान पार्टीले एमसीसी सम्झौतालगत्तै अमेरिकी सेना नेपाल आउने सचेत गराएकै थियो । एसपीपी कार्यक्रम अमेरिकी सेना नेपाल आउने समझदारी हो, उहाँले स्पष्ट पार्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “अमेरिकी रक्षा विभागले सन् २०१९ मा प्रकाशित गरेको हिन्द–प्रशान्त प्रतिवेदनको पृष्ठ ३८ मा नेपाल एसपीपीको नयाँ सदस्य थपिएको उल्लेख छ । नेपाली सेनाका महारथी राजेन्द्र क्षेत्रीले २०७२ कार्तिक १० गते (सन् २०१५ अक्टोबर २७) मा एसपीपीमा सामेल हुन काठमाडौँस्थित अमेरिकी दूतावासलाई पत्र लेखेको सार्वजनिक भयो । यो पत्र गएकोमा एमालेले नेकाको सरकारलाई आरोप लगाउने र नेकाले एमालेको सरकारलाई आरोप लगाउने काम भइरहेको छ । सत्य तथ्य बाहिर ल्याउन हामीले संसद्मा विषय उठायौँ । तर, ल्याइएको छैन ।”
उहाँले थप्नुभयो, “एसपीपीमा संलग्न हुनुको अर्थ नेपाली सेनाको ब्यारेक अमेरिकी सेनाले कब्जा गर्ने, हतियार बोकेर अमेरिकी सेना नेपालमा घुम्ने, अमेरिकी सेनालाई आवश्यक गाडी र हवाईजहाजसमेत ल्याउने हो । यो विपद, भूकम्प, आगजनी सहयोगसँग मात्र सम्बन्धित भनिएको झूटा हो ।”
उहाँले स्पष्ट पार्दै भन्नुभयो, “हालै नेपाल आएका अमेरिकी सेनाका जनरल चाल्र्स ए फ्लिनले अगाडि नै भारत पुगेर लद्दाखमा चीनविरूद्ध भारतलाई आगोमा घिउ थप्ने काम गरे । भारत–चीन सीमा विवाद बेलायती अधिकारी म्याकमोहनले तानेको काल्पनिक सीमा रेखा हो ।”
सांसद सुवालले भन्नुभयो, “सन् १९४५ यता संसारमा भएका १४८ सैन्य द्वन्द्वमा ८१ प्रतिशतमा अमेरिकी सेनाको संलग्नता रहेको छ । सन् १९९३ मा सुरू गरिएको एसपीपीको उद्देश्य नाटोलाई सघाउनु हो । नाटोका ३० देशहरूमध्ये १४ वटा देश एसपीपीबाट गएका हुन् ।”
“आगामी आ.व.को बजेट निर्णयमा बिचौलिया बनेर मुठिभरका व्यापारीको स्वार्थ पूरा हुनेगरी करको दर कायम गरिएकोमा हामीले अर्थमन्त्रीको राजीनामा माग ग¥यौँ र प्रम देउवालगायत पाँच गठबन्धन सरकारका अरू नेताहरू पनि दोषी हुने स्पष्टसँग राख्यौँ”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “पाँच गठबन्धन दलको सरकारले रोपाइँ सुरू हुँदा समेत रासायनिक मल ल्याउन सकेन । ३२ वर्ष भयो, सरकारमा गएका कुनै पनि दलले रासायनिक मल कारखाना नेपालमा खोल्न सकेनन् । चामल, दाल, तरकारी सबै भारतबाट आयात गरेर नेपालको हित हुँदैन ।”
“बजेट १५ दिनमा पारित गरियो । राम्रोसँग छलफल गर्न समय दिइएन । बजेट तयार भइसकेपछि छलफल गराइने र छलफलपछि प्राप्त सुझावअनुसार कुनै परिवर्तन गर्ने वर्तमान परम्परा समय र खर्चको दुरूपयोग हो”, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “नेपालको बिजुली ३६४ मेगावाट भारतलाई बेच्नुभन्दा पनि खाना पकाउने ग्यास, पेट्रोल र डिजेल भारतबाट आयात घटाएर खाना पकाउन नेपालीलाई सस्तोमा बिजुली दिनुपर्छ ।”
उहाँले भन्नुभयो, “भक्तपुर बागेश्वरीको वन मासेर एबी इन्टरनेसनल खेल मैदान बनाउन प्रदेश सरकारले बजेट राखेको जनविरोधी काम हो ।”
नेपाली काङ्ग्रेस समाजवादी भएन, एमाले, माओवादी, एकीकृत समाजवादी कम्युनिस्ट भएन, ती पार्टीले कार्यकर्तालाई राज्यको स्वामित्वमा औद्योगिक विकास गरी उत्पादन र वितरण गर्नुपर्ने सिकाउनुपर्नेमा पुँजीवादको विकास गर्ने सिकाउँदा भ्रष्टाचार बढेको हो । अधिकांश सांसदहरूले काठमाडौँमा घर–जग्गा जोडेको हुँदा तिनका कार्यकर्ता र कर्मचारीले त्यही सिके । परिणाम फोहोरमैला, खानेपानी, सडक जाम, प्रदूषण र अपराध बढ्यो । आठ–दस वर्षमा एक पटक आउन सक्ने ठूला भूकम्पले काठमाडौँका आधाभन्दा बढी जनसङ्ख्याको मृत्यु हुने चर्चा छ । काठमाडौँ नेपालको पहिलो भूकम्पीय क्षेत्रमा पर्दछ, सांसद सुवालले भन्नुभयो ।
शासक दलका नेता र कार्यकर्ता नसुध्रिने हो भने नेपाल हाम्रो देश नहुने खतरा भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल भलिबल सङ्घका उपाध्यक्ष कुमारराज सुवेदीले भलिबल नेपालको राष्ट्रिय खेल भए तापनि सरकारले बजेटमा कुनै प्राथमिकता नदिएको बताउनुभयो । सरकारले राष्ट्रिय खेल घोषणा गर्ने औपचारिकतामात्र पूरा गरेकोले नेपालमा लोकप्रिय भलिबल खेल विकासमा समस्या भएको उहाँले बताउनुभयो ।
नेपाल भलिबल सङ्घका सदस्य एवं राष्ट्रिय रेफ्री कमिसनका अध्यक्ष गौतमप्रसाद लासिवाले सरकारले बजेटमा राष्ट्रिय खेलको भौतिक पूर्वाधार विकासमा कुनै चासो नदिएको र वार्षिक कार्यक्रम तथा बजेटमा स्थानीय तहहरूबीच पक्षपात गरेकोले खेलकुदको समानुपातिक विकास हुन नसकेको बताउनुभयो ।
उहाँले राष्ट्रिय खेलकुद ऐन बनेको दुई वर्ष बितिसक्दा पनि खेलकुद नियमावली बनाउन नसकेकोले सङ्घ, प्रदेश र जिल्ला खेलकुद सङ्घहरू अन्योल अवस्थामा रहेको बताउनुभयो ।
जिल्ला भलिबल सङ्घ भक्तपुरका अध्यक्ष विनोदचरण रायको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापा, जिल्ला भलिबल सङ्घका सल्लाहकार रवीन्द्र खर्बुजा, भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री र जिल्ला भलिबल सङ्घ भक्तपुरका सचिव शिवराम धुख्वाले पनि बोल्नुभएको थियो ।
उद्घाटन समारोहपछिको बन्द सत्रले विनोदचरण रायको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको थियो ।
Leave a Reply