भर्खरै :

भाषिक प्रयोगमा हुने गरेका सानातिना गल्ती

भाषा भनेको जनजिब्रो हो । अर्थ बुझियो भने वक्ताले अशुद्धै बोले पनि त्यो भाषा हुन्छ । तर, यो भनेको भाषाको कथ्यरूपमा मात्र लागू हुन्छ । लेख्यरूपमा पुगेपछि भाषा व्याकरणद्वारा बाँधिन्छ । कथ्यरूपमा मात्र रहेको भाषालाई व्याकरणले नियमन गरेर प्रयोगमा ल्याउन सकेन भने त्यो भाषाको मौलिकता पनि हराउँदै जान्छ अनि कालान्तरमा भाषाकै लोप हुन पनि सक्छ । कथ्य रूपमात्र भएका संसारका धेरै भाषाहरू यसरी नै लोप भएका कैयौँ उदाहरण छन् ।
त्यसो त, भाषिक जीवन्तताका लागि प्रत्येक भाषामा बर्सेनि नयाँ शब्द थपिंदै जान्छन् । यसरी नै भाषा धनी हुँदै जान्छ । तर, यसो भनेर आफ्ना शब्द बिर्सँदै अर्काका शब्द सोहोर्न थालियो भने पनि भाषाको मौलिकता हराउँछ । अर्को कुरा, जटिल प्रयोगबाट सरलतातिर बढ्दै जानु पनि भाषाकै विशेषता नै हो । तर, यो कसैले जबरजस्ती लाद्ने खालको नियम बनाएर होइन, थाहै नपाइकन परिवर्तन हुँदै जानु स्वाभाविक मानिन्छ ।
अन्य भाषामा झैँ नेपाली भाषामा पनि शब्द निर्माण र वाक्य गठनका आफ्नै नियम र सीमा भएको कुरा स्मरणीय छ । तर, यसमा जानेर, नजानेर, सिक्न नचाहेर वा लापरबाही गरेर पनि प्रशस्त गलत प्रयोग भएको पाइन्छ । यस्ता गल्तीहरू शब्द प्रयोग र वाक्य गठनमा सराबरी हुने गरेका छन् । यसो अवस्था आउनुको एउटा कारण, वक्ताको मातृभाषा अलग हुनु पनि हो । यो सानो लेखमा यसकै बारेमा थोरै कुरा उठाउने प्रयास गरिएको छ ।
नेपाली भाषाका सामान्य विद्यार्थीहरूलाई पनि थाहै छ : नेपाली व्याकरणअनुसार उपसर्ग लागेर, प्रत्यय लागेर, समास भएर, द्वित्व भएर र सन्धि भएर नयाँ शब्द बन्ने गर्छन् । शब्दको अगाडि लाग्ने उपसर्गहरूको सङ्ख्या सीमित छ भने शब्दको पछाडि लाग्ने प्रत्ययहरूको सङ्ख्या असीमित छ । अक्कड, अत, अन्ते, अनी, आइ, आउ, आरो, आवट, आहा, इलो, उवा, ओट, इयार, अनीय, इका, इत, आडी, आलीजस्ता थुप्रै प्रत्ययहरूमध्ये ‘ता’ पनि एउटा प्रत्यय हो । समानता, सम्पन्न्ता, स्वाधीनता, मौलिकता, दासता, लघुता, स्वतन्त्रता, विलासिता, सक्रियता, निष्क्रियताजस्ता थुप्रै शब्दहरू ‘ता’ प्रत्यय लागेरै बनेका हुन् । तर, आजकल धैर्यता, बाहुल्यता, गाम्भीर्यता, सौजन्यता, माधुर्यता, आतिथ्यताजस्ता गलत ‘ता’ प्रयोग हुने गरेका शब्दहरू सुन्नुपर्दा दिक्क लागेको छ । यिनमा पनि धैर्यता, गाम्भीर्यता र आतिथ्यता जस्ता शब्दहरू बढ्ता प्रयोग हुने गरेका छन् । नेतागणको बोलीमा प्रायः धैर्यता, गाम्भीर्यता सुन्न पाइन्छ भने हामीलाई प्राप्त हुने राजनीतिक कार्यक्रमसम्बन्धी निम्तोपत्रमा ‘…को आतिथ्यता मा’ भन्ने पदावली पढ्न परेकै हुन्छ ।
त्यसैगरी आजकल धेरैले, ‘म भर्खर मिटिङ सकाएर/सक्काएर आएको’, ‘मैले यही साल प्लस टु सकाएको/सक्काएको’, ‘म क्लास सकाएर/सक्काएर हिँडिहालेँ,’ ‘भोज सकाएर/सक्काएर आउँदा रातिको बाह« बजेको थियो’, ‘जुलुस सकाएर/सक्याएर हामी खाजा खान थाल्यौँ’ जस्ता वाक्यहरू प्रयोग गरेको सुनिन्छ ।
यस सन्दर्भमा केही क्रियाका चलनचल्तीका रूपहरू हेरौँ :
(क) पढ्छु ,पढेर, पढेँ
(ख) पढाउँछु , पढाएर, पढाएँ
(क) लेख्छु ,लेखेर, लेखेँ
(ख) लेखाउँछु ,लेखाएर, लेखाएँ
(क) सिक्छु, सिकेर, सिकेँ
(ख) सिकाउँछु, सिकाएर, सिकाएँ
(क) सक्छु, सकेर, सकेँ
(ख) सकाउँछु ,सकाएर, सकाएँ
(क) उठ्छु , उठेर, उठेँ
(ख) उठाउँछु, उठाएर, उठाएँ ।
यहाँ (क) का शब्द (क्रिया) हरूले कर्ताले कुनै निश्चित समयमा आफ्ना लागि आफैँले काम गरेको भन्ने अर्थ बुझाउँछन् । (ख) का शब्द (क्रिया) हरूले भने कर्ताले अरूका लागि आफूले काम गरेको/गरिदिएको अर्थ बुझाउँछन् । पढ्नु–पढाउनु, लेख्नु–लेखाउनु, खेल्नु–खेलाउनु भएजस्तै, सक्नु–सकाउनु भएको हो र ‘सक्नु’ भनेको आफैँले काम गरेर वा आफैंमा सामथ्र्य भएर कुनै काम सिध्याउनु हो भने ‘सकाउनु’ भनेको ‘थालिएको कुनै काम आफूले पूरा नगरी अरूलाई समाप्त गर्न लगाउनु वा अरूको सहायताले सक्न लगाउनु’ हो । त्यस्तो व्यक्ति सक्षम रहेनछ भने उसलाई ‘सक्ने पार्नु/सक्ने बनाउनु’ भन्ने अर्थ पनि दिन्छ ‘सकाउनु’ क्रियाले । नेपाली व्याकरणमा हँसाउनु, रुवाउनु, डुलाउनु, कुदाउनु, उठाउनुजस्ता क्रियालाई ‘प्रेरणार्थक क्रिया’ भनिन्छ । यी क्रियाका अप्रेरणार्थक रूप, हाँस्नु, रुनु, डुल्नु, कुद्नु, उठ्नु हुन् ।
माथिका ‘म भर्खर मिटिङ सकाएर/सक्काएर आएको’, ‘मैले यही साल प्लस टु सकाएको/सक्काएको, ‘म क्लास सकाएर/सक्काएर हिँडिहालेँ,’ ‘भोज सकाएर/सक्काएर आउँदा रातिको बाह« बजेको थियो’, ‘जुलुस सकाएर/सक्याएर हामी खाजा खान थाल्यौँ’ जस्ता वाक्यहरूमा प्रयुक्त ‘सक्नु’ क्रियाका रूपहरू, ‘ती कामहरूमा आफैँ सहभागी भएर आफैँले सकेको’ वा ‘काम गर्दागर्दै आफैँ सकिएको’ भन्ने अर्थमा प्रयोग भएका हुन् । अरूलाई आज्ञा दिएर, आदेश दिएर, अनुरोध गरेर वा सक्षम बनाएर काम सक्न लगाएको हुँदै होइन ।
यसै सन्दर्भमा ‘जान्दछ’ को ‘जान्दैन’ भएजस्तै यसकै सादृश्यका रूपमा अन्य क्रियापदका बीचमा पनि ‘न’ थपेर बोलिने शैली (‘आउँदैन’ लाई ‘आउँन्दैन’, ‘हुँदैन’ लाई हुन्दैन, ‘दिँदैन’ लाई दिँन्दैन इत्यादि)– ले बोलाइलाई रमाइलो र अनौठो बनाएकै छन् ।
भाषा निश्चय नै परिवर्तनशील हुन्छ र परिवर्तनको अवस्थाका क्षेत्रहरू पनि विभिन्न छन् । अनि भाषामा त्रुटि पनि भइरहेको हुन्छ, हुँदै जान्छ । त्रुटिका पनि विभिन्न क्षेत्र र अवस्थाहरू छन् । यी कुरालाई भाषाविद्हरूले व्यापक चर्चा गरेका छन् । भाषाका मानक र स्वतन्त्र प्रयोक्ताहरू अनि क्षेत्रगतरूपमा विभिन्नता भएका वक्ताहरूलाई भने एक अर्काका प्रयोगहरू निकै अस्वाभाविक लाग्ने गर्छन् । आ–आफ्नो अभ्यस्तताका कारण, त्यस्तो हुनु स्वाभाविकै हो । तर, यति भएर पनि कुनै पनि भाषा त्यो देशभरि बुझिनका लागि त्यसको मानक रूपचाहिँ भने एउटै हुन्छ । यस विषयमा विज्ञ र वक्ताहरू नै सचेत हुन आवश्यक छ ।
बोलाइमा जताततै यस्तो प्रयोग भएपछि, त्यसको प्रभाव लेखाइमा पनि प्रशस्त देखिन थालेको छ । यसो हुनुमा आजकल जताततै खुलेका एफएम रेडियोका कार्यक्रम प्रस्तोताहरूले पनि सघाएका छन् । टीभी कार्यक्रम सञ्चालक र पत्रकारहरू पनि जिम्मेवार छन् । धेरैले सुन्ने भएको हुँदा, कतिपय अवस्थामा नेताका भाषण पनि जिम्मेवार होलान् । अनि सडक, कार्यालय जताततै गलत वर्णविन्यासहित टाँगिने परिचय पाटीहरूले पनि ठूलो भूमिका निर्वाह गरेका छन् । तिनलाई देख्दा नेपाली भाषाप्रेमीहरूले शिर निहु¥याएर हिँड्नुपर्नेछ । कतै शुद्ध लेखेको देखियो भनेचाहिँ ‘लेखक’ लाई मनमनै धन्यवाद दिँदै ती महानुभाव को होलान् भनेर भेट्न मन लाग्छ । चाउचाउ, बिस्कुट, साबुनजस्ता कतिपय वस्तुहरूमा लेखिएका गलत वर्णविन्यासले पनि विद्यार्थी वर्गमा सकारात्मक सन्देश दिँदैन ।
गलत वर्णविन्यास तथा अशुद्धिको स्तर शब्द तहमा मात्रै होइन, वाक्य तहका पनि जताततै देख्न पाइन्छ । आजकल अशिक्षितले भन्दा पनि शिक्षित वर्गका र गाउँका भन्दा पनि सहरिया वक्ताले नै ‘मैले के भन्छु भने…’, ‘मैले दूध चिया खान्नँ’, ‘मैले यस्तो गल्ती गर्दिनँ’ जस्ता वाक्यहरू प्रयोग गरेको सुनिन्छ । तर, व्याकरणमा सामान्य चासो राख्ने जोसुकै नेपालीभाषीलाई पनि के थाहा छ भने, नेपाली व्याकरणमा सामान्य वर्तमान कालका वाक्यमा कर्तामा ‘ले’ लाग्दैन । त्यसैले यी वाक्यहरू ‘म के भन्छु भने… ..’, ‘म दूध चिया खान्नँ…,’ ‘म यस्तो गल्ती गर्दिनँ…’, हुँदामात्र सही हुन्छन् । यसको अर्थ, भाषाको शुद्ध रूप शिक्षित वर्गमा भन्दा अशिक्षित वर्गमा र सहरभन्दा गाउँमा सुरक्षित हुँदोरहेछ भन्ने कुरा पनि बुझ्नुपर्ने भयो !
मातृभाषा फरक परेका कारण, अन्यत्र पनि लिङ्ग, वचन, पुरुष, काल, उच्चारण तथा आदरका सन्दर्भमा शिक्षित व्यक्तिहरूबाटै प्रशस्त गलत प्रयोगहरू भएको देख्न/सुन्न पाइन्छ । यस्ता कुरामा खासगरी शिक्षक, विद्यार्थी, सञ्चारकर्मी र नेपाली भाषालाई माया गर्ने सबैले ध्यान दिन सकेमा मात्र हाम्रो राष्ट्रभाषाको सुन्दरता र इज्जत कायम रहन्छ ।
‘सानातिना कुरा त हो नि !’, ‘बोल्दा बुझिए भइहाल्यो नि !’, ‘हाम्रो बानी नै यस्तै छ !’, ‘सबैले यस्तै त भन्छन् !’ भनेर बेवास्ता गर्न थालियो भने हाम्रो भाषाको शुद्ध र मौलिक रूप हराउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *