भर्खरै :

कामरेड शोभा प्रधानको असामयिक निधन/असार १० गते अपरान्ह १ बजे इनागः बाट श्रद्धाञ्जली अर्पण कार्यक्रम सुरु हुने

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कामरेड नारायणमान बिजुक्छेँ
(रोहित) की जीवनसङ्गिनी तथा नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका कोषाध्यक्ष र नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य कामरेड शोभा प्रधानको असार ८ गते बुधबार उपचारको क्रममा अपराह्न ३ः४५ बजे निधन भयो ।
उहाँको स्तन क्यान्सरको अपरेसन २३ वर्ष अगाडि भएको थियो । विगत चार वर्षदेखि उहाँ पाठेघर क्यान्सरको अपरेसन गरी उपचाररत हुनुहुन्थ्यो ।
कामरेड शोभाको जन्म विसं २०१७ पुस १४ गते बुधबारको दिन रामेछाप जिल्लाको ठोसेमा भएको थियो । उहाँको विवाह विसं २०४० मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष कामरेड नारायणमान बिजुक्छेँ (रोहित) सँग भयो । तत्पश्चात् अध्यक्ष बिजुक्छेँको भूमिगत राजनीतिक जीवनमा समेत उहाँले पार्टीका विविध गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभयो । नेपाल मजदुर किसान पार्टीविरुद्ध विसं २०४५ भदौ ९ को राज्यस्तरको पञ्चायती दमनमा समेत उहाँ धैर्य तथा साहसपूर्वक सक्रिय रहनुभयो ।
कामरेड शोभाले विसं २०३५ भदौ २० गते ठोसेबाट शिक्षण सेवा आरम्भ गर्नुभयो भने विसं २०७७ पुस १३ गते भक्तपुरको वागीश्वरी माविबाट अनिवार्य अवकाश लिनुभयो । नेपाल क्रान्तिकारी शिक्षक सङ्घका विभिन्न समितिमा रही उहाँले शिक्षक आन्दोलनमा अगुवाइ गर्नुभयो । कामरेड शोभा वागीश्वरी कलेज व्यवस्थापन समिति सदस्य हुनुहुन्छ । वागीश्वरी मावि व्यवस्थापन समितिमा रही शिक्षा क्षेत्रको विकासमा उहाँ सक्रिय रहनुभयो ।
कामरेड शोभा शिक्षक एवम् महिला कार्यकर्ताहरूबीच प्रेरणाका स्रोत हुनुहुन्थ्यो भने पार्टीका कार्यकर्ताहरूबीच सङ्घर्षशील र उदाहरणीय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको भौतिक शरीर नरहे तापनि उहाँको योगदान सदा स्मरणीय रहनेछ । उहाँले लिनुभएको लक्ष्य पूरा गर्न सक्रिय रहनु पार्टी कार्यकर्ता, शिक्षक, महिला तथा सम्पूर्ण सदस्य, समर्थक, शुभचिन्तकहरूको जिम्मेवारी हो । कामरेड शोभाप्रति नेपाल मजदुर किसान पार्टी केन्द्रीय समिति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको परिवारजनमा समवेदना व्यक्त गर्दछौँ । उहाँको निधनबाट सङ्गठनलाई पुगेको यो गहिरो क्षतिको घडीमा धैर्य धारण गर्न सम्पूर्णमा आह्वान गर्दछौँ ।
कामरेड शोभाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम असार १० गते शुक्रबार अपराह्न १ बजे भक्तपुर नगरपालिका वडा नं. १ स्थित इनागः
(सिद्धपोखरी) बाट सुरु हुनेछ । सो कार्यक्रममा महिला, शिक्षक, मजदुर, किसान सम्पूर्णको सहभागिताको लागि हार्दिक अपिल गर्दछौँ ।
पे्रम सुवाल
सचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *