भर्खरै :

भक्तपुर नगरपालिकाको बा¥हौँ नगरसभा उद्घाटन

भक्तपुर, ८ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाको बा¥हौँ नगरसभाको बुधबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।
सभामा उहाँले राजनीतिक नेताहरूले गल्ती गरे देश र जनतालाई दुःख हुने विचार व्यक्त गर्दै भन्नुभयो, “जिम्मेवार व्यक्तिहरू सचेत, सतर्क र गम्भीर हुनुपर्छ ।”
अध्यक्ष बिजुक्छेँले नगरसभा पूर्ण सफलताको कामना गर्दै भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशास्त्र आदि विषयबारे विद्यार्थीहरूलाई जानकार गराउन शिक्षकहरूले जोड दिनुपर्ने बताउनुभयो ।
शासक दलको सत्तामोहले गर्दा जनताले दुःख पाइरहेको उल्लेख गर्दै उहाँले मन्त्रीले ऐन लागू गर्नुभन्दा नीतिगत काममा जोड दिनुपर्छ भन्नुभयो ।
नेपालका युवाहरूलाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव जमाइरहेकोेमा चिन्ता व्यक्त गर्दै उहाँले एसियामा नयाँ युद्ध हुने सम्भावना प्रबल रहेको बताउनुभयो ।
विश्वविद्यालयको सञ्चालन नगर राज्यबाटै सुरू भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले ख्वप विश्वविद्यालय सञ्चालनले देशभरिका विद्यार्थीहरू लाभान्वित हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राम्रो राजनीति सिकाइएन, राम्रो कार्यकर्ता बनाइएन भने देश सङ्कटमा पर्छ ।”
नेपालमा राजनीतिक सङ्गठन र बन्दोबस्त सही नहुँदा राणाशासन पतन भएको उहाँले स्मरण गराउनुभयो ।
नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको उल्लेख गर्दै नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको बताउनुभयो ।
भक्तपुर नगरलाई सफा, स्वच्छ, सांस्कृतिक र पर्यटकीय गन्तव्यस्थल बनाउन जनप्रतिनिधि निरन्तर क्रियाशील हुनुपर्नेमा जोड दिँदै उहाँले विकास निर्माणमा उपभोक्ता समितिमार्फत आर्थिक अनुशासनमा बसी पारदर्शी ढङ्गले सम्पन्न गर्ने कार्यलाई नगरपालिकाले चालु राख्नुपर्ने बताउनुभयो ।
कुहिने र नकुहिने फोहर अलगअलग सङ्कलन गर्न सके ८० प्रतिशत फोहोर स्रोतमै घट्ने विचार व्यक्त गर्दै उहाँले अस्पताल र उद्योगबाट निस्कने फोहरको सङ्कलन गर्ने बन्दोबस्त नगरपालिकाले गर्नुपर्ने बताउनुभयो ।
“भक्तपुर नगरपालिकाद्वारा सञ्चालित देको मिवा इतापाके आवास योजनालाई प्राथमिकतामा राखी जनभावनाबमोजिम छिटो सम्पन्न गर्नुपर्छ । न्यूनत्तम दुई आना दुई पैसा (०–२–२–०) को नीतिअनुसारको आयोजना भएकोले सोहीअनुसार कायम गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाको आ.व. २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर र नगरवासीहरूको हितलाई केन्द्रमा राखी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्ने र विश्वविद्यालय सञ्चालन गर्न विज्ञहरूको टोलीसमेत गठन गरी आवश्यक तयारी गर्ने उल्लेख गर्दै ख्वप अस्पतालमा प्रसूति सेवा सञ्चालनमा जोड दिने बताउनुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल र सांस्कृतिक नगरको रूपमा विकास गर्न निरन्तर लागिरहने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “ख्वप अस्पताललाई जनताको अस्पतालको रूपमा विकास गरी सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने नपाको लक्ष्य हो ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम व्यवहारिक र जनताको जीवनसँग सम्बन्धित रहेको बताउँदै भक्तपुर नपा देशकै हितको निम्ति मार्गनिर्देश गर्ने स्थानीय तह भएको बताउनुभयो ।
एसपीपीका कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भइरहेको चर्चा गर्दै उहाँले भक्तपुर नपाले एसपीपीको पूर्ण खारेजीको माग गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ पुस्तामा व्यक्तिवादी चिन्तन हाबी भइरहेको उल्लेख गर्दै सामूहिक चिन्तनसहितको सेवाको भावबाट नयाँ पुस्तालाई उत्साहित गर्नुपर्ने बताउनुभयो ।
प्रदेशसभा सदस्य सृजना सैंजुले भक्तपुर नगरपालिकाले समाजवादी चिन्तनको सफल प्रयोग गरिरहेको स्पष्ट पार्दै भक्तपुर नपाले अपनाइरहेको जनसहभागितामा आधारित विकासको मोडलको देशव्यापीरूपमा चर्चाको विषय बनिरहेको बताउनुभयो । उहाँले सरकारले समाजवादी चिन्तनमा आधारित बजेट निर्माण गर्नुपर्नेमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन उद्योगहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले गौरवशाली इतिहास बोकेको भक्तपुर नपा आज देशकै उत्कृष्ट नगरको रूपमा परिचित भएको प्रस्ट पार्दै काठमाडौँ उपत्यकाको सम्पदा जगेर्नामा भक्तपुर नपाले अग्रणी भूमिका खेलिरहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले भक्तपुर नपाको नीति तथा कार्यक्रममा नगरको लाभ प्रवद्र्धन गर्न सकिने जनमुखी र आधारभूत आवश्यकताका विषयवस्तु समाविष्ट भएको बताउँदै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने नगरपालिकाको उद्देश्य आफैमा नमुनायोग्य भएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. कृष्णदत्त पौडेलले भक्तपुर क्यान्सर अस्पताल काठमाडौँ उपत्यकाकै सुविधासम्पन्न अस्पतालको रूपमा अगाडि बढिरहेको उल्लेख गर्र्दै भक्तपुर नपाले टोलटोलमा क्यान्सर परीक्षण शिविर सञ्चालन गरी व्यापक जनतालाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो । ख्वप विश्वविद्यालयले १५ लाखमा एमबीबीएसको पढाउने नीति सराहनीय भएको स्पष्ट पार्दै उहाँले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गरिरहन आवश्यक भएको बताउनुभयो ।
नगरसभाको उद्घाटन कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र भनपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *