भर्खरै :

मूल्यवृद्धिविरुद्ध विद्यार्थी र युवाको जुलुस तथा विरोधसभा

भक्तपुर, ८ असार । नेपाल सरकारले पटकपटक गरेको मूल्यवृद्धिविरुद्ध नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ र नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुरको संयुक्त आयोजनामा जुलुस तथा विरोधसभा सम्पन्न भएको छ । कमलविनायकबाट सुरु भएको जुलुस सूर्यविनायक चोकमा गएर विरोधसभामा परिणत भएको थियो ।
विरोधसभामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरुङले मूल्यवृद्धिसँगै कालाबजारी र कमिसनखोरहरूले हरेक क्षेत्रमा महँगी बढाएको बताउनुभयो । मूल्यवृद्धि कम गर्न चीन, बङ्गलादेश र रुसजस्ता मित्र देशहरूबाट सस्तोमा पेट्रोलियम पदार्थ आयात गर्न कूटनीतिक पहल गरेर भारतनिर्भर अर्थतन्त्र अन्त्य गर्नुपर्ने र स्वदेशमै उत्पादनमा जोड दिनुपर्ने उहाँले जिकिर गर्नुभयो । जनतालाई राहत दिन तत्काल विद्युत्को मूल्य घटाउनुपर्ने, खाना पकाउन विद्युतीय इन्डक्सन चुलोको व्यवस्था गर्नुपर्ने र विद्युतीय सवारी साधनको प्रबन्ध गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
रुस र युक्रेनबीच भइरहेको युद्धबारे पश्चिमा मिडियाहरूले भ्रामक समाचार सम्प्रेषण गरेको बताउँदै अध्यक्ष गुरुङले युक्रेन युद्ध वास्तवमा रुसविरुद्ध नाटो र अमेरिकाको युद्ध हो भन्नुभयो । आफू हार्दै गएपछि अहिले अमेरिकी साम्राज्यवादले एसियामा युद्ध मच्चाउन चाहेको उहाँँको तर्क थियो । देशघाती एमसीसी सम्झौता संसद्ले पास गरेलगत्तै नेपालमा अमेरिकी सेना आएको स्मरण गर्दै उहाँले सरकारले एसपीपीमात्र नभई एमसीसी सम्झौता खारेजीको पनि पहल गर्नुपर्ने बताउनुभयो ।
सभामा नेक्रायुसङ्घ भक्तपुर जिल्ला सचिव एच.एस. सुवालले भारतीय एकाधिकार पुँजीको नाफा कमाउने लालसाले गर्दा तेलमा मूल्यवृद्धि भएको बताउनुभयो । समसामयिक विषयमा चर्चा गर्दै उहाँले एमसीसी र एसपीपीले नेपालको सार्वभौमसत्ता गुम्ने बताउनुभयो । शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक नपाउनु र असार लागिसक्दा पनि किसानहरू बिनामल रोपाइँ गर्न बाध्य हुनु सरकारको विफलता हो भन्नुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घ भक्तपुरका अर्जुन काफ्ले, नेक्राविसङ्घ केन्द्रीय सदस्य सिर्जु शाही र सुष्मा बाटा तथा नेक्राविसङ्घ भक्तपुरका मनिष गोराले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *