भर्खरै :

नारायणमान दाइकी शोभा

नेपाली राजनीतिमा अझै केही नेता छन्, जो विभिन्न राजनीतिक उतारचढावमा देखिएका कुनै लोभ–प्रभोलनमा परेनन् । उनीहरू सिद्धान्तबाट विचलित भएनन् । समस्या झेले तर हार मानेनन् । प्रहार खेपे तर कोहीसँग झुकेनन् । त्यसैले, उनीहरूको शिर जनतासामु सधैँ उँचो छ । तिनैमध्येका हुन्, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँँ ।
भक्तपुरमा ‘नारायणमान दाइ’ को नामले परिचित र मुलुकमा देशभक्त नेताका रूपमा परिचित उनलाई राजनीतिमा निरन्तर लाग्न थुप्रैले सघाए– आफन्त, साथीभाइ, समाज र पार्टी कार्यकर्ता । सबैलाई उनी उत्तिकै सम्मान गर्छन् । यिनैमध्येकी एक हुन्, उनकी धर्मपत्नी शोभा प्रधान । नारायणमान दाइको गर्विलो उचाइको सहयोगी बन्दै आएकी छन्, शोभा ।
नारायणमान दाइको जीवनमा पद र अवसर नआएको होइन– मन्त्री बन्ने, उपप्रधानमन्त्री बन्ने । एकपटक त प्रधानमन्त्री बन्नेसम्मको अफर आयो । तर, बिजुक्छेँ परिवारले पद र अवसरभन्दा राजनीतिक निष्ठा र समाजको हितलाई सर्वोपरि ठान्यो ।
बिजुक्छेँ पत्नी शोभाले भनिन्, “मलाई मन्त्राणी (मन्त्रीपत्नी) बन्ने रहर कहिल्यै लागेन । म शिक्षिकामै खुसी छु ।” रामेछाप ठोसेस्थित प्रधान परिवारकी शोभा २०४० मा बिजुक्छेँसँग वैवाहिक सम्बन्धमा गाँसिएकी हुन् । विवाहअगावै शिक्षिकाको रूपमा कार्यरत शोभाले शिक्षण पेसालाई नै निरन्तरता दिइन् ।
३३ वर्ष लामो वैवाहिक जीवनमा निकै कठिनाइ पनि आए, उनले कहिल्यै हिम्मत हारिनन् । दुई सन्तानकी आमा उनी घर चलाउँछिन्, नारायणमान दाइ पार्टी ।
नारायणमान दाइ भन्छन्, “उनले घर हेर्दा मैले समाजबारे सोच्ने मौका पाएँ । मेरो जीवनमा उनको सहयोग निकै छ ।”
उनी घरमा आउँदा सम्पत्ति भनेकै किताब थियो । उनले भनिन्, “दराजमा किताब, खाटमा किताब, झ्यालमा किताब । खाटमुनि नियालेको त्यहाँ पनि किताब नै थियो ।” हाम्रो सम्पत्ति भनेकै किताबै रह्यो । ०४५ मा भएको भक्तपुर काण्डमा जनताको तर्फबाट पोखिएको आक्रोशलाई लिएर पति जेलमा परेपछि शोभा निकै चिन्तित भइन् । पञ्चायती सरकारले पति र उनको पार्टीलाई समूल नष्ट गर्ने उद्देश्य बोकेको उनले बुझिन् । उनी झनै आत्तिइन् । विवाहको केही वर्षमै आएको यो समस्या झेल्न उनलाई निकै कठिन भयो । जेलमा रहेका बिजुक्छेँले यो पीडा महसुस गरे । त्यसपछि उनले जेलबाटै शोभालाई चिठी पठाउन थाले ।
सेन्सरको कडाइका कारण सुरुसुरुमा सन्चो–बिसन्चो सोधिएको चिठी आउने गरेको शोभाले सुनाइन् । त्यही सन्चो–बिसन्चोभित्र पतिले आफूलाई नेपाल, भारत र युरोपका कला–संस्कृतिदेखि राजनीतिक उतारचढावसम्म सबै सम्झाएको उनले बताइन् । “कहिले कविता लेख्नुहुन्थ्यो । कहिले साना नानीहरू र बूढी आमाको सन्चो–बिसन्चो सोध्नुहुन्थ्यो,” उनले भनिन् ।
पतिका चिठीबाटै आफूले बिस्तारै भक्तपुरको कला–संस्कृतिबारे ज्ञान पाएको उनले सुनाइन् । उनले भनिन्, “यसैबाट विभिन्न देशका कलाकार र उनका योगदानबारे बुझ्ने मौका पाएँ । अक्षरमा मैले उहाँको ज्ञान र माया दुवै पाएँ ।”
त्यही चिठीले जीवनप्रति निकै आशा जगाएको उनले बताइन् । यसलाई उनले जतन गरेर राखिन् । उनले तिनै चिठीको सँगालो ‘जेलका चिठी’ किताब पनि निकालेकी छन् । उनी भन्छिन्, “यो मेरोमात्र हैन, ममार्फत नारीलाई दिएको शिक्षा हो । त्यसैले यसलाई प्रकाशन गरेकी हुँ ।”
बिजुक्छेँसँगको सङ्गतले उनीमा चेतना नबढ्ने कुरै भएन । त्यसैले उनी पछिल्लो समय महिला हक र उत्थानमा खटिन्छिन् । उनीहरूको समस्या बुझ्छिन् । त्यसका लागि के गर्ने भनेर सोच्छिन् । उनी भन्छिन्, “शिक्षा र सीपको अभावमा समाजका महिलापछाडि परेका हुन् । दया–मायाभन्दा पनि उनीहरूलाई ज्ञान दिनु जरुरी छ ।”
परबाट हेर्दा थुप्रैलाई यो परिवार निकै सम्भ्रान्त र सुखभोगी होलाजस्तो लाग्ला तर यो परिवारसँग नजिक हुनेहरू उनीहरूको सरलपनबाट प्रभावित हुन्छन् । भक्तपुर कमलविनायकनजिकै बिजुक्छेँ परिवारको घर छ । यो परिवारमा शोभा अहोरात्र खट्छिन् । उनी बिहानै उठ्छिन् । घरधन्दा गर्छिन् । चिया पकाउँछिन्, खाना बनाउँछिन् । सबैलाई खुवाउँछिन् । अनि नजिकैको वागीश्वरी उच्च माविमा पुग्छिन् । दिनभर नानीहरूलाई पढाउँछिन् । साँझ घर फर्कन्छिन् । फेरि घरधन्दामा लाग्छिन् । किस्तीमा चिया ल्याउँदै गरेकी शोभाले भनिन्, “घरमा नोकरचाकर होलान् भन्ने धेरैलाई लाग्ने गरेको छ । घरको काम गर्न मलाई रमाइलो लाग्छ ।”
– नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *