भर्खरै :

श्रद्धाञ्जली – अग्रगमनको बाटो

चिनियाँ क्रान्तिका नेता माओ त्सेतुङले एउटा सन्दर्भमा भन्नुभएको थियो, “प्रतिक्रियावादीहरूको मृत्यु प्वाँखभन्दा हलुका हुन्छ, क्रान्तिकारीहरूको मृत्यु पहाडभन्दा ग¥हौँ हुन्छ ।” शुक्रबार शोभा प्रधानको श्रद्धाञ्जलीमा उर्लिएको जनसाधारणको सङ्ख्या हिसाब गर्दा माओको उपर्युक्त भनाइको याद दिलायो होला धेरैलाई ।
शुक्रबारको श्रद्धाञ्जली जुलुसमा शिक्षक र महिलामात्र होइन, किसान तथा मजदुर, बुद्धिजीवी, राजनीतिक नेता तथा कार्यकर्तालगायत विभिन्न पेशाकर्मीको सहभागिता थियो । जुलुुसमा सहभागी सबैको शिर श्रद्धाले निहुरेको थियो । मानिसको आँखामा दुःख र पीडाको आँसु छचल्किरहेको देखिन्थ्यो ।
शोभा प्रधान नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) की जीवनसाथी हुनुहुन्थ्यो । त्यतिमात्र नभएर उहाँ नेपाल क्रान्तिकारी महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष तथा नेपाल क्रान्तिकारी शिक्षक सङ्घकी केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
कार्ल माक्र्सको सफलताको चर्चा गर्दा जेनी माक्र्सको नाम छुटाइन्न । लेनिनको क्रान्तिकारी विचार निर्माणमा क्रुप्स्कायाको योगदान कम मानिन्न । माओ त्सेतुङको नामसँगै उहाँकी जीवनसङ्गिनी याङ काइहुइको चर्चा आउँछ । त्यसैगरी किम इल सुङ र किम जङ सुक पनि विश्व कम्युनिस्ट आन्दोलनमा धेरै चर्चा पाउने क्रान्तिकारी जोडीको रूपमा लिइन्छ । समाजमा आमूल परिवर्तन चाहने नेता तथा कार्यकर्ताले आफ्नो जीवनको आदर्शसापेक्ष जीवनसाथी चयन गर्नु आवश्यक भएको उहाँहरूको सफलताको कथा सुन्दा बोध हुन्छ ।
हरेक व्यक्तिको सफलता तथा असफलतामा परिवारको प्रत्यक्ष तथा परोक्ष भूमिका रहन्छ । देशको एक मुर्धन्य कम्युनिस्ट नेताको जीवन सङ्घर्षमा साथ दिनु आफैमा चुनौतीपूर्ण कुरा हो । नेमकिपाका अध्यक्ष रोहितको सक्रिय जीवनमा साथ दिनु सजिलो, सहज तथा सरल हुनै सक्दैनथ्यो । तर, वैवाहिक जीवनका करिब ४० वर्षमा शोभा प्रधानले त्यो कष्टसाध्य भूमिका निर्वाह गर्नुभयो ।
महिलाको राजनीतिक चेतना स्तर उठाउन शोभा प्रधानले निर्वाह गर्नुभएको भूमिकाले उहाँको व्यक्तित्वको अर्को पाटो उजागर गर्दछ । पञ्चायती व्यवस्थाविरूद्धको आन्दोलनदेखि निरङ्कुश राजतन्त्रविरूद्धको आन्दोलनमा शोभा प्रधानको सक्रिय भूमिका रह्यो । महिलालाई आन्दोलन र सङ्घर्षमा उतार्नु सजिलो पक्कै होइन । त्याग, तपस्या र बलिदानको भावना नभई श्रमिक वर्गीय आन्दोलनको नेतृत्व लिन सकिन्न पनि ।
शिक्षकले राजनीति गर्ने होइन भन्ने शासक वर्गले गरिबको राजनीतिक आन्दोलन दबाउन जालझेल गरिरहेका हुन्छन् । शोभा प्रधान शिक्षिका हुनुहुन्थ्यो । उहाँले समाजको आमूल परिवर्तनको निम्ति शिक्षण पेशा अपनाउनु भयो, शिक्षक भएरै राजनीतिक परिवर्तनको नेतृत्व सम्हाल्नुभयो । शिक्षाको प्रचार गर्न नै राजनीति गर्नुभयो । राजनीतिको उद्देश्य नै गरिब वर्गको चेतनास्तर उठाउन प्रयोग गर्नुभयो । एउटा अनुकरणीय व्यक्तित्वप्रतिको श्रद्धाञ्जलीले समाजको अग्रगमनको बाटो फराकिलो बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *