भर्खरै :

वर्गीय समाजमा पत्रकारहरू पनि विभाजित

वर्गमा विभाजित समाज र देशमा पत्रकारहरू विभाजित हुनु अस्वाभाविक होइन । पत्रकारहरू अंशतः साहित्यकारमात्र होइनन् राजनीतिक जानकार पनि हुन्छन् । पत्रकारहरू राजनीतिबाट निर्देशित या प्रभावित हुन्छन् । जसले जस्तोसुकै घाँटी सुकाएर कराए पनि, मन्त्र जपे पनि पत्रकारिता राजनीतिबाट टाढा हुँदैन भन्छन् । राजनीतिक विश्लेषकहरू त राजनीति विषयमा जानकार नभएका व्यक्तिहरू सच्चा पत्रकार हुँदैन । हाम्रै देशका कति नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरू नै पत्रकारिता पेशाबाट आएका छन् । अन्तर्राष्ट्रिय समुदायलाई फर्केर हेर्दा पनि कति राष्ट्र प्रमुखहरू पत्रकारितामा लागेका थिए । विश्व सर्वहारा वर्गका गुरू कार्ल माक्र्स, लेनिन, लुशुन, माओ त्सेतुङ्ग, होचि मिन्ह आदि नेताहरू पत्रकारिता क्षेत्रमै लागेका हुन् ।
हो, कति पत्रकारिता व्यवसायिक हुन्छ त कतिको आस्थाको पत्रकारिता हुन्छ । हुनसक्छ, कसैले पत्रकारितालाई मनोरञ्जनको साधन त कसैले समय कटाउने माध्यम पनि बनाएको होला । कसैले आयआर्जन गर्ने माध्यम पनि बनाएको होला । कति पत्रिकाले अश्लील तस्बिर र अश्लील समाचार छापेर युवा–युवतीहरूको मन तान्ने काम गरिरहेको हुन्छ । अश्लील तस्बिर र अश्लील समाचार पढेर अघाउने, सन्तुष्ट हुने युवा युवतीहरू आफूले मन्द विष पिइरहेको चाल पाउँदैनन् । आफू मतिभ्रष्ट भइरहेको चाल पाउँदैनन् । यस्तोखाले पत्रिकाले मन बिगार्छ, यौनात्तेजकमात्र होइन उच्छृङ्खल निम्त्याउँछ । यस्तै यस्तै घटनामा अल्झिएर आफू–आफू झै–झगडामात्र होइन हत्या, हिंसा र आत्महत्याका दृष्टान्तहरू भइरहेको हाम्रैसामु छ । सबै पत्रिका यस्तोतर्फ पनि लागेको छैन ।
पत्रकारितामा कसैले श्रमजीवी वर्गको प्रतिनिधित्व गर्छ, गरिरहेको छ त कहिले पुँजीपति, सामन्त वर्गको प्रतिनिधित्व । कुनै पत्रकारिताले वैज्ञानिक समाजवाद या आमूल परिवर्तनको पक्षमा काम गरिरहेको हुन्छ त कसैले पुँजीवादी, विस्तारवादी र साम्राज्यवादी विचारको पक्षपोषण गरिरहेको हुन्छ । पञ्चायती व्यवस्था या सामन्ती व्यवस्था अन्त्य गर्न के पत्रकारिताको उल्लेख भूमिका छैन भन्न मिल्छ ? यदि कसैले त्यस्तो विचार राख्छ भने त्यो भ्रममात्रै हुनेछ, त्यो सत्य होइन । व्यवस्था परिवर्तनमा, राजनीतिक चेतना जगाउनमा पत्रकारिताको महत्व उल्लेख्य छ । हो, कति पत्रकारिता सामन्त, पुँजीपति, जमिनदार, शोषक र जालीफटाहाहरूको संरक्षण गर्न उनीहरूको वरिपरि घुमिरहेको हुन्छ । उनीहरूले पैसा खेलाएर पत्रकारहरूलाई नचाइरहेका हुन्छन् । यो अर्को यथार्थ हो । अनि त्यस्ता पत्रकारहरू राजनीतिमा लागेका छैनन्, प्रभावित छैनन् भन्ने ?
पत्रकारहरू श्रमजीवी वर्गको पक्षमा लागे पनि, पुँजीपति, सामन्त वर्गको पक्षमा लागे पनि राजनीतिमा लागेकै हो । सरकारको विरोध गरे पनि या समर्थन गरे पनि राजनीतिमा लागेकै हो । सरकार ढाल्ने खबर दिए पनि या जोगाउने खबर दिए पनि राजनीति नै हो । जान्ने बुझेका भनिएका सञ्चारकर्मीहरू नै राजनीतिलाई गलत अर्थ लगाउँछन् र राजनीतिबाट अलग हुने कुरा खोक्छन् । राजनीति गर्नु गलत होइन, राजनीतिप्रतिको बुझाइ गलत हो । बरू सञ्चारकर्मीहरूले झूटको खेती गर्ने, वास्तविक राजनीतिलाई तोडमरोड गर्ने नेताहरूप्रति छेड हान्नुपर्छ, खबरदारी गर्नुपर्छ या जनतामाझ उदाङ्ग्याउन समाचार प्रसारण गर्नुपर्छ । राजनीतिलाई गलत सम्झिन्छ भने दलीय व्यवस्था नै गलत हुन्छ, राजनीतिक दलहरू नै आवश्यक नहुने हुन्छ । दलको व्यवस्था नहुँदैमा राजनीति हुँदैन भन्या होइन । पञ्चायती व्यवस्थामा दलको व्यवस्था थिएन । के त्यसबेला राजनीति भएको थिएन भन्ने ¤ एकदलीय पञ्चायती व्यवस्था लाद्नु पनि राजनीति नै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *