भर्खरै :

दाहालको गल्ती भनी साध्य होला र ?

काठमाडौँ, ११ असार । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल पर्वतारोहण सङ्घको असार ९ गते काठमाडौँमा सम्पन्न पदभार हस्तान्तरण कार्यक्रममा परिवर्तनका मुद्दा लिएर लड्ने आफूहरू, तर देशको नेतृत्व अरूले गरिरहेको कताकता नमिलेको बताए ।
दाहालको यो भनाइ नेकाका सभापतिको नेतृत्वमा वर्तमान सरकार गठन गर्न आफ्नो पार्टीले समर्थन गरेको गल्तीको स्वीकार हो । दाहालको पार्टीले कहिले गिरिजा, कहिले झलनाथ, कहिले ओली, कहिले देउवाको सरकारमा मन्त्री खाँदै आएको धेरै भयो ।
शान्ति प्रक्रियाको नाममा भारत प्रवासबाट नेपालको खुला राजनीतिमा आएका दाहालले २०६३ सालमा नेका नेतृत्वको सरकारमा सामेल भएको घटना गल्ती नै हो ।
निर्वाचनमा केही स्थान हात पार्न दाहालले २०७४ सालको स्थानीय निर्वाचनमा नेकासँग तालमेल गरेको, २०७४ सालको सङ्घ र प्रदेशको चुनावमा एमालेसँग तालमेल गरेको र २०७९ सालको स्थानीय चुनावमा नेकासँग तालमेल गरेको गल्ती किन होइन ?
माओवादीले परिर्वतनको आफ्नो विषय ‘गणतन्त्र’ लाई दाबी गर्दै आएको हो तर पुँजीवादी गणतन्त्रमा निर्वाचित राजाहरू देखिने यथार्थलाई पनि दाहालले गल्ती स्वीकार गर्नु जरूरी छ । अहिले राष्ट्रपति र प्रमहरूको ‘सवारी’ राजा महाराजाहरूकै शैलीमा भइरहेकोे दाहालले दाबी गरेको गणतन्त्रको गल्ती किन होइन ?
दाहालले नेका र एमालेले जस्तै कार्यकर्ताहरूलाई पुँजीवादी क्रान्ति गर्न सिकाएको हुँदा अहिले माओवादीका अधिकांश कार्यकर्ताहरू उपभोक्ता समितिको सदस्य वा कमिसन एजेन्ट भएर लुटपाट गरिरहेको समाचार छ । राज्यको स्वामित्वमा उत्पादन र वितरणको व्यवस्था नभएसम्म दाहालले परिर्वतन ल्याएको दाबी गर्नु अर्को गल्ती हो । दाहालको एजेन्डा नेका र एमालेको जस्तै सार्वजनिक–निजी साझेदारी (पीपीपी) को नाममा आफ्नो सरकारको वरिपरि बसेका सीमित कार्यकर्ताहरूलाई राज्यको ढुकुटी लुटपाट गर्न दिने गल्ती किन होइन ?
उक्त कार्यक्रममा दाहालले ‘श्रीलङ्का भइहाल्ने स्थितिमा नेपाल गएको छैन, तर सतर्क भइएन भने देश अफ्ठ्यारो स्थितितिर जान सक्छ’ जस्ता दोहोरो कुरा गरे । खर्बौँ रुपियाँ विदेशी ऋण ल्याउने, चामल, दालसमेत भारतबाट आयात गर्ने, लाखौँ युवालाई वैदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको सस्तो श्रमिक बन्न पठाउने दाहालसमेतको सरकारको नीतिले सतर्कता अपनायो भन्न कसरी मिल्छ ? अहिले देशको अर्थतन्त्र भत्किरहेको छ । रोपाईँको बेला किसानले मल पाएका छैनन् । पुँजी बजार नामको सेयर खरिदबिक्री भत्किरहेको छ । पर्यटन उद्योग अझै तङ्ग्रिन सकेको छैन । यस्तो अवस्थामा नेपालको अर्थतन्त्र श्रीलङ्कामा जस्तै किन ध्वस्त हुँदैन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *