भर्खरै :

का. शोभा प्रधानको श्रद्धँञ्जली सभा

भक्तपुुुुर, ११ असार । नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर नगर समितिको आयोजनामा शनिबार शोभा प्रधानको श्रद्धाञ्जली सभा कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले २०३८ सालमा राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी पुस्तक लेखेर देश र जनताको सेवा गर्न राजनीतिमा लाग्दा आइपर्ने अप्ठ्याराहरूबारे पहिले नै सबैलाई सचेत गराउनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “शोभा प्रधानले अध्यक्ष बिजुक्छेँसँग २०४० सालमा विवाह गर्नुभयो र उक्त पुस्तकको विषयवस्तुलाई उहाँले पनि आत्मसात गर्नुभयो, जस्तोसुकै अप्ठेरो पनि उहाँले दृढ भएर सामना गर्नुभयो ।”
उहाँले भन्नुभयो “शोभा भाउजूले आफ्नो स्तन क्यान्सरलाई जित्नुभयो र चार वर्षअघि उहाँको पाठेघरमा फैलिएको क्यान्सरलाई जित्न आवश्यक औषधि सरकारहरूले नेपालमा उपलब्ध गराएनन् । यसकारण, उहाँको असामयिक निधन भएको हो । औषधि नेपालमा उपलब्ध गराउन नेपाल औषधि व्यवस्था विभागमा हामी पनि गयौँ तर सुनुवाइ भएन ।”
उहाँले भन्नुभयो, “अध्यक्ष बिजुक्छेँले शोभा भाउजूको क्यान्सर रोगको उपचार नेपालमै गराउनुभयो । सरकारमा गएका कतिपय नेता र नेता पत्नीहरूको सामान्य रोगको उपचारसमेत राज्यकोष दुरुपयोग गरी विदेशमा भयो ।”
बाग्मती प्रदेश सांसद सृजना सैँजूले आदरणीय व्यक्तित्व शोभा प्रधानको सङ्घर्षशील जीवनबारे चर्चा गर्दै हरेक राजनीतिक व्यक्ति सफल हुन उहाँजस्तै सङ्घर्षशील, कर्मनिष्ठ, सहनशील, लगनशील हुनुपर्छ भन्नुभयो । शोभा प्रधानको निधनले पार्टीको लागि क्षति भएको चर्चा गर्दै उहाँले महिलाहरूले उहाँको लक्ष्यलाई पछ्याई काम गर्नुपर्ने बताउनुभयो ।
समितिका उपाध्यक्ष रत्ना चवालको सभापतित्वमा सञ्चालित उक्त सभामा पार्टीका केन्द्रीय सदस्य एवम् महिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैया सुवाल, सुशिला कर्माचार्य, नगर समितिका नारायणप्रसाद सुवाल, मञ्जु लाखाजु र मीरा दुगुजुले शोभा प्रधानको सङ्घर्षशील जीवनीबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *