भर्खरै :

का. प्रधान पार्टी र सिद्धान्तप्रति समर्पित महिला नेतृ

भक्तपुर, ११ असार । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधानको श्रद्धाञ्जली कार्यक्रम नेक्रामसङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा शनिबार कटुञ्जेमा सम्पन्न भयो ।
एक मिनेट मौनधारण गरी सुरु भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले शोभा प्रधानको व्यक्तित्वको चर्चा गर्दै उहाँ पार्टीप्रति समर्पित कार्यकर्ता, क्रान्तिकारी महिला, प्रतिबद्ध शिक्षिका तथा प्रेरणादायी सहयोगी व्यक्तित्व भएको बताउनुभयो ।
२०४५ सालमा नेमकिपालाई समूल नष्ट गर्नको लागि रचिएको पञ्चायती षड्यन्त्र ‘भक्तपुर काण्ड’ को समयमा पञ्चायती दमनको विरूद्ध साहसका साथ लड्नुहुने उहाँले घरको चुलो चौकोमा सीमित महिलाहरूलाई राजनीतिकरूपले सचेत, सङ्गठित र सङ्घर्षशील बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।
अध्यक्ष थापामगरले भन्नुभयो, “उहाँको जीवन सङ्घर्षमै बित्यो । कहिले निरङ्कुश पञ्चायती व्यवस्थाको बर्बर दमनविरूद्धको सङ्घर्ष, कहिले समाजको अन्याय–अत्याचार र विरोधीहरूविरुद्ध उहाँले रोगसँग पनि कहिल्यै नहारिकन सङ्घर्ष गरिरहनुभयो ।”
२०५६ सालमा स्तन क्यान्सरको उपचारपछि अन्य कैयौँ महिलाहरूको स्वास्थ्यलाई ख्याल गर्दै शोभा प्रधानले भक्तपुरका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्न सक्रिया भूमिका निर्वाह गर्नुभएको चर्चा गर्दै अध्यक्ष थापागरले आफ्नो दुःखभन्दा अरूको समस्या समाधानतर्फ सोच्नुहुने शोभा भाउजूको प्रयासले कैयौँ महिलाहरूलाई पाठेघरको क्यान्सर हुनबाट बचाएको उल्लेख गर्नुभयो ।
पोठघरको क्यान्सरको उपचारकै क्रममा शोभा भाउजूको निधन भएको बताउँदै अध्यक्ष थापामगरले भन्नुभयो, “क्यान्सर रोगको औषधि र उपचार एकदमै महँगो छ, गरिब क्यान्सर रोगीहरू उपचार गर्न नसकी ज्यान गुमाउन बाध्य छन् । सम्पूर्ण स्वास्थ्य उपचार राज्यको दायित्वअन्तर्गत राख्न आवश्यक छ ।”
अध्यक्ष थापामगरले प्रत्येक महिलाले समय–समयमा आफ्नो स्वास्थ्य परीक्षण गराउनुपर्ने र स्वास्थ्य शिविरहरू राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैया सुवालले अरूको समस्या र दुःखलाई प्राथमिकता दिने शोभा प्रधान (भाउजू) को योगदानलाई स्मरण गरी सम्मान व्यक्त गरिरहेको बताउनुभयो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको राजनीतिक जीवन सहज बनाउन शोभा भाउजूले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको चर्चा गर्दै अतिथि सुवालले नेक्रामसङ्घको ‘केटीहरू’ बुलेटिन प्रकाशनार्थ महत्वपूर्ण योगदान पु¥याएको स्मरण गर्नुभयो ।
नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वातीले जन्मपछि निधन प्राकृतिक नियम भएपनि प्वाँखजस्तै हलुका भयो या कि पहाडझैँ ग¥हुङ्गो भन्ने कुरा मानिसले समाजमा पु¥याएको योगदानले तय गर्ने बताउनुभयो ।
उहाँले देश र समाजप्रति सोच्ने शोभा प्रधानले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष मीना मास्केको सभापतित्वमा भएको कार्यक्रममा महेन्द्र बखुन्छेँ, श्याम बिसुङ्खे, चनमती बखुन्छेँलगायतले शोभा प्रधानको जीवनका विभिन्न आयामबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *