भर्खरै :

१२ कक्षाका विद्यार्थीहरूलाई शैक्षिक परामर्श

भक्तपुर, ११ असार । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, मावि भक्तपुर जिल्ला समितिले भक्तपुरका विभिन्न कलेजहरूमा अध्ययनरत कक्षा १२ सकाएर बसेका विद्यार्थीहरूको लागि शनिबार शैक्षिक परामर्श कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले नगरभित्रका विद्यालयहरूमा इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति र नेपालभाषालगायत संरक्षण गर्न ती विषयहरूमा कक्षा ८, ९ र १० मा अध्यापन सुरू गर्ने योजना रहेको बताउँदै ती विषय लिएर उच्च शिक्षा हासिल गर्ने नगरवासी विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले ७ वटा शैक्षिक संस्था सञ्चालन गरी विभिन्न जिल्लाका जनताका छोराछोरीलाई उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आइरहेको अवगत गराउँदै ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुरवासी जनताको चाहनाअनुसार नगरपालिकाले ख्वप विश्वविद्यालय विधेयक पारित गर्न निरन्तर पहल गर्दै जाने र आवश्यक भौतिक पूर्वाधारहरूको तयारीमा जोड दिँदै आएको बताउनुभयो ।
विद्यार्थीहरूले आफ्नो विषयमा विशेषज्ञता हासिल गरिसकेपछि कानुनको अध्ययनमा जोड दिनु फलदायी हुने बताउँदै उहाँले उत्कृष्ट नतिजा हासिल गर्ने उद्देश्यले अध्ययन गर्नुपर्छ भन्नुभयो ।
विद्यार्थीले आफ्नो रूचिअनुसारको विषय लिएर पढ्नुपर्नेमा जोड दिँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले नयाँ नयाँ विषयहरू अध्ययन अध्यापन गराउन र नयाँ कलेजहरू स्थापना गर्न प्रयासरत रहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सदस्य सृजना सैंजुले पाठ्यपुस्तकभन्दा बाहिरका विषय अध्ययनले विद्यार्थीहरूमको दृष्टिकोण फराकिलो उल्लेख गर्दै देश र जनताको सेवा गर्ने उद्देश्यले उच्च शिक्षा हासिल गर्नुपर्ने बताउनुभयो ।
सांसद सैंजुले विद्यार्थीहरू राजनीतिक रूपमा सक्रिय र सङ्गठित भए देशको सार्वभौमिकता र स्वाधीनता उँचो राख्न मद्दत पुग्ने बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका पूर्वअध्यक्ष नीरज लवजूले विद्यार्थीहरूले आफ्नो जीवनको लक्ष्य पूरा गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउँदै देश र समाजको हितको निम्ति काम गर्न विद्यार्थीहरूमा व्यापक दृष्टिकोणको खाँचो रहेको बताउनुभयो ।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरूलाई यस किसिमको शैक्षिक परामर्शले सही बाटोमा दोहोर्याउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्दै राजनीतिक गतिविधिमा पनि सक्रिय सहभागिता जनाउनुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घ मावि जिल्ला समिति भक्तपुरका अध्यक्ष सुजी ह्योंग्वजुको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष विलम सुवाल, विद्यार्थीहरू उष्णा मानन्धर, मुस्कान बाग र राज श्रेष्ठले पनि बोल्नुभएको थियो ।
शैक्षिक परामर्श कार्यक्रमको औपचारिक कार्यक्रमपश्चात् विभिन्न विषयका परामर्शदाताहरूले विषयगतरूपमा शैक्षिक परामर्श गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *