भर्खरै :

भारतमा विपक्षीको तर्फबाट राष्ट्रपतिका लागि यसवन्त सिन्हाको उम्मेदवारी दर्ता

नयाँ दिल्ली, १३ असार (एएनआई) । भारतमा आसन्न राष्ट्रपतीय निर्वाचनको लागि विपक्षी दलको तर्फबाट उम्मेदवारी दर्ता गरिएको छ । प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काङ्ग्रेसको प्रस्तावमा यसवन्त सिन्हाले सोमबार राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो ।
उहाँको उम्मेदवारीका लागि संसद् भवन गएको बेला काङ्ग्रेसका पूर्वअध्यक्ष राहुल गान्धी, राष्ट्रवादी काङ्ग्रेस पार्टीका प्रमुख शरद पवार, समाजवादी पार्टीका प्रमुख अखिलेश यादव, जम्मु एन्ड काश्मिर नेशनल कन्फेरेन्सका प्रमुख फारूक अब्दुल्लाह, तेलङगना राष्ट्र समितिका नेता तथा तेलङ्गनाका मन्त्री केटी रामारावलगायतको उपस्थिति रहेको थियो । ती सबै पार्टीको तर्फबाट उहाँलाई समर्थन रहेको जनाइएको छ ।
यसअघि गत शुक्रबार राष्ट्रपतिका उम्मेदवार सिन्हाले आफू निर्वाचित भएमा आफूले सधैँ किसान, मजदुर, बेरोजगार युवा, महिला र सबै अल्पसङ्ख्यकहरूको आवाज उठाइरहने प्रतिवद्धता जनाउनुभएको थियो । विपक्षी दलहरूले आफूलाई राष्ट्रपतिका लागि साझा उम्मेदवार बनाउने निर्णय निर्विरोध रूपमा गरेकोमा पनि उहाँले सबैलाई धन्यवाद दिनुभएको छ ।
भारतमा आगामी जुलाई १८ मा राष्ट्रपति चयनको लागि निर्वाचन हुन लागेको छ । एनडीएको तर्फबाट भने द्रौपती मुर्मुले गत जुन २४ मै उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *